बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बहुमत नपुग्दाको दुःख : लुम्बिनी प्रदेशमा जसको शक्ति उसकै भक्ति !

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : ५१
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति उसकै भक्ति । लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार निर्माण गर्न यस्तै हुने अवस्था देखिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा कुनै पार्टी तथा गठबन्धनको बहुमत नपुग्ने लक्षण देखिएपछि यस्तो अवस्था आएको हो । 

प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामले सत्ता गठबन्धन र एमाले कसैको पनि सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । यस्तो अवस्थामा जसले नेतृत्व लिएर बहुमत जुटाउन र अरु दललाई विश्वासमा लिन सक्यो उसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ ।

प्रत्यक्षमा ५२ सिटमध्ये राष्ट्रिय दलतर्फ एमालेले सबै भन्दा धेरै १८ सिट र नेपाली काँग्रेसले १७ सिट जितेको छ । यस्तै  माओवादीले ५ सिट जितेको छ ।  ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको सरकार बनाउन ४४ सिट चाहिन्छ ।

लुम्बिनीमा समानुपातिक मतका आधारमा संख्या जोड्दा पनि एमाले र नेपाली काँग्रेसको प्रदेशसभा सदस्य संख्या हाराहारी हुने देखिन्छ । यद्यपि दुवै दलहरू आ–आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छन् ।

२०७४ सालमा स्पष्ट बहुमत आएको नेकपा विभाजनपछि शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाउँदै काँग्रेस–माओवादी गठबन्धनमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनेको थियो । अहिले फेरि कसैको स्पष्ट बहुमत नआउने अवस्था हुँदा मिलीजुली सरकार बनाउनु पर्ने अवस्था रहेको छ । प्रत्यक्षमा एमाले १८, नेपाली काँग्रेस १७, माओवादीको ५ र माओवादीबाट बागी उठेका ३ जना निर्वाचित हुँदा जसपा, लोसपा, राप्रपा र नागरिक उन्मुक्ति पाटीका उम्मेदवारले दुई दुई सिट जितेका छन् । यस्तै जनमत पार्टीले १ सिट जितेको छ ।

हालसम्मको मतगणनाअनुसार समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमतको २ तथा जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको १–१ सिट आउने देखिन्छ ।

यसरी हेर्दा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा मात्रै मिलेर सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । तर, माओवादीका बागी, लोसपा, जनमतसहितका एक सिट भएका पार्टीलाई समेट्दा गठबन्धनले सरकार बनाउन सक्ने आँकडा देखिन्छ । यो गठबन्धनका लागि सहज पनि हुन सक्छ । उसो त गठबन्धनले लोसपा र माओवादीका बागीलाई समेट्न सकेको खण्डमा पनि ४३ सिट हुन आउँछ । यो अवस्थामा जनमत पार्टी वा नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनले साथमा लिन सक्छ ।

यस्तै एमालेको हकमा उसको एक्लै २९ सिट पुग्ने भएकाले गठबन्धन विग्रेको खण्डमा उसको लागि सरकार बनाउने अवसर हुन सक्छ । अहिले रहेको सत्ता गठबन्धन कायम रहेमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ । यदि गठबन्धन तलमाथि भएमा एमालेलेको नेतृत्वमा सरकार बन्ने छ ।

मुख्यमन्त्रीको दौडमा को–को ?

नेपाली काँग्रेसबाट मुख्यमन्त्रीमा केन्द्रीय सदस्य तथा पूर्वखानेपानी राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेशको सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, राजु खनाल आकांक्षी रहेका छन् । उनीहरू सबै पार्टीमा संस्थापन पक्ष मानिन्छन् । यस्तै शेखर कोइराला पक्षबाट पाल्पाबाट निर्वाचित भएका वीर बहादुर रानालाई मुख्यमन्त्रीमा आगडि सार्ने तयारी भएको काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले रातोपाटीलाई बताए । उनले समूहगत सन्तुलन मिलाउँदा लुम्बिनी प्रदेशमा कोइराला समूहतर्फबाट हालका मन्त्री समेत रहेका रानालाई मुख्यमन्त्री बनाउनु पर्ने बताए ।

संविधान सभा सदस्य समेत रहेका रुपन्देहीका अब्दुल रज्जाकले आफू सङ्घको दाबी छाडेर प्रदेश आउनु नै मुख्यमन्त्रीका लागि भएको दाबी गर्दै आएका छन् । त्यस्तै दाङ २(१) बाट निर्वाचित राजु खनालले पार्टीको लुम्बिनी प्रदेश उपसभापति तथा संविधान सभा सदस्य समेत भएको नाताले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरे ।

उसो त सत्ता गठबन्धनबाट माओवादी केन्द्रका जोगबहादुर महराले पनि  मुख्यमन्त्रीको लागि आन्तरिक लबिङ गरेका छन् ।  खासगरी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीमा पराजित भएसँगै माओवादीबाट रोल्पा १(१)बाट निर्वाचित जोखबहादुर महराले मुख्यमन्त्री बन्ने इच्छा देखाएका हुन् । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव हुँदै संसदीय राजनीतिमा होमिएका हुन् ।

 सत्ता समीकरण कसरी जाला भन्ने चासोसँगै लुम्बिनी प्रदेशमा एमालेले पनि सत्ताको नेतृत्व पाउन सक्ने सम्भावना छँदैछ । एमालेले नेतृत्व पाउन सक्ने अवस्थामा पूर्वमन्त्री लीला गिरी सबैभन्दा अगाडि देखिएका छन् ।

एमाले पोलिटब्युरो सदस्य समेत गिरी महासचिव शङ्कर पोखरेलको पालामा वन तथा वातावरण मन्त्री बनेका थिए ।  यस्तै एमाले अर्घाखाँचीबाट जितेका चेत नारायण आचार्य पनि लबिङमा छन् । यस्तै एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका पूर्वप्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री बन्न दौडधुप बढाएका छन्। ढकाल रुपन्देही–५ (१) बाट निर्वाचित भएका हुन् । उनको शङ्कर पोखरेलसँग राम्रो सम्बन्ध रहेको  पार्टीका कार्यकर्ताहरुको बुझाइ छ ।

मुख्यमन्त्रीको रेसमा रहेका जो पराजित भए

 निर्वाचनको नतिजा नआउँदै  मुख्यमन्त्री रेसमा रहेका लुम्बिनी प्रदेशका तीन जना पराजित भएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रोल्पा  ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनसँग पराजित भए । यस्तै नेपाली काँग्रेस संसदीय दलको नेता रहिसकेका वीरेन्द्र कनोडिया कपिलवस्तु–३ (२) पराजित भए । यस्तै नेकपा एमालेबाट मुख्यमन्त्रीका दाबेदारमध्येका एक दाङ–३ (१) बाट घनश्याम पाण्डे पराजित भए । यस्तै माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मी–१ (१) बाट पराजित भए । उनीहरू पराजित भएपछि दलभित्र नै  मुख्यमन्त्रीको रेसमा रहेकाहरूलाई सहज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप