विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक मुरी धानमा साटिएकी हरिमाया जिम्बा

बुधबार, १४ मंसिर २०७९, १० : ४९
बुधबार, १४ मंसिर २०७९

उठिसकेको बस्तीभन्दा उठ्न लागेको बस्ती उराठलाग्दो हुन्छ । हरेक टहरोको अगाडि किचन दराज, भाँडाकुँडा, लत्ताकपडा, खाट आदि राखिएको छ । महिला, केटाकेटी उदास मुद्रामा ती सामान कुरिरहेका छन् । बलियाबांगा नजिकै चोकमा नाराबाजी गरिरहेका छन् । टायर जलेर कालै भएको चोकले जनआन्दोलन (०६२÷६३) को झल्को दिन्छ । तर, बस्तीभित्र छिरेर नियाल्दा देशको एउटा वास्तविक रूप चित्रित हुन्छ । 

‘के भर भयो, कतिखेर डोजर चल्ने हो ? भएको यही सामान पनि पुरियो भने !’ टहरो नजिकै आफ्ना सामान कुरेर बसेकी ५० वर्षीया हरिमाया जिम्बाले भनिन्, ‘यही सामान त कति दुःखले जोडेको, फेरि सामान किन्न सकिँदैन ।’

सिन्धुली मरिण खोलाकी हरिमाया यहाँ दुई कोठाको टहरो बनाएर बस्न थालेको १७ वर्ष भयो । एक वर्षकी कान्छी छोरी र एउटा छोरालाई च्यापेर उनी २० वर्षअघि काठमाडौँ आएकी थिइन् । सुरुका तीन वर्ष बागमतीबाट बालुवा निकालेरै बित्यो । अहिले उनी निमोनियाबाट पीडित छन् । तैपनि अर्काको घरघरमा गई सरसफाइको काम गरेर मासिक ६–७ हजार रुपैयाँ कमाउँछिन् । 

दुःख भन्नु हरिमायाको जीवनको अर्को नाम हो । माइतीको सम्पत्ति थिएन, आमाले उनलाई सानैमा एक मुरी धान लिएर अर्काको घरमा काम गर्न राखेकी थिइन् । विवाह पनि उस्तै गरिब परिवारमा भयो, उनका श्रीमानका ६ भाइ थिए, तर जमिन थिएन । चार सन्तान जन्मेपछि श्रीमान् उनलाई छाडेर हिँडे ।

‘बागमतीमा कति डुब्यो, डुब्यो,’ उनी तामाङ लबजमा भन्छिन्, ‘बालबच्चा पढाउनुपर्छ । पेटभरि खानुपर्छ, आङभरि लगाउनुपर्छ भनेर यही चिसो खोलामा हाम फालेर मलाई निमोनिया भएको हो, पहिले त राम्रै थियो ।’

त्यतिबेला बागमतीमा बालुवा निकाल्न रोक लगाइएको थियो । उनको दुःख देखेका प्रहरीले उनले बालुवा निकालेको देखे पनि नदेखेझैँ गर्थे । शंखमूलमा एउटा कोठा भाडामा लिएर बसेकी हरिमाया दिनभरि बालुवा निकालेर साँझमा बेच्न जान्थिन् । दुःखले कमाएको पैसाले कोठा भाडा तिर्न, छोराछोरी पाल्न हम्मे हुन्थ्यो । 

दुःख भन्नु हरिमायाको जीवनको अर्को नाम हो । माइतीको सम्पत्ति थिएन, आमाले उनलाई सानैमा एक मुरी धान लिएर अर्काको घरमा काम गर्न राखेकी थिइन् । विवाह पनि उस्तै गरिब परिवारमा भयो, उनका श्रीमानका ६ भाइ थिए, तर जमिन थिएन । चार सन्तान जन्मेपछि श्रीमान् उनलाई छाडेर हिँडे । गाउँमा उनले बर्खामा तामा काटेर त हिउँदमा रक्सी पारेर गुजारा गर्थिन् । वन सामुदायिक भएपछि तामा काट्न पाइनन्, उता माओवादीले रक्सी पारेर बेच्न रोक लगायो । गाउँमा एक पाथी धानमा मजदुरी गर्नुपर्थ्यो । गुजाराको अलि सजिलो बाटो खोज्न उनी काठमाडौँ आएकी हुन् । अहिलेसम्म उनलाई दुःखले छाडेको छैन ।

यसपालि उनको बस्तीमा भोट माग्न प्रकाशमान सिंह पुगेका थिए । ‘उहाँले भन्नुभएको थियो– हाम्रो पार्टीले आयोग (राष्ट्रिय भूमि आयोग) बनाएको छ । त्यसले तपाईंहरूलाई जग्गाको व्यवस्था गर्छ,’ हरिमाया प्रकाशमानको झूटो आश्वासन सम्झिन्छिन्, ‘उहाँ गएको एक घण्टापछाडि त माइकिङ गर्दै मान्छे आए । आफैँ घर भत्काऊ, हामीले भत्काउनुपरे पैसा तिर्नुपर्छ भने ।’ 

सुरुमा उनले दुई छोरीलाई माइतीमै छाडेकी थिइन्, ज्यामी काम गरेरै भए पनि पाल्न सक्छु भन्ने विश्वास बढेपछि उनीहरूलाई काठमाडौँ ल्याइन् ।

पाँचजनाको परिवार भयो, एक्लै कमाएको पैसाले बिहान र साँझ चुलो बाल्नै मुस्किल हुन्थ्यो, अनि उनी सुकुम्बासी भइन् । कम्तीमा भाडा तिर्नुनपर्दा ज्यामी काम गरेर छोराछोरी पढाउन उनलाई सहज भयो । स्नातक गरेकी जेठी छोरीको विवाह भइसकेको छ । माहिली छोरी स्नातक गर्दै छन्, कान्छी छोरीले भर्खर १२ पूरा गरिन् । छोरो भने एसएलसी पास गरेपछि आमा र दिदी–बहिनीलाई सुख दिन्छु भनी साउदी हानिए । 

‘गरिबलाई के राम्रो हुँदो हो ?’ हरिमाया भन्छिन्, ‘काम र कमाइ राम्रो नहुँदा साढे दुई वर्षमा फर्क्यो । १०–१२ तले घरमा रङ लगाउनुपर्थ्यो रे । जाँदा एक लाख ३५ हजार रिन लागेको थियो । गएको रिन तिर्न र मेरो उपचार गर्नमै उसको कमाइ ठिक्क भयो ।’

हरिमायालाई निमोनियाको औषधि खाइरहनुपर्छ । उनले वर्षमा दुई हजार रुपैयाँको सुई मात्रै लगाउँछिन् । अहिलेसम्म उनलाई कुनै अस्पतालले छुट दिएको छैन ।

हरिमायाको नागरिकता सिन्धुलीकै छ, तर उनी काठमाडौँ क्षेत्र १ की मतदाता हुन् । पछिल्ला वर्ष उनले भोट हाल्दै आएकी छन् । यसपालि उनको बस्तीमा भोट माग्न प्रकाशमान सिंह पुगेका थिए । ‘उहाँले भन्नुभएको थियो– हाम्रो पार्टीले आयोग (राष्ट्रिय भूमि आयोग) बनाएको छ । त्यसले तपाईंहरूलाई जग्गाको व्यवस्था गर्छ,’ हरिमाया प्रकाशमानको झूटो आश्वासन सम्झिन्छिन्, ‘उहाँ गएको एक घण्टापछाडि त माइकिङ गर्दै मान्छे आए । आफैँ घर भत्काऊ, हामीले भत्काउनुपरे पैसा तिर्नुपर्छ भने ।’ 

त्यसपछि उनीहरू प्रकाशमानकहाँ डेलिगेसन गए । प्रकाशमानले ‘ढुक्क भएर बस्नु, मेरो क्षेत्र नम्बर १ मा भत्काउन दिन्नँ’ भनेका थिए । 

अहिले हरिमायालाई कसैको भर छैन । तर एउटा माग छ– गरिखाने सकिने ठाउँमा गाँसबासको व्यवस्था होस् । 

मान्छेहरू भन्छन्, नक्कली सुकुम्बासी धेरै भए । यसमा हरिमायाको सीधा जवाफ छ, ‘डोजर लिएर आउन सक्ने सरकारले छानबिन गरे हुन्छ त !’

‘त्रासले दुईजनाको मृत्यु’

थापाथलीको यस सुकुम्बासी बस्तीमा एक सय ३६ परिवार छन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ महानगरसँगको समन्वयमा कात्तिक २५ गते सूचना जारी गरी वागमती लगायत नदी किनारका बस्ती हटाउन १० दिनको म्याद दिएसँगै यहाँका सुकुम्बासी त्रासमा थिए । 

१० वर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा डोजर चलेको त्रास यहाँका मानिसको मस्तिष्कबाट अझै हटेको छैन । सरकारी सूचनाप्रति विरोध जनाउँदै सुकुम्बासीहरुले मंसिर १ गते आन्दोलन गरेका थिए । 

हरिमायाका अनुसार, करिब ५५ वर्षीय भक्तबहादुर रनपहेंली त्यस आन्दोलनमा सहभागी थिए । ‘घर भत्काउँछ भन्ने त्रासले उहाँलाई त्यही साँझ हर्टअट्याक भयो र ज्यान गयो,’ हरिमाया नजिकैको छाप्रो औँल्याउँदै भन्छिन्, ‘त्यहाँका ३५ वर्ष जतिका भीम राई पनि हिजो बिते ।’

हरिमायाका अनुसार, भीमलाई छारेरोग थियो । सूचनाको म्याद सकिएसँगै यो बस्ती हरेक रात जाग्रामजस्तै बसेको थियो, कतिबेला डोजर आउँछ भन्ने त्रासमा मानिसहरु समूह समूहमा बस्थे । ‘भीमले डोजरसँगै मर्छु कि मार्छु भन्थे,’ हरिमाया भन्छिन्, ‘आफैँ अगाडि लाए ।’ 

सोमबार दिउँसो उनी बस्ती नजिकै ढलेका थिए, उठेनन् । घर भत्काउने डरले प्रेसर बढेर मृत्यु भएको हुन सक्ने हरिमाया बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर एडिटर हुन् ।

लेखकबाट थप