शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको समानुपातिक मतको ट्रेन्ड : प्रदेशसभाको तुलनामा प्रतिनिधिसभातर्फ खनियो ठुला दललाई  मत

‘घण्टी’ले गर्न सकेन ‘चमत्कार’
बुधबार, १४ मङ्सिर २०७९, ११ : २४
बुधबार, १४ मङ्सिर २०७९

मधेस प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको तुलनामा प्रतिनिधिसभातर्फ समानुपातिकमा ठुला दलले मत बढाएका छन् । नयाँ दलका रुपमा अन्य प्रदेशमा ‘चमत्कारिक’ नतिजा ल्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा भने खासै चमत्कार देखाउन नसक्दा ठुला र पुराना दलहरुले नै मधेसमा आफ्नो वर्चश्व कायम राखेका हुन् ।

मधेस प्रदेशसमा प्रदेशसभातर्फको समानुपातिकमा नेपाली कांग्रेस ३ लाख ७३ हजार ९६६ मतसहित अग्रस्थानमा छ । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकमा ४ लाख ८ हजार ५४२ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ ।​कांग्रेसले प्रदेशसभातर्फको समानुपातिकको तुलनामा मधेस प्रदेशमा प्रतिनिधिसभातर्फको समानुपातिकमा ३४ हजार ५७६ मत बढी प्राप्त गरेको छ ।

‘घण्टी’ चुनाव चिह्न रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग लिएको थिएन । जबकि, प्रतिनिधिसभातर्फमात्र सहभागी सो दलले मधेस प्रदेशबाट प्रतिनिधिसभाको समानुपातिकमा ७० हजार ३६७ मत पाएको छ । उसको यो मतका बाबजुद कांग्रेसले प्रदेशसभाको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा आफ्नो मत बढाएको छ । यसले गर्दा ‘घण्टी’ ले मधेस प्रदेशमा कांग्रेसको मतलाई कुनै असर गर्न नसकेको प्रस्ट हुन्छ ।

यस्तै, मधेस प्रदेशको प्रदेशसभातर्फ नेकपा एमाले ३ लाख ३७ हजार ८५६ मतसहित दोस्रो स्थानमा छ । प्रतिनिधिसभातर्फको समानुपातिकमा पनि एमाले दोस्रो स्थानमै छ । एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकमा ३ लाख ५८ हजार २७० मत पाएको छ । प्रदेशसभाको तुलनामा एमालेले प्रतिनिधिसभाको समानुपातिकमा २० हजार ४१४ मत बढी पाएको छ । यस तथ्याङ्कका आधारमा प्रतिनिधिसभातर्फमात्र उपस्थिति जनाएको ‘घण्टी’ ले एमालेको मतलाई समेत ‘कैंची’ लगाउन नसकेको प्रस्ट देखिन्छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभातर्फ समानुपातिकमा एक लाख ७३ हजार ३०२ र प्रतिनिधिसभातर्फ एक लाख ७३ हजार ३४४ मत प्राप्त गरेको छ । यस अर्थमा प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ माओवादी केन्द्रको मतमा खासै भिन्नता देखिँदैन । माओवादी केन्द्रले मधेस प्रदेशसभातर्फको समानुपातिक र प्रतिनिधिसभातर्फको समानुपातिकमा समान ‘पाँचौं पोजिसन’ हासिल गरेको छ ।

मधेस प्रदेशसभाको समानुपातिकतर्फ २ लाख ७३ हजार २७८ मतसहित चौथो स्थानमा रहेको जसपा नेपाल प्रतिनिधिसभातर्फको समानुपातिकमा २ लाख ७४ हजार ३९९ मतसहित तेस्रो स्थानमा छ । प्रदेशसभातर्फको समानुपातिकको तुलनामा जसपा नेपालले प्रतिनिधिसभातर्फको समानुपातिकमा आफ्नो मत बढाएको छ । यो पार्टीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले खासै प्रभाव पारेको देखिँदैन ।

अर्को पुरानो दल राप्रपाले पनि प्रदेशसभातर्फको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा मत बढाएको छ । राप्रपाले प्रदेशसभातर्फको समानुपातिकमा ६३ हजार ४७२ मत प्राप्त गरेको छ भने प्रतिनिधिसभातर्फको समानुपातिकमा ६६ हजार ५९९ मत पाएको छ ।

यी दलको मतमा लाग्यो ‘कैंची’

प्रदेशसभामा ल्याएको मतको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा मत घटेको दलमा सीके राउत नेतृत्वको जनमत पार्टीको मत कम देखिएको छ । मधेस प्रदेशको प्रदेशसभातर्फ तेस्रो स्थानमा रहेको जनमत पार्टीले २ लाख ८५ हजार ७९२ मत पाएको छ । तर प्रतिनिधिसभातर्फको समानुपातिकमा चौथो स्थानमा पुगेको सो दलले २ लाख ५८ हजार १८० मतमात्र पाएको छ ।

प्रदेशसभाको समानुपातिकको तुलनामा जनमत पार्टीले प्रतिनिधिसभातर्फको समानुपातिकमा २७ हजार ६१२ मत कम पाएको छ । तसर्थ यो पार्टीको केही मत प्रतिनिधिसभातर्फको समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले तानेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले पनि प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा कम मत पाएको छ । यो पार्टीले प्रदेशसभाको समानुपातिकतर्फ एक लाख ५ हजार ५९२ मत प्राप्त गर्दा प्रतिनिधिसभातर्फको समानुपातिकमा ९७ हजार १५५ मतमात्र पाएको छ । प्रदेशसभाको तुलनामा प्रतिनिधिसभातर्फ ८ हजार ४३७ मत कम पाएको यो पार्टीको केही मत ‘घण्टी’ले काटेको अनुमान गर्न सकिन्छ ।

यसैगरी प्रदेशसभातर्फको समानुपातिकतर्फ लोसपा नेपालले पनि ११ हजार ७०९ मत कम पाएको छ । नेपाल संघीय समाजवादी पार्टीले प्रदेशसभाको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा १२ हजार ३२९, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ७३४, बहुजन एकता पार्टीले ४ हजार ७०२, नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीसहितको एकल चिह्न (बच्चा काखमा लिएकी आमा) मा २ हजार ६६० मत कम पाएको देखिन्छ ।

यस्तै, हाम्रो नेपाली पार्टीले ५ हजार २४३, नेकपा मालेले २ हजार ८८०, नेपाल लोकतान्त्रिक पार्टीले ३ हजार ९२८, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले २ हजार ७७३, राप्रपा नेपालले २ हजार ६५७, नेपाल जनता पार्टीले दुई हजार ६३५ मत प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभामा कम पाएको देखिन्छ ।

यी लगायत अन्य साना दलको मत एकत्रित गर्ने हो भने प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभाको तुलनामा एक लाखको हाराहारीमा कम देखिन्छ । यिनै मतमध्येबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा ७० हजारभन्दा बढी मत पाएको आकलन गर्न सकिन्छ । बाँकी मत नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले नै तानेको अनुमान गर्न कठिन छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप