शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जा २ र बाजुरामा मतगणना गर्न माग गर्दै काँग्रेस पुग्यो आयोग

मङ्गलबार, १३ मङ्सिर २०७९, १४ : १६
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाली का‌ंग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेका हुन् । 

 त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए । 
उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए । 

 निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए । उनले  बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए । उनले भने, ‘स्याङ्जा क्षेत्र नं. २ को मत गणना स्थगित भएको विषयमा निर्वाचन आयोगमा आएका हौँ । बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित भएको छ । कयौँ ठाउँमा स्थगित गरेको सहज रुपमा फेरि गर्नु भनि भनिदिएको छ फेरि । स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ । त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरुको भोट खसेको छ । अर्कोकुरा त्यसलाई विधिवत रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरुले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन । यसलाई रोकेर अर्को अनाधिकृत कमिटी बनाएर पठाएर त्यसको नाममा फेरि अर्को केही खेल गर्न खोजेको हो कि ? भन्ने हामीलाई लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो । ५ बजेभित्र गरेर सबै सम्पन्न भइसकेपछि त्यो भित्र घटेको घटनामा छानबिन गर्ने हो । त्यो भित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँ बाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो । यो गलत भएको छ । तुरुन्त मतगणना होस् । त्यसैगरेर बाजुरामा पनि तुरुन्त मत गणना होस् ।’

स्याङ्जा २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका काँग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए । 

 स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको उनले बताए । उनले भने, ‘नियम, कानून बमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचनहरु सम्पन्न भएको थियो र बुथमा सबै दलका प्रतिनिधि साथीहरुले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराएर, मुचुल्का उठाएर, सहि छाप लगाएर मत पेटिकाहरु मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरु थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा काँग्रेस, एमाले लगायत सबै दलले सहि गरेको अवस्था । त्यसपछि निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँहरुमा कुनै धाँधली नभएको, कुनैपनि बुथ कब्जा नभएको र कुनैपनि अशान्ति नभएको भनेर किटानी राय समेत दिइसकेको अवस्थामा समेत यसरी निर्वाचन आयोगले आजसम्म मत गणना नगरिदिएकोमा हामीले विशेष ध्यानाकर्षण गराएको छौँ । र मलाई लाग्छ छिट्टै आयोगले निष्पक्ष निर्णय गरेर मत गणना तर्फ नै निर्वाचन अधिकृतलाई निर्देशन दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

उनले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप