बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दुराष्ट्रको एजेण्डा कमजोर भएकोप्रति राप्रपा नेपालको चिन्ता

निर्वाचनको समीक्षा गर्न भण्डारीको संयोजकत्वमा समिति गठन
मङ्गलबार, १३ मङ्सिर २०७९, १७ : ०४
मङ्गलबार, १३ मङ्सिर २०७९

राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यका सम्बन्धमा अध्ययन अनुसन्धान गरी सुझावसहितको प्रतिवेदन पेस गर्न उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा बसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मत जंग भण्डारी, यवती कार्की, उज्जवल पोखरेल र राजाराम बर्तौला ’चुनेली’ रहेका छन् । त्यस्तै पार्टीले  केन्द्रीय कार्यसमितिको बैठक पुस महिनाको तेस्रो हप्तामा गर्ने निर्णय पनि गरेको हो ।

बैठकले निर्वाचन परिणाम अपेक्षाकृत अनुकूल नभएता पनि जनताको अभिमतलाई सम्मान गर्दै प्रजातान्त्रिक मान्यता अनुसार पराजयलाई स्वीकार गर्ने निर्णय गरेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन पनि नपुग्दै चुनावमा होमिनुपरेको कारण चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको, संस्थागत रूपमा प्रभावकारी चुनावी अभियान सञ्चालन हुन नसकेको तथा न्यूनतम् साधन स्रोतको समेत व्यवस्था हुन नसकेको तीतो यथार्थलाई स्वीकार तथा आत्मालोचना गर्दै कमीकमजोरीबाट पाठ सिकेर आगामी दिनमा थप सशक्त ढङ्गबाट अघि बढ्ने पार्टीले प्रतिबद्धता व्यक्त गरेकाे छ ।

यता यसपटकको निर्वाचन परिणामबाट राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको एजेण्डा कमजोर भएकोप्रति  बैठक चिन्ता प्रकट गरेको छ । ‘चुनावमा पराजयको वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्बर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायम रहेको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अझै टड्कारो रहेको छ । यो धरातलीय यथार्थलाई आत्मसात गर्दै निर्वाचन परिणामबाट कत्ति पनि विचलित र निराश नभई पार्टी संगठनलाई सुदृढ तुल्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दिशामा क्रियाशील रहन सबै तहका साथीहरूमा केन्द्रीय सचिवालय बैठक आह्वान गर्दछ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप