शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोविताले जितेको काठमाडौँ क्षेत्र नम्बर २ : सदाबहार विद्रोही मतदाता

बुधबार, १४ मङ्सिर २०७९, ०९ : १४
बुधबार, १४ मङ्सिर २०७९

शंखरापुर नगरपालिका वडा नम्बर १, नाङ्लेभारेका तिलकप्रसाद रिमालले २०१८ सालमा भएको गाउँ पञ्चायतको चुनावदेखि मतदान गर्न सुरु गरेका थिए । उमेरले ८० वर्षमा हिँडिरहेका रिमालले यसअघि भएका हरेक निर्वाचनमा सहभागी भई मतदान गरे । तर यो वर्षको चुनाव उनका लागि विशेष बन्यो ।

अघिल्ला निर्वाचनमा दलका नेता तथा उम्मेदवार उनको घरमा भोट माग्न आउँथे, हाम्रो पार्टी वा नेतालाई भोट दिनुस् भन्थे । तर गत मङ्सिर ४ गते भएको निर्वाचन अगाडि भोट माग्न उनी आफै सक्रिय भए । आफ्नो घर वरिपरि तथा चिया पसलमा उनले भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि भोट मागे । सो दलको चुनाव चिह्न ‘घण्टी’ मा भोट माग्न सुरु गरेपछि मान्छेहरूले आफ्ना नाम नै ‘घण्टी बाजे’ राखिदिएको उनले सुनाए । पुराना दलले देशका लागि केही परिवर्तन नगरेको भन्दै यो पटक जनताले मतदान गर्ने हात परिवर्तन गरेको उनले बताए ।

रिमालजस्तै धेरै मतदाताले विगतमा आफूले मतदान गर्दै आएको चिह्न छाडेर नयाँ पार्टीमा आकर्षित भइदिए । फलस्वरूप पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी नतिजा आफ्नो पक्षमा पाउन सफल बन्यो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २७ वर्षकी कान्छी सांसद सोविता गौतमको उदय गराएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ अहिले फेरि चर्चामा रहेको छ । यो त्यही क्षेत्र हो, जहाँका मतदाताले २०६४ सालको पहिलो संविधान सभाको चुनावमा रोल्पाका झक्कु सुवेदीलाई जिताएर तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गराएका थिए । यो क्षेत्रका साथै रौतहटबाट पनि पराजित भएपछि नेता नेपालले पार्टी महासचिवबाट नै राजीनामा गरेका थिए ।

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा यही क्षेत्रबाट फेरि तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपाल विजयी भए । उनले रौतहट क्षेत्र नम्बर १ बाट पनि चुनाव जितेका थिए । निर्वाचित भएका दुईमध्ये एउटा क्षेत्र छोड्नुपर्ने भएपछि उनले काठमाडौँलाई छोडेर रौतहट रोजेका थिए । तत्कालीन एमाले वरिष्ठ नेता रहेका नेपालले रौतहट रोजेपछि काठमाडौँ २ मा लगत्तै गरिएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका दीपक कुइँकेल चुनावी प्रतिस्पर्धामा थिए । तर २ महिनापछि भएको चुनावमा एमालेका श्रेष्ठ पराजित भए भने कांग्रेसका कुइँकेल विजयी भए ।

२०७४ सालको चुनावमा वाम गठबन्धनको साझा उम्मेदवार बनेका माधव कुमार नेपालले चुनाव जितेका थिए । तर, २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धन दलका तर्फबाट बलिया उम्मेदवार माओवादी केन्द्रकी ओनसरी  घर्ती, एमालेका मणिराम फुयाँल र राप्रपाकी कुन्तीदेवी पोखरेल भर्खरै बनेको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमसँग पराजित हुनुपर्‍यो ।

त्यसअघि २०४८ सालमा भएको आम निर्वाचनमा यो काठमाडौँ क्षेत्र नम्बर १ थियो । त्यतिबेला तत्कालीन एमाले महासचिव मदन भण्डारीले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । २०५१ सालमा भएको आम निर्वाचनमा पनि विद्या भण्डारीसँग कृष्णप्रसाद भट्टराई पराजित भएका थिए । २०५३ सालमा भएको चुनावमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन भट्टराई विजयी भएका थिए ।  २०५६ सालको निर्वाचनमा एमालेका प्रदीप नेपाल विजयी भएका थिए । दुई क्षेत्रबाट विजयी भएका उनले यो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा एमालेका तत्कालीन स्थानीय नेता नारायण ढकाल निर्वाचित भएका थिए ।

२०६४ सालअघि भएका संसदीय चुनावमा निरन्तर एमालेलाई जिताएका यो क्षेत्रमा मतदाताले पहिलो संविधान सभाको निर्वाचनदेखि भने फरक नतिजा दिलाउँदै आएका छन् ।

कांग्रेस मतदाताको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय

राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद गौतम शनिवार मतदातालाई धन्यवाद दिन सोही क्षेत्र अन्तर्गत पर्ने शंखरापुरको जर्सिङपौवा, नाङ्लेभारे लगायतका क्षेत्रमा पुगेकी थिइन् । उनलाई खादा माला लगाइदिनेदेखि बाटो–चोकमा घण्टीको चित्र कोर्नेहरूमा हिजोका दिनमा कांग्रेस समर्थन गर्ने स्थानीयहरूको बाहुल्यता थियो ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको राम्रो उपस्थिति रहेको स्थानबाट समेत गठबन्धनको पक्षमा राम्रो मत खस्न सकेन । माथिल्लो तहमा गठबन्धनको सहमति भए पनि तल्लो तहमा कार्यान्वयन हुन सकेन ।

गौतमले १५ हजार २२९ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे । जबकि यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा एमालेले १७ हजार मत पाएको थियो ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती देवी पोखरेलले ११ हजार १४ मत पाइन् । स्थानीय तहको निर्वाचनमा राप्रपाले ७ हजार हाराहारीमा मत पाएकोमा त्यो सङ्ख्या भने केही बढ्यो । यता चौथो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४४९ मत पाइन् । स्थानीय तह चुनावमा यहाँ सत्ता गठबन्धनको पक्षमा झन्डै २४ हजार हाराहारी मत थियो । स्थानीय तहमा पाएको मतको रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एमालेको केही मत र गठबन्धन दलले पाएकोबाट धेरै मत उता गएको देखिन्छ ।

कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिकाबाट ५० प्रतिशत कांग्रेस मतदाताको भोट घण्टीमा गएको र एमालेका मतदाताको २५ प्रतिशत भोट गएको शंखरापुर १ नाङ्लेभारेका स्थानीय रामप्रसाद घिमिरे अनुमान गर्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट संगठन निर्माण भएमा हिजोका दिनमा एमाले, माओवादी र कांग्रेसमा रहेका धेरै स्थानीय युवाहरू सो दलमा संगठित हुने तयारीमा रहेको घिमिरेले बताए ।

प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी नहुँदा राप्रपालाई फाइदा

प्रतिनिधि सभा निर्वाचनमा तेस्रो स्थान पाएको राप्रपाले काठमाडौँ क्षेत्र नम्बर २ को दुवै प्रदेशमा जीत हात पारेको छ । प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नहुँदा गठबन्धन दलको असन्तुष्ट मत राप्रपामा गएको हो । प्रदेश ‘क’बाट राप्रपाका सुनिल केसी विजयी भए भने प्रदेश ‘ख’बाट राजु विष्ट निर्वाचित भए ।

गठबन्धन एकातिर, भोट अर्कोतिर भएजस्तो लाग्यो ः मणिराम फुयाँल

स्थानीय तह चुनावमा पाएको मतको आधारमा काठमाडौँ क्षेत्र नम्बर २ मा एमाले पहिलो दल बनेको थियो । सोही क्षेत्रको कागेश्वरी मनोहराका स्थानीय मणिराम फुयाँललाई एमालेले चुनावी प्रतिस्पर्धामा उतारे पनि उनले पराजय भोगे । निर्वाचनको परिणाम नयाँ पार्टीको पक्षमा गएपछि फुयाँलको विश्लेषण यस्तो छ :

‘समसामयिक राजनीतिप्रति आक्रोशको भाव उत्पन्न भएको हो कि जस्तो लाग्छ । बेला बखतमा यस्तै राजनीतिक हुरी हुन्डरी आउँदो रहेछ । हिजो महानगरमा राम्रो मत ल्याएकी रञ्जु दर्शनाको जमानत पनि जफत भएको भन्ने कुरा पनि आइरहेको छ ।  घण्टी त भर्खरको पार्टी हो हिजो हामीले पाएको मतबाट नै उसले मत पाएको हो, कसैले धेरै तान्यो, कसैको थोरै तानेको देखिन्छ । कुन कुन दलको कति मत काट्यो त्यसलाई गहिराइमा गएर हेर्नुपर्ने हुन्छ ।

गठबन्धन एकातिर, भोट अर्कोतिर भन्ने कुरा पनि आएको छ । तथ्यले पनि त्यस्तै देखिन्छ, एक–दुई हजार मत पो ट्रान्सफर नहुने हुन्छ । तर धेरै मत ट्रान्सफर हुन सकेन । समाजवादीको  ७ हजार, माओवादीको आफ्नै ३ हजार  भोट छ । तर ओनसरीजीको ९ हजार पनि भोट आउँदैन भने घण्टीमा कसको भोट गयो स्पष्ट नै छ ।’

उनले दलहरूलाई आफ्नो कमजोरी सच्याउनका लागि जनताले बेला बेला  यसरी भन्ने भएकोले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । 

टुरिस्ट र अस्थिर उम्मेदवारबाट पीडित हुनु काँठ क्षेत्रको दुर्भाग्य हो: पत्रकार कृष्णमुरारी भण्डारी

काठमाडौँको आलापोटमा जन्मेहुर्केका र सोही भेगमा बसोबास गर्दै आएका वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी काठमाडौँ क्षेत्र नम्बर २ सधैँ अस्थिर र टुरिस्ट उम्मेदवारबाट पीडित रहेको तर्क गर्छन् । यस्तै काठमाडौँ क्षेत्र नम्बर १ र ३ पनि टुरिस्ट उम्मेदवारबाट पीडित भएको ठाउँ रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘क्षेत्र नम्बर २ र ३ मा काँठ क्षेत्र धेरै छ । काँठका सक्षम नेता उम्मेदवारहरू पनि पार्टीको राजनीतिले गर्दा सबै पिछडिएका छन् । यी क्षेत्रका लागि  दुर्भाग्य नै भन्नुपर्छ । २०४८ सालदेखि भएका आम निर्वाचनमा त्यस क्षेत्रमा बाहिरबाट उम्मेदवार आए । २०४८ सालमा ललितपुर बस्ने कृष्णप्रसाद भट्टराई र नक्साल बस्ने मदन भण्डारी चुनावमा उठ्नुभएको थियो । त्यसपछि विद्या भण्डारी चुनावमा उठ्नुभयो । त्यसपछि मनमोहन अधिकारी उठ्नुभयो, प्रदीप नेपाल पनि उठ्नुभयो । चुनावमा आउने उम्मेदवार सधैँ अस्थिर जस्तो देखिन्छ । एक पटक त्यो क्षेत्रबाट नारायण ढकाल पनि चुनावमा उठ्नुभयो तर नारायण ढकाल स्थानीय रूपमा चर्चित भए पनि उहाँलाई केन्द्रीय रूपमा त्यहाँ निरन्तर हुन दिइएन । यसलाई दुर्भाग्य भन्नुपर्छ तर बिस्तारै काँठका जनता, मान्छेहरू बिस्तारै जुरमुर्‍याउँदै छन् ।’

विकासको हिसाबले पनि अहिले तीव्र रूपमा सहरीकरण भइरहेको, शिक्षाको विकास बढ्दै गएकोले अब धेरै लामो समय टुरिस्ट उम्मेदवारहरूले त्यो क्षेत्रलाई हडप्न नसक्ने उनी बताउँछन् ।

पत्रकार भण्डारी भन्छन्, ‘यसपटकको चुनावलाई हेर्दा क्षेत्र नम्बर १ मा क्षेत्रपाटी बस्ने प्रकाशमानले चुनाव जित्नुभयो । क्षेत्र नम्बर १ को धेरै भाग क्षेत्रपाटीबाट टाढा छ, क्षेत्र नम्बर २ मा चुनाव जित्नुभएको व्यक्ति दोलखाबाट आउनुभएको भन्ने छ । तर स्थानीय उम्मेदवार पछि पर्नुभयो । क्षेत्र नम्बर ३ मा भने अलिकति रूप लियो जस्तो छ, स्थानीय उम्मेदवार कृष्ण राई र सन्तोष चालिसेका बीचमा प्रतिस्पर्धा भयो । बिस्तारै स्थानीय उम्मेदवार चयन गर्ने ट्रेन्ड पनि अघि बढेको छ । तर अलिकति स्वरूप चाहिँ लिएको छ ।’

काँठका जनतामा स्थानीय नै प्रतिनिधि हुनुपर्छ भन्ने कुरा पहिलाको तुलनामा केही भने बढेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप