शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नतिजा निराशाजनक आएपछि शिक्षक सेवा आयोगले थाल्यो परामर्श

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : १६
मङ्गलबार, १३ मङ्सिर २०७९

शिक्षक सेवा आयोगले गत शनिबार निम्न माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्‍यो । गणित विज्ञान विषयको लिखित परीक्षाको नतिजामा ५७ जना मात्रै अन्तर्वार्ताका लागि छनौटमा परे ।​ सातै प्रदेशबाट ३६५ जनाका लागि विज्ञापन आह्वान गरिएकोमा १५.६१ प्रतिशत मात्रै पास भए । प्रदेश १ मा १६१ जनाको लागि गरिएको विज्ञापनमा २४ जना मात्रै पास भएका छन् ।

मधेस प्रदेशमा भने २० जनाको लागि गरिएको विज्ञापनमा एक जना पनि पास हुन सकेनन् । बागमती प्रदेशमा ३८ जनाको लागि गरिएको विज्ञापनमा २ जना मात्रै पाए भने गण्डकी प्रदेशमा ४३ जनाको लागि विज्ञापन आह्वान गर्दा ५ जना मात्रै पास भए ।

लुम्बिनी प्रदेशमा ३३ जनाका लागि विज्ञापन गर्दा ५ जना, कर्णाली प्रदेशमा २३ जनाको लागि विज्ञापन गर्दा ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ जनाको लागि विज्ञापन गर्दा १४ जना मात्रै पास भएका छन् । त्यस्तै आयोगले सार्वजनिक गरेको गणित र विज्ञान विषयको लिखित परीक्षाबाट समेत मागअनुसार शिक्षक पाउन सकेन ।

३७२ जनाको लागि विज्ञापन आह्वान गरिएको गणित विषयमा ३१४ जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै विज्ञान विषयमा ४४० दरबन्दीका लागि विज्ञापन आह्वान गर्दा लिखित परीक्षामा २५७ जना मात्रै पास भएका छन् ।

विज्ञान विषयमा ५८.४० प्रतिशत उत्तीर्ण भएका छन् । भने गणित विषयमा ८४.४० प्रतिशत पास भएका छन् । यसअघि सार्वजनिक गरिएको माध्यमिक तहमा पनि मागभन्दा कम उत्तीर्ण भएका थिए । माध्यमिक तहका विभिन्न विषयमा १ हजार ५५२ शिक्षक माग गरेकोमा १ हजार १८२ जना शिक्षक छनौट गरी नियुक्तिका लागि सिफारिसमा परेका थिए । यो मागभन्दा ३७० जना कम सिफारिस हो ।

आयोगले लिने विज्ञापनको नतिजा कम आउन थालेपछि चौतर्फी रूपमा परीक्षा प्रणालीमाथि प्रश्न उठ्न थालेको छ । आयोगले समेत यसको कारण खोज्न थालेको छ । आयोगका उपसचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले नतिजा निकै नै कमजोर आइरहेको बताए । नतिजाबारे शिक्षा मन्त्रालय र सम्बद्ध निकायसँग विचार परामर्श गरिने उनको भनाइ छ ।

‘अहिले हामी नतिजा प्रकाशनमा केन्द्रीत भइरहेका छौ । नतिजा आइसकेपछि के गर्ने भनेर मन्त्रालय र मन्त्रीज्यूसँग कुरा गर्ने सोचमा छौं । अन्य सम्बद्ध निकायसँग पनि बसेर छलफल गर्ने सोच छ,’ उनले भने ।  अहिले आयोगको पुरै टीम नतिजा प्रकाशनतिर केन्द्रीत रहेको भन्दै निमावी तहको नतिजा प्रकाशनपछि आवश्यक परामर्श गर्ने बताए । आयोगले विश्वविद्यालयहरूसँग समेत परामर्श थालेको छ । त्यसका लागि विभिन्न विश्वविद्यालयलाई पत्राचार गरेको जनाएको छ ।

‘विश्वविद्यालयहरूसँग छलफल गर्नका लागि सचिवज्यू र मन्त्रीज्यूलाई भनेका छौं । नतिजा प्रकाशित भइसकेपछि थप गृहकार्य अगाडि बढाउँछौँ,’ उनले भने । शिक्षा मन्त्रालयले समेत यो विषयमा आवश्यक परामर्श थालेको जनाएको छ । नतिजा कमजोर आएको विषयमा आयोगले मन्त्रालयलाई जानकारी गराएपछि के गर्ने भन्ने विषयमा मन्त्रालयले परामर्श थालेको हो ।

नतिजा कमजोर हुनु विद्यार्थीको पढाइ नै कमजोर हुनु रहेको भन्दै आयोगले विश्वविद्यालयका पाठ्यक्रम परिवर्तनका विषयमा परामर्श थालेको हो । आयोगले विश्वविद्यालयको पढाइ नै कमजोर बताइरहेका बेला कतिपयले भने आयोगको पाठ्यक्रमलाई दोष दिइरहेका छन् ।

विद्यार्थीलाई पढाउनुपर्ने शिक्षकलाई सामान्य ज्ञानको प्रश्नको केही काम नहुने भन्दै शिक्षकलाई प्रयोगात्मकतर्फ केन्द्रीत गराउनुपर्नेमा उनीहरूको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप