शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कांग्रेसलाई ‘फलिफाप’, एमाले र माओवादी खुम्चिए

बुधबार, १४ मङ्सिर २०७९, ०७ : २०
बुधबार, १४ मङ्सिर २०७९

स्याङ्जा क्षेत्र नम्बर २ मा अस्वाभाविक रुपमा बुथमा कब्जा गरी मत खसालिएको भन्दै एमाले लगायत दलले विरोध गरेपछि त्यहाँको मतगणना हुन सकेको छैन । निर्वाचन आयोग पुनःमतदान गर्ने वा खसेको सोही मत गन्ने भन्ने टुंगोमा नपुग्दा त्यहाँको नतिजा आउने ढिलाइ भएको हो । गण्डकी प्रदेशका अन्य निर्वाचन क्षेत्रको भने नतिजा आइसकेको छ ।

प्रतिनिधि सभातर्फका प्रत्यक्षको १८ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले प्रतिनिधिसभातर्फ ९ र  सभामा १६ सिट जितिसकेको छ । ०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र गण्डकी प्रदेशसभातर्फ ६ सिट जितेको थियो । यस पटक कांग्रेसले सत्ता गठबन्धनको बलमा आफ्नो नतिजामा  सुधार गरेको हो । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलसँगको गठबन्धन गरेकै कारण कांग्रेसलाई फलिफाप भयो भने एमाले र माओवादीको उत्साहजनक नतिजा देखिएन ।

गठबन्धनबाट चुनावमा जादा कांग्रेसले एमाले किल्ला भत्काउँदै धेरै ठाउँमा जित हात पारेको छ । गठबन्धनमा सामेल नेकपा माओवादी केन्द्रले भने विगतको सिट गुमाएको छ । सम्रगमा गठबन्धनको फाइदा कांग्रेसलाई भएको देखिन्छ । 

०७४ को निर्वाचनमा कांग्रेसले प्रदेशसभातर्फ प्रत्यक्ष ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको थियो । कांग्रेसले अहिले निकै बलियो उपस्थिति बनाएको छ । अहिले प्रत्यक्ष मै १६ जितिसकेको हो भने समानुपातिकतर्फ पनि एमालेले भन्दा केही हजार कम मत पाएर दोस्रो स्थानमा छ । यो हिसावले समानुपातिकतर्फ एमाले र कांग्रेसको सिटमा खासै फरक देखिँदैन ।

चुनाव हुन बाँकी क्षेत्रमा पनि विगतको मतपरिणामलाई हेर्दा गठबन्धनबाट कांग्रेस बलियो देखिन्छ । कांग्रेसले गण्डकीमा गठबन्धनको तर्फबाट प्रतिनिधिसभातर्फ १२ र  प्रदेशसभातर्फ २२ ठाउँमा उम्मेदवार उठाएको थियो । 

प्रदेशसभाको २ सिट बाहेक सबै क्षेत्रमा उम्मेदवारी दिएको एमालेले समानुपातिकमा पहिलो देखिए पनि विगतको धेरै सिट गुमायो । ०७४ सालमा एमाले–माओवादीे वाम गठबन्धनले नवलपुर १ बाहेक प्रतिनिधिसभातर्फ सबै क्षेत्र र प्रदेशसभातर्फ २६ निर्वाचन क्षेत्रमा जितेको थियो । एमालेले प्रतिनिधिसभा सभा तर्फ १४ र प्रदेश सभा तर्फ १७ ठाउँमा निर्वाचन जितेको थियो ।

गण्डकी प्रदेशसभामा समानुपातिकतर्फ १० सिट सुरक्षित पाएको थियो । वाम तालमेल गर्दा माओवादीले प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ९ सिट जितेको थियो । समानुपातिकको ३ सिट गरेर माओवादीले १२ सिट जितेको थियो । यस पटक प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभातर्फ १२ सिटमा उम्मेदवारी दिएको थियो । तर, प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ  ५ सिट मात्र सुरक्षित गरेको छ । गणना हुन बाँकी स्याङ्जा २ मा माओवादी उम्मेदवार छैनन् । 

यस्तै गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट विजयी भएका छन् । अघिल्लो पटक प्रदेश सभामा प्रत्यक्षतर्फ दुई सदस्य जितेको जनमोर्चाले यस पटक उम्मेदवार नै उठाएन ।  

गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी भने प्रदेशमा निल भएको छ । प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ नवलपुर १ (२) मा उम्मेदवारी दिएको एकीकृत समाजवादीले दुवै सिटमा गुमाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप