मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खुम्चियो लोसपा, बन्न सकेन राष्ट्रिय दल

मङ्गलबार, १३ मङ्सिर २०७९, २१ : ००
मङ्गलबार, १३ मङ्सिर २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड (तीन प्रतिशत मत) कटाउन नसक्ने देखिएको छ ।  राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।

लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा लोसपाले यो समाचार तयार गर्दासम्म एकलाख ३९ हजार ६६ मत  ल्याएको छ । जवकी मतगणना करिब अन्तिम चरणमा पुगिसकेको छ ।

निर्वाचनबाट प्रत्यक्षतर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट १६ हजार ३७५ मत ल्याएर विजयी भएका छन् भने महोत्तरी २ बाट सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले २५ हजार १९० मत, सर्लाही १ बाट लोसपाका नेता रामप्रकाश चौधरी २४ हजार ८३८ र रुपन्देही ४ बाट लोसपाका कार्यकारिणी सदस्य सवेन्द्रनाथ शुक्ला २८ हजार मत ल्याएका विजय भएका छन् ।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले चुनाव हारेका छन् । नेता कर्णको जमानत समेत जफत भएको छ । नेता महतोले नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग हारे ।
लोसपाले मधेश प्रदेश र लुम्बनी प्रदेश गरेर प्रदेशसभातर्फ नौ सीट प्रदेशसभा जितेको छ । मधेश प्रदेशमा सात र लुम्बनीमा दुई सीट जितेको हो ।

सत्ता गठबन्धनसँग तालमेल गरेर लोसपाले मधेस प्रदेशमा आठ सीटमा उम्मेदवारी दिएको थियो भने प्रदेशमा १६ सीटमा उम्मेदवार दिएको थियो । त्यसबाहेक प्रदेश १ लगायत अन्य प्रदेशमा पनि केही सीटमा लोसपाले उम्मेदवारी दिएको थियो । २०७४ मा ११ सीट प्रत्यक्षमा जित्दै राष्ट्रिय पार्टी बनेको लोसपा (तत्कालीन राजपा) यसपटक खुम्चिएको हो । 

यो चुनावमा यस्तो कमजोर किन भयो त ? सोही पार्टीका नेता डा. शरद यादवले भने, ‘एक त लोसपा संगठन निर्माणकै क्रममा थियो । कार्यकारिणी समितिबाहेक पार्टीमा अरु कुनै समिति नै छैन ।  बिना केन्द्रीय समितिले पार्टी चल्दा त्यसको असर सिधै चुनावमा पर्न गयो ।’

उसो त लोसपा गठबन्धनमा जाने कि नजाने भन्नेमा सुरुदेखि अन्योलमा थियो । पार्टीले कहिले काँग्रेससँग त कहिले एमालेसँग वार्ता गरिरहेको थियो । मनोनयन गर्ने अन्तिम समयमा मात्रै लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको हो । 
अन्तिम समयमा गठबन्धनमा जाने निर्णय गरेको कारण पार्टीका कार्यकर्ताहरू अन्योलमा भएको र पार्टीलाई साथ नदिएको बुझाई नेता यादवको छ ।  २०७४ को निर्वाचनमा समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७२९ मत सदर भएको थियो । तत्कालीन राजपाले चार लाख ७२ हजार २५४ मत ल्याएको थियो । अर्थात थ्रेसहोल्ड कटाएर ४.९४ मत हात परेको थियो ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय चुनावमा ६१ दलले भाग लिएका थिए । त्यसमा लोसपाले थ्रेसहोल्ड कटाएको थिएन (यद्यपि स्थानीय तहमा थ्रेसहोल्डको प्रावधान छैन) । लोसपाका वडाध्यक्षका उम्मेदवारले दुई लाख ४४ हजार ८८२ मत मात्रै पाएको छ । जुन सदर मतको २.१२ प्रतिशत मात्रै हो । स्थानीय तहमा लोसपाले ल्याएको मतका आधारमा त्यति बेलादेखि नै आमचुनावमा लोसपाले थ्रेस होल्ड कटाउन नसक्न्ने आकलन गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप