शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा गठबन्धनको बहुमत, सरकारको नेतृत्वमा कांग्रेस र माओवादीको होडबाजी

मङ्गलबार, १३ मङ्सिर २०७९, २२ : ५७
मङ्गलबार, १३ मङ्सिर २०७९

कर्णाली प्रदेशमा फेरि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम अनुसार बहुमत आउने निश्चित भएसँगै गठबन्धनकै सरकार बन्ने निश्चित देखिएको हो ।

प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी कुल ४० सिटमध्ये नेपाली कांग्रेसले १४ सिट प्राप्त गर्ने देखिएको छ । मतपरिणामअनुसार कांग्रेस र एमालेले समानुपातिकमा ५/५, माओवादीले ४, नेकपा एकीकृत समाजवादीले १ र राप्रपाले १ सिट ल्याउने देखिन्छ । यो आधारमा प्रदेशसभामा कांग्रेसको १४, माओवादीको १३ र एकीकृत समाजवादीको १ सिट हुन्छ । यस्तै  एमालेको १० र राप्रपाको एक सिट हुन्छ ।

५ लाख ७७ हजार ८२९ मत रहेको कर्णालीमा कांग्रेस समानुपातिकतर्फ दोस्रो बनेको छ । तर, प्रत्यक्षको ९ सिटसहित समानुपातिकको ५ सिट आउने देखिँदा कांग्रेसको १४ सिटसहित पहिलो पार्टी बन्ने देखिएको हो । 

हालसम्मको मतपरिणामअनुसार कांग्रेसको समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट आएको छ । यस्तै एमालेले १ लाख ८३ हजार ९५० भोट पाएको छ ।  यसैगरी प्रत्यक्षमा ९ सिट ल्याएको माओवादीले समानुपातिकमा १ लाख ३७ हजार ६२९ भोट पाएको छ भने समाजवादीले ३५ हजार ८२६ र राप्रपाले २५ हजार १८६ भोट प्राप्त गरेको छ ।

यसैगरी प्रत्यक्षतर्फ स्वतन्त्र जितेका जुम्लाका देवेन्द्र शाहीले कांग्रेसलाई सघाउने देखिन्छ ।  यसरी हेर्दा गठबन्धनको सहज बहुमत (२९ सांसद)  र उसकै नेतृत्वमा सरकार बन्ने देखिन्छ । एमालेले भने सरकार बनाउनका लागि माओवादी वा कांग्रेसकै भर पर्नुपर्ने हुन्छ । तत्कालका लागि यो अवस्था आउने स्थिति देखिँदैन ।

जसको नाम छ मुख्यमन्त्रीमा चर्चा

भावी मुख्यमन्त्रीको रुपमा कर्णालीमा कांग्रेस, माओवादी, र एमालेबाट ६ जनाको नाम चर्चामा छ । माओवादीबाट चर्चामा रहेका सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका राजकुमार शर्मामध्ये सिनियरताका आधामा शर्माको सम्भावना बढी देखिन्छ । तर विष्ट यसअघि अर्थमन्त्री भइसकेको र युवा नेता भएकाले उनको चर्चालाई पनि नकार्न नमिल्ने माओवादीभित्र चर्चा चलिरहेको छ । माओवादीका एक नेताले भने,‘यदि माओवादीले सुरुमा नेतृत्व गर्ने अवसर आएको खण्डमा शर्मा हावी हुने निश्चित जस्तै छ ।’

यस्तै कांग्रेसभित्र जीवनबहादुर शाही र जाजरकोटका राजीवविक्रम शाहलाई भावी मुख्यमन्त्रीको रुपमा चर्चा गरिएको छ । यसअघि सिट भागवण्डाको क्रममा शाही प्रतिनिधि सभामा पनि सिफारिस भएका थिए । तर केन्द्रमा केन्द्रीय नेताहरुबीच एक किसिमको छलफल पश्चात मात्रै शाही प्रदेश झरेका थिए । उसो त शाह पनि जाजरकोटबाट अन्तिम पटक प्रतिनिधि सभा लड्न चाहेका थिए । तर प्रदेशमा मुख्यमन्त्री बन्ने आशासहित उनले माओवादीका नेता शक्ति बस्नेतलाई सिट छाडेका हुन् ।

सरकारको नेतृत्वको अवसर आए एमालेबाट यामलाल कँडेल र विनोद कुमार शाहको नाम पनि चर्चामा छ ।

कस्तो नेतृत्वमा सरकार ?

कर्णालीमा गठबन्धनको बहुमत पुगेपनि कांग्रेस र माओवादीको नेतृत्वका लागि होडबाजी रहेकाले कसको नेतृत्व हुन्छ भन्ने त्यसै भन्न सकिँदैन । त्यसमाथि प्रदेशको भागबण्डाको निर्णय केन्द्रबाट हुनसक्ने हुँदा त्यसमा पनि नेतृत्वको निर्धारण हुन्छ ।

कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले पहिलो दल कांग्रेस भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरे ।  कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भन्ने कुरामा आफूहरू विश्वस्त रहेको प्रतिक्रिया दिए ।

तर कर्णाली माओवादीको आधार इलाका भएकाले आफ्नो पार्टीले सशक्त दाबेदारी गर्ने माओवादीका नेताहरु बताउँछन् । चुनावअघि सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने गरी सिट बाँडफाँट गर्ने बताएका थिए । तर बाँडफाँटको क्रममा प्रदेशमा माओवादीले कांग्रेस भन्दा २ सिट कम पाएको थियो ।

यहीबीचमा सरकार बन्ने कुरामा नेपाली कांग्रेस र माओवादीले आ–आफ्नै दाबी गरिरहेका हुन्। तर प्रदेश भन्दा केन्द्रीय गठबन्धनको समीकरणले टुङ्गो लगाउने भएकाले कसको पक्षमा चिट्ठा पर्छ भन्ने कुरा अहिले नै भन्न नसकिने गठबन्धनका नेताहरुको भनाइ छ ।

माओवादी नेताहरु भन्छन्, ‘कर्णालीको नेतृत्व माओवादीले पाउनुपर्छ’

नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताउँछन् । यद्यपि प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुरा पहिला केन्द्रमा कसको सरकार बन्छ भन्ने कुराले निर्धारण गर्ने बताए ।तर अन्य प्रदेश भन्दा जनाधार बलियो कर्णालीमा रहेकाले माओवादीले नै पहिलो चरणमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी आफूहरूको रहेको उनको भनाइ छ ।

‘हाम्रो भन्दा पनि गठबन्धनका गइसकेपछि गठबन्धनभित्रका दलहरुको समष्टिगत छलफल र गृहकार्य अनुसार सरकार बनाउनुपर्ने हुन्छ,’ मल्ल भन्छन्, ‘यहाँ गठबन्धनको बहुमत भएकाले राजनीतिक सहमति र गठबन्धनले निर्णय गर्ने कुरामा सरकार बनाउने कुरा आधारित छ ।’ मल्लले अन्य प्रदेशमा जे–जस्तो भएपनि कर्णालीमा माओवादी नेतृत्वकै सरकार बन्ने संकेत गरे ।

उनले भने,‘गठबन्धनभित्र सन्तुलन मिलाउनुपर्ने कुराहरू हुन्छन् । तर माओवादीले सुरुमा नेतृत्व पाउनुपर्छ भन्ने तरिकाले हामी अघि बढ्छौँ ।’ माओवादीका प्रदेश अध्यक्ष विमला केसीले अहिलेसम्म कांग्रेसले नेतृत्व गरिहरेकाले अब बन्ने सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप