बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडपछि रुपन्देहीका विभिन्न ठाउँमा मेला महोत्सव

बुधबार, १४ मङ्सिर २०७९, १० : ५८
बुधबार, १४ मङ्सिर २०७९

रुपन्देहीका विभिन्न ठाउँमा मेला महोत्सव हुँदै छन् । विगतका केही वर्ष कोभिड १९ को महामारीले स्थगित भएका मेला महोत्सवहरु यो वर्षदेखि सुरु हुँदैछन् । यहाँका उद्योगीहरु औधोगिक व्यापार मेलाको तयारीमा लागेका छन् । 

रुपन्देहीको बुटवल, तिलोत्तमा र भैरहवमा औद्योगिक व्यापार मेलाको तयारी भइरहेको छ । रुपन्देहीको तिलोत्तममा मंसिर १५ (भोलि) गते देखि मेला सुरु हुने भएको छ भने मंसिर २३ देखि भैरहवामा र पुस ७ गतेदेखि बुटवलमा मेला महोत्सव गरिँदै छ । १० देखि १२ दिनसम्म मेला संचालन गरिन्छ । 

भोलि बिहीबारदेखि रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पुरा भएको र बिहीबार तिलोत्तमा नगरपालिकाका मेयरले महोत्सव उद्‍घाटन गर्ने जीएमले जानकारी दिए । उक्त महोत्सवको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्स र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा ३ सय स्टल रहने जनाइएको छ ।

उक्त महोत्सवमा ब्याडमिन्टन, महिला कुस्ती, डान्स आइडल लगायतका विभिन्न प्रतियोगिताहरू समेत राखिएको खेल संयोजक विवश थापाले जानकारी दिए । थापाका अनुसार महोत्सव मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

यसैबीच भैरहवामा पनि लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तीव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले भैरहवा लगायत सिंगो रुपन्देहीको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा लिइएको छ । 

मंसिर २३ देखि पुस ४ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष भिष्मराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी गरिएको छ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक माधवप्रसाद पौडेलको अनुसार पुस ७ देखि १९ गतेसम्म महोत्सव संचालन हुनेछ ।

राजधानी बाहिर निर्माण गरिएको अन्तराष्ट्रिय प्रदर्शनी स्थल, बुटवल मण्डपमा पहिलो पटक आयोजना गरिने प्रदर्शनीलाई आर्कषक तथा व्यवस्थित बनाउने लक्ष्यसहित कामलाई अगाडि बढाएको संयोजक पौडेलले बताए । करिब ४ सय स्टल रहने प्रदर्शनीमा स्टल दर्ताको काम भइरहेको र हालसम्म १ सय भन्दा बढी उद्योगहरू दर्ता भएको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप