बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका यी २२ उम्मेदवार, जसले १०० मत कटाउन सकेनन्

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : २६
मङ्गलबार, १३ मङ्सिर २०७९

कर्णाली प्रदेशमा १९० जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये २२ जनाले १०० मत कटाउन सकेका छैनन् । १०० मत नकटाउनेमा स्वतन्त्र उम्मेदवारका अलवा कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबाट उम्मेदवारी दिएका नेताहरू धेरै छन् ।

कुनै समय नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले भन्दा बलियो रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) धेरै जसो उम्मेदवारहरुले पनि कमजोर मत प्राप्त गरेका छन् । १०० मत नकटाउनेमा प्रतिनिधि सभातर्फका ७४ उम्मेदवारमध्ये १० जना उम्मेदवार रहेका छन् ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारले १०० मत कटाउन सकेनन्।

त्यो सूचीमा नेमकिपाका प्रेम कुमार थापा रहेका छन् । उनले ५९ मत प्राप्त गरेका छन् भने राप्रपा नेपालका जीवन चन्दले ३२ मत पाएका छन् । यस्तै मंगल नेशनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर (कुखुराको भाले)ले  २९ मत प्राप्त गरेका छन् ।

यहाँ उपसभापति खड्का ४२ हजार ६०७ मतसहित चुनाव जितेका थिए भने एमाले दोस्रो, रास्वपा तेस्रो र राप्रपा चौथो स्थानमा थियो । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेश्नलिष्ट पिपल्स पार्टी (लाटोकोसेरो) का कुमारी राईले पनि १०० मत कटाउन सकिनन् । उनले जम्मा ५० मत पाएकी छन् ।

यस्तै दैलेख क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका मध्ये बीपी कांग्रेसका भुपाल बहादुर थापाले ६६ मत प्राप्त गरेका छन् भने कालिकोटबाट प्रतिनिधि सभा रोजेका ६ जना मध्ये स्वतन्त्र उम्मेदवार (सुर्यमुखी) धनप्रसाद पाण्डेले ८२ मत प्राप्त गरे। यहाँबाट कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

हिमाली जिल्ला मुगुमा ५ उम्मेदवारमध्ये दुई जना स्वतन्त्र उम्मेदवारले १०० मत कटाउन सकेनन् । यो सूचीमा स्वतन्त्र (जोडी चप्पल) उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र (पुतली) उम्मेदवार भीम चन्द्र हमालले ३८ मत पाएका छन् ।

डोल्पामा ५ जना उम्मेदवार मध्ये स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय (खरायो)ले जम्मा १० तथा नेकपा माक्सवादी (पुष्पलाल) पार्टीका हर्क बहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् । यस्तै ११६ वटा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु मध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् ।

यो सूचीमा सुर्खेत १ (१) का ६ जना मध्ये ३ जना रहेका छन् । यहाँ जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत पाए भने राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्प रान रानाले २३ मत पाए । १ (२) का ८ जना मध्ये २ जनाले १०० मत कटाउन सकेनन् । यहाँ नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार (जेब्रा) देव बहादुर चन्दले ९  मत पाए । 

निर्वाचन आयोगको तथ्यांक अनुसार सुर्खेत २ (१) मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्ण बहादुर सुनारको पनि १०० मत कटाउन सकेकन् । उनीहरुले २२ मत प्राप्त गरे भने २(२)मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए ।

यस्तै हुम्ला (२) मा राप्रपाका नैन बहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए ।  १०० भोट नपाउनेको सूचीमा मुगु (२) मा स्वतन्त्र उम्मेदवार जगत बहादुर धामी पनि छन् । उनले १५ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप