शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ

मङ्गलबार, १३ मङ्सिर २०७९, १५ : ४९
मङ्गलबार, १३ मङ्सिर २०७९

अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रूपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा  सन्धिखर्क नगरपालिका-९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आएका छन्  ।

अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित भएका छन् । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी भएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा हुन् । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए ।   

निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी बनेका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुन् । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिएका छन् ।

अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री बनेका थिए । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित भएका थिए । उनी अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव हुन्  । 

पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य भएका थिए । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका हुन् । 

चौबीसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । चौबीसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइ झगडा नगर्ने, आगामी दिनमा मिलेर अगाडि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क (हालको सदरमुकाम)रहन गएको इतिहासकारले बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप