शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अब माओवादी पार्टी पुनर्संरचना गर्ने बेला भयो’

गठबन्धनकै सरकार बन्छ, नेतृत्व टुंगो लाग्न बाँकी छ : जनार्दन शर्मा,अर्थमन्त्री
बुधबार, १४ मङ्सिर २०७९, १२ : ०४
बुधबार, १४ मङ्सिर २०७९

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले आम निर्वाचनमा पराजय बेहोरिरहँदा अर्थमन्त्री जनार्दन शर्मा भने रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका छन् । शर्माले ३९ हजार ५४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ जार ९६१ मत ल्याए ।

आफू लोकप्रिय मतका साथ निर्वाचित हुँदै गर्दा शर्मा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको चुनावी परिणामबाट भने सन्तुष्टि छैनन् । ‘मैले अपेक्षा गरेभन्दा कम सिट आयो । सबैका आ–आफ्ना अपेक्षा थिए । मैले अपेक्षा गरेभन्दा १० सिट कम आयो भन्ने छ । मेरो बुझाइमा ३० सिटको सङ्ख्यामा जित्छ भन्ने थियो,’ शर्मा भन्छन् । निर्वाचन परिणामको समीक्षा गरेर अब नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने उनी बताउँछन् । प्रस्तुत छ, शर्मासँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित उतारः

तपाईं रुकुम पश्चिमबाट फराकिलो मत अन्तरले निर्वाचित हुनुभयो । मेहनतलाई हेर्दा प्रतिस्पर्धी कडा छन् कि भन्ने लाग्थ्यो । तर परिणामले त्यस्तो देखिएन । निर्वाचन क्षेत्रमा लामो समय बस्नुको कारण के थियो ?

अहिलेको निर्वाचनलाई जनप्रशिक्षण, जनतासँगको अन्तक्र्रिया र आगामी कार्यकालमा गर्ने योजना बनाउने अभियानका रूपमा सञ्चालन गरियो । त्यहाँ जित्ने र हार्नेको समस्या थिएन । यद्यपि प्रतिस्पर्धामा साथीहरू हुनुहुन्थ्यो । हाम्रो निर्वाचन अभियान सांस्कृतिक महोत्सवजस्तो भयो । जनतासँग जनप्रशिक्षण, जनसभा र अन्तक्र्रियात्मक जस्तो भयो । लामो समय जनतासँग भेटघाट नभएको हुन सक्छ । मैले अन्य माध्यमबाट भेटघाट गरिरहेको थिएँ । मेरो राष्ट्रिय जिम्मेवारीका कारणले भनेजस्तो प्रत्यक्ष भेटघाट भइरहेको हुँदैन । जनताले आफ्नो सामीप्यमा भेट्न चाहन्छन्, आफ्नो कुरा राख्न चाहन्छन् ।  मैले पनि आफ्नो कुरा त्यसरी राख्दा प्रभावकारी हुन्थ्यो । त्यसलाई यो चुनावमा यसरी नै सदुपयोग गरियो । एकएक गरी जनतासँग प्रत्यक्ष साक्षात्कार र भेटघाट गरियो । अबको रुकुमको भावी चित्र निर्माण गरियो । जुन जनतासँगको सहकार्यमा योजना निर्माण भएका छन् । 

हाम्रो मत घटेको होइन । गत निर्वाचनलाई हेर्दा मत घटेको छैन । त्यही हाराहारीमा मत आइराखेको छ । हाम्रो पार्टीको सिट कम आउनुको पछाडि कतै उम्मेदवार उठाउनेमा समस्या छन् । कतै पार्टी सङ्गठन निर्माणमा समस्या देखिएका छन् ।

–जनार्दन शर्मालाई विजयी हुन जनतासँग भोट मागिरहनुपर्ने अवस्था छैन है ?

हैन, निर्वाचन हो, मतदातासँग मत माग्नुपर्‍यो नि । उहाँले दान दिने नमागेर हुँदैन । मैले मत माग्नुपर्ने थियो । त्यस अर्थमा मत माग्ने नै भइहाल्यो । जनता मप्रति विश्वस्त छन् भन्नेमा ढुक्क थिएँ । 

–माओवादीले प्रत्यक्ष र समानुपातिकमा जुन मत प्राप्त गरेको छ त्यसमा तपाईंको के टिप्पणी छ ? 

मैले अपेक्षा गरेभन्दा कम आयो । सबैका आ–आफ्ना अपेक्षा थिए । मैले अपेक्षा गरेभन्दा १० सिट कम आयो भन्ने छ । मेरो बुझाइमा ३० सिटको सङ्ख्यामा जित्छ भन्ने थियो, तर त्यति आएन । प्रतिस्पर्धाबाट जेजति मत आयो त्यसलाई स्वीकार गरेर जानुको विकल्प छैन । जति सिट आएको छ त्यसलाई आत्मसात गरेर जानुपर्छ । 

–माओवादीको विगतको मत हेर्दा लज्जाजनक हो भन्न मिल्दैन ? 

लज्जाजनक होइन । प्रतिस्पर्धामा हार जित भइहाल्छ । हाम्रो मत घटेको होइन । गत निर्वाचनलाई हेर्दा मत घटेको छैन । त्यही हाराहारीमा मत आइराखेको छ । हाम्रो पार्टीको सिट कम आउनुको पछाडि कतै उम्मेदवार उठाउनेमा समस्या छन् । कतै पार्टी सङ्गठन निर्माणमा समस्या देखिएका छन् । पार्टी सङ्गठन निर्माणमा जहाँ जोड दिनुपर्ने थियो । त्यो दिन सकेनौँ । हामीले महाधिवेशन सकिएको १० महिना पुगिसक्दा पनि पार्टी पदाधिकारी टुङ्गो लगाउँदैनौँ । त्यसले तल सङ्गठन बलियो र एकीकृत भएन । सबै सङ्गठन तल फर्किनुपर्नेमा माथि फर्कियो । हाम्रो सङ्गठनात्मक निर्माणमा ध्यान नपुग्दा हाम्रा महत्त्वपूर्ण एजेन्डा स्थापित हुँदाहुँदै पनि सङ्गठन निर्माणमा विशेष जोड नहुँदा समस्या भयो । हाम्रो सङ्गठन तलतिर जनतामा फर्किनुपर्नेमा माथितिर मात्रै फर्किने पार्टी भयो । आफ्नो निर्वाचन क्षेत्र कमसेकम लिडरहरूले ध्यान दिएर गर्ने कुरामा ध्यान नदिएको पाइयो । यीलगायत विविध कारणले हामीले सोचेजति नतिजा हासिल गर्न सकेनौँ । 

कतिपय क्षेत्रमा भोट ट्रान्सफर भएको छ । कतिपय क्षेत्रमा भएकै छैन । त्यस हिसाबले सबै क्षेत्रलाई एउटै दृष्टिकोणले हेर्न सकिँदैन । फेरि पनि गठबन्धनभित्र एउटा प्रवृत्ति आफैँभित्र घात गर्ने देखा पर्‍यो ।

–पार्टीकै पदाधिकारीहरूले भोट ट्रान्सफर भएन भन्नुभएको छ । 'कांग्रेसले हामीलाई दिएन बरु एमालेलाई दियो । पार्टीलाई चुनाव हराउन भारत, अमेरिकालगायत देशीविदेशी शक्तिहरू लागे' भन्ने तर्क पनि आएको छ नि ? 

कांग्रेसको भोट माओवादीमा ट्रान्सर नभएको पनि हो । अन्य पार्टीलाई भोट हालेको पनि साँचो कुरा हो । गठबन्धन गरेर निर्वाचनमा गइसकेपछि यस्ता खालका समस्या हुन्छन् । हामीलाई हराउन लाग्छन् भन्ने पनि थाहा छ । हामीलाई हराउन खोज्दा खोज्दै जित्ने हो । प्रतिस्पर्धामा उत्रिएको विपक्ष हराउन लाग्छ नै, स्वाभाविकै हो । हामीलाई हराउन लाग्दा लाग्दै जित्नुपर्छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने भनेको यी यस्ता तमाम समस्याबाट उत्रिने हो । यस्ता खालका समस्यालाई ट्याकल गर्छौं भन्ने कुरालाई हेर्नुपर्छ । पार्टीले चुनाव हार्नुका कारणहरू छन् । ती कारणहरू भनेर ती कारणहरूलाई देखाएर हुँदैन । हामीले चुनाव हार्यौँ, हार्नुको कारण हामी आफै हौँ । हामीले भोट ट्रान्सफर हुनेगरी काम गर्नुपर्ने थियो । त्यो भएन, हाम्रै कारण हो । अन्य स्थितिलाई किन मिलाउन सकेनौँ ? हाम्रै कारणले हो । अरूलाई दोष दिएर हुँदैन । अब परिणामलाई सहज स्वीकार गर्ने नै हो । 

यो सत्ता गठबन्धन देशैभर बनाएर कति काम लाग्ने भयो भन्ने लाग्छ ?

यो गठबन्धनलाई प्रदेश र जिल्लाको सापेक्षतामा हेर्नुपर्छ । कतिपय जिल्लामा राम्रोसँग तालमेल भयो । सौहार्द रूपमा तालमेल भएर राम्रो परिणाम पनि आएका छन् । कतिपय जिल्लामा गठबन्धन कार्यान्वयन भएको छैन । त्यसको ठीक विपरीत उल्टो भएको छ । कतिपय प्रदेशमा गठबन्धन प्रभावकारी भएको छ । कतिपय प्रदेशमा प्रभावकारी भएन । त्यसकारण समग्रतामा भन्नुपर्दा पनि स्थानीय परिवेश, निर्वाचन क्षेत्र र जिल्लाका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । 

समाजवादको आधार तयार पार्ने कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो । त्यसलाई जसरी सिध्याइयो, त्यसको नतिजा आज आयो । त्यसमा को को लागे ? कसलाई भन्ने हो र ? त्यसैले आजको परिणामको चिन्ता होइन । यदि हिजोको गल्ती सुधार गर्ने हो भने पश्चातपम गर्नुपर्छ । 

कतिपय क्षेत्रमा भोट ट्रान्सफर भएको छ । कतिपय क्षेत्रमा भएकै छैन । त्यस हिसाबले सबै क्षेत्रलाई एउटै दृष्टिकोणले हेर्न सकिँदैन । फेरि पनि गठबन्धनभित्र एउटा प्रवृत्ति आफैँभित्र घात गर्ने देखा पर्‍यो । त्यसले समग्र गठबन्धनलाई क्षति पुर्‍याएको छ । त्यसले माओवादी पार्टीलाई मात्रै होइन गठबन्धनलाई नै क्षति पुर्‍याएको छ । जस्तै अहिले बहुमत पुर्‍याउन हम्मेहम्मे छ । ठूलो पार्टी हुने, साना पार्टी हुने, मझौला पार्टी हुने सबैलाई  क्षति भयो । समग्रमा गठबन्धनलाई क्षति भयो । अब प्रदेश, जिल्ला र क्षेत्रमा सापेक्षतामा कहाँ सफल भयो भएन समीक्षा गर्नुपर्ने छ । हामी पक्कै पनि गर्ने छौँ । 

–तपाईंले पार्टीले अपेक्षाबमोजिम नतिजा ल्याएन भन्नुभयो । माओवादीले गठबन्धन गरेर ठिकै भयो भन्ने हो ? 

गठबन्धन गरेर जानुको विकल्प थिएन । गठबन्धन गर्नु सही थियो । हामीले कुन परिवेशमा गठबन्धन बनायौँ भन्ने कुरालाई हेर्नुपर्छ । गठबन्धन बनाउनुपर्ने परिवेश कसरी पैदा भयो ? अहिले सबै पार्टीका सन्दर्भमा र अन्य कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको पाउँछु । आज कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गर्ने होइन । मैले हिजो गल्ती गरेको पश्चाताप गर्ने भनेको छु । कम्युनिस्ट पार्टीले हिजो कमजोरी गरेको छ । त्यसको परिणाम आज आयो । आज बनाएर आज परिणाम आएको हो र ? दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर जनतामा जुन खालको स्प्रिट थियो, जनतामा जुन खालको उत्साह थियो, त्यो उत्साहलाई खर्लप्प पारेर हामीले सिध्याएको होइन ? मैले त्यतिबेलै भनेको थिए । अब कम्युनिस्ट आन्दोलन ओरालो लाग्नेतिर गयो । अब उठेर अघि आउन गाह्रो हुन्छ । त्यतिबेला यसलाई रोकौँ भनेर अनुनय विनय गरेको थिएँ ।  

–त्यतिबेला ककसको कमजोरी रह्यो ? 

मुख्य नेताले मुख्य भूमिका खेल्नुपर्ने थियो । अहिले सबै नेता भन्न मिल्दैन । हुन सक्छ मेरो पनि होला अरूको पनि हुन सक्छ । अंशमा मेरो पनि भाग पर्न सक्छ । मुख्य नेताले मुख्य जिम्मेवारीको रूममा भूमिका खेल्नुपर्ने थियो भन्न मात्रै खोजेको हो । कुनै व्यक्तिलाई दोष दिएर भन्न चाहन्न । त्यतिबेला जे गरिएको थियो, समाजवादको आधार तयार पार्ने कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो । त्यसलाई जसरी सिध्याइयो, त्यसको नतिजा आज आयो । त्यसमा को को लागे ? कसलाई भन्ने हो र ? त्यसैले आजको परिणामको चिन्ता होइन । यदि हिजोको गल्ती सुधार गर्ने हो भने पश्चाताप गर्नुपर्छ । 

–हिजोका गल्तीमा कसले पश्चाताप गर्नुपर्ने हो ? 

सबैले म म भनेर पश्चाताप गर्नुपर्‍यो । जो मुख्य नेतृत्वमा थिए । उनीहरूले बढी गर्नुपर्‍यो । 

–माओवादीले कम सिट ल्याउनुमा बाह्य कारणभन्दा पार्टीको आन्तरिक कारण छ भन्ने हो ? 

पार्टी कमजोर हुनुमा आन्तरिक र बाह्य कारणहरू छन्, नभएका होइनन् । मुख्य कारण पार्टीको आन्तरिक कारण हुन । आन्तरिक कारण नै प्रधान हुन्, बाह्य कारण सहायक हुन् । बाह्य कारण हराउन लाग्ने, कमजोर बनाउन लाग्ने सबै हुन्छन् । त्यो स्वतः हुन्छ भन्ने हामी सबैले बुझेको कुरा हो । त्यसलाई ट्याकल गर्न त्यसलाई ठीक ढङ्गले 'ह्यान्डिल' गर्न आन्तरिक तयारी चाहियो ।

अब बन्ने गठबन्धनकै सरकार हो । गठबन्धनले नै नेतृत्व गर्ने हो । कसले नेतृत्व गर्ने भन्ने विषयमा गठबन्धन दलहरूको बैठक बसेर टुङ्गो लगाउँछ । अहिले यसको नेतृत्वमा बन्छ भन्न सकिँदैन ।

हिजो कम्युनिस्ट पार्टी विभाजन हुनु बाह्य कारण होला, मुख्य आन्तरिक कारण नै थिए । हिजो मुख्य 'लिडरसिप'ले कुरा बुझिदिएको भए आज के हुन्थ्यो ? यस्तो खालको परिस्थिति आउने थिएन । 

–आगामी सरकार कस्तो बन्ला ? कसको नेतृत्वमा बन्ला भन्ने आम जिज्ञासा छ । यही सत्ता गठबन्धनकै सरकार बन्छ भन्ने पनि छ । होइन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच टेलिफोन संवाद भएकाले अर्को खालको तरङ्ग गएको छ । तपाईंको विचारमा कसरी सरकार निर्माणको अवस्थामा जान्छ ? 

पार्टीका नेताहरूबीचमा टेलिफोन हुने कुरा ठूलो होइन । सामान्य कुरा हो । चुनाव लडेको छ, कोही हारेको छ, कोही जितेको छ, जितेकोमा बधाई दिने, हारेकोमा सान्त्वना दिने राजनीतिक संस्कारको कुरा हो । यो कुनै नयाँ कुरा होइन । यसलाई ठूलो कुरा बनाउन जरूरी छैन । यो समाचार बनाउनयोग्य कुरा होइन । हामीले दिनदिनै जसो फोन गर्छौं । 

सबैभन्दा ठूलो कुरा हाम्रो गठबन्धन जुन बेसमा बन्यो । यहाँसम्म आइपुग्दा निर्वाचनमा केकस्ता खालका समस्याहरू आए, समीक्षा गर्नुपर्ने छ । गठबन्धनमा कसले कमजोरी गर्‍यो ? किन कमजोरी गर्‍यो ? भन्ने कुराको खोजी गरिनुपर्छ । यस्ता विषयमा खोजी गरेर सार्वजनिक गर्न जरुरी छ । 

अब बन्ने गठबन्धनकै सरकार हो । गठबन्धनले नै नेतृत्व गर्ने हो । कसले नेतृत्व गर्ने भन्ने विषयमा गठबन्धन दलहरूको बैठक बसेर टुङ्गो लगाउँछ । अहिले यसको नेतृत्वमा बन्छ भन्न सकिँदैन ।

आएको परिणाम स्वीकार गर्ने हो । जनताले मत दिए, जिते । जनप्रतिनिधि भए । ती जनप्रतिनिधिहरूबीच सहकार्य गर्दै अगाडि बढ्ने हो । देशका लागि काम गर्ने हो । देशलाई राम्रो बनाउन सबै लाग्ने हो ।

–अब वाम गठबन्धनको सरकार बन्छ है भन्नु बजार हल्ला मात्रै हो ? 

वाम गठबन्धनको सरकार बन्ने आधार हुनुपर्‍यो नि ? के आधारमा बन्छ ? सैद्धान्तिक आधारले बनाउन खोज्दा बन्न सक्छ । सङ्ख्यात्मक आधार बनाउँदा बन्न सक्दैन । के आधारमा बन्ने भन्ने प्रश्न आउँछ ? मैले देखेको गठबन्धनकै सरकार बन्छ । कहाँ केकस्ता कमजोरी भए समीक्षा जरुर हुन्छ । त्यसपछि गठबन्धनकै सरकार बन्ने देख्छु । अहिलेसम्म सबै नतिजा पनि आइसकेको छैन । त्यतातिर बहस पनि भएको छैन । मेरो मत नै गठबन्धनकै सरकार बन्छ भन्ने हो । मेरो मत भन्ने ठाउँमा भनौँला, यहाँ भन्ने ठाउँ होइन । 

–पार्टीले हारेकोमा नैतिक जिम्मेवारी लिने भन्ने हुन्छ कि हुँदैन ? जसमा पार्टी अध्यक्ष हुनुहुन्छ, महासचिवलगायत अरू पदाधिकारी हुनुहुन्छ, कसैले नैतिक जिम्मेवारी लिने भन्ने हुँदैन ?

पार्टीले हार्‍यो, हामी आफैँ जिम्मेवार हो । हारको समीक्षा गर्ने मुख्य कुरा हो । समीक्षा गरेर कहाँ त्रुटि भयो ? सच्याउनुपर्ने कुरा हो । त्यही त हो जिम्मेवारी लिने भनेको, हैन त ? गल्ती कहाँ भएको छ ? त्यसलाई सच्याउने कुरा नै मुख्य कुरा हो । 

–स्वतन्त्र पार्टीको जुन नतिजा आयो, त्यसमा तपाईंको के धारणा छ ?

मेरो कुनै कमेन्ट छैन । आएको परिणाम स्वीकार गर्ने हो । जनताले मत दिए, जिते । जनप्रतिनिधि भए । ती जनप्रतिनिधिहरूबीच सहकार्य गर्दै अगाडि बढ्ने हो । देशका लागि काम गर्ने हो । देशलाई राम्रो बनाउन सबै लाग्ने हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । अरू रूपमा लिन जरुरी छैन । प्रतिस्पर्धामा जनताबाट निर्वाचित भएर आए सकियो । यसलाई ठूलो रूपमा लिन जरुरी छैन । 

दलीय व्यवस्थाका विरुद्धमा मतभन्दा पनि दललाई नै मत आएको छ । नयाँ दल आए भन्ने कुरा छ । राजनीतिमा नयाँ दलहरू जन्मिराख्छन् । विस्तारै एक्सनमा जाँदा त्यसका सैद्धान्तिक आधारहरू, त्यसका लक्ष्यहरू स्पष्ट हुँदै जान्छन् ।

–तपाईंले हल्का रूपमा टिप्पणी गर्नुभयो । अरूले गम्भीर रूपमा लिएको देखिन्छ । यत्रो दलीय व्यवस्था भएको अवस्थामा यतिका मत कसरी आयो भन्ने छ । त्यसले अस्थिरता पैदा गर्ने भयो भनेर चिन्ता व्यक्त गरिएको छ । फेरि संसद् ५ वर्ष जाँदैन भन्ने आइराखेको छ ? 

यसले दलहरूलाई अवसर दिएको छ । दलहरूले आफ्नो सङ्गठनात्मक क्षेत्रमा, आफ्नो वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, सत्ता सञ्चालनको क्षेत्रमा र जनतासँग सम्बन्ध विकास गर्ने सन्दर्भमा गम्भीर रूपमा सोच्नुपर्छ भन्ने अर्थमा सकारात्मक रूपमा लिएको छु । यो परिणामले दलहरूलाई अवसर दिएको छ । हामीले अवसरको रूपमा लिनुपर्छ । 

–दलीय व्यवस्थाको विरुद्ध यत्रो मत भन्ने रूपमा बुझ्न सकिन्छ होला नि ?

दलीय व्यवस्थाका विरुद्धमा मतभन्दा पनि दललाई नै मत आएको छ । नयाँ दल आए भन्ने कुरा छ । राजनीतिमा नयाँ दलहरू जन्मिराख्छन् । विस्तारै एक्सनमा जाँदा त्यसका सैद्धान्तिक आधारहरू, त्यसका लक्ष्यहरू स्पष्ट हुँदै जान्छन् । त्यसपछि जनताले सरकारात्मक नकारात्मक रूपमा पहिचान गर्ने वातावरण बन्दै जान्छ । राम्रो गर्न दलहरू जन्मिए राम्रै हुन्छ । अहिलेको मुख्य कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हो र समाजवादको आधार तयार गर्ने हो । यी मूल विषयमा जति पनि दलहरू आउँछन् । त्यतातिर जाँदा सकारात्मक नतिजा दिने हो । 

–तपाईंले भनेको मूल कुरामा नयाँ दलहरू कसरी आउलान् र ? 

आज हामीले व्यवहारलाई हेर्नुपर्छ । आज उनीहरू यही व्यवस्था स्वीकार गरेर आएका हुन् । अहिलेको प्रणाली र पद्धति स्वीकार गरेर आएका छन् । भोलि व्यवहारमा कता जान्छ ? पछि देखिने कुरा हो । त्यसका लागि सैद्धान्तिक स्पष्टता चाहिन्छ, त्यो पक्कै भोलि देखिने छ । त्यो आउँदा जनताले विस्तारै बुझ्दै जान्छन् । 

–स्वतन्त्र दलले प्रदेशमा उम्मेदवारी नै दिएनन् । प्रदेशमा भोट नै हालेनन् । हाम्रो संविधानले प्रदेशलाई स्वीकारको हो नि, होइन र ? 

हामी सङ्घीय लोकतन्त्रिक गणतन्त्रकै आधारमा अघि बढ्ने हो । अहिलेको संविधानको रक्षा गर्नु नै मुख्य दायित्व हो । त्यसबाट देशको समृद्धि र विकास गर्नेतिर जाने हो । जनताले यही भनेर भोट दिएका छन् । योभन्दा बाहिर जानेगरी भोट दिएका होइनन् ।  भित्री रूपमा अर्कै सोचेका छन् भने भोलि थाहा हुने छ । 

यो जनताको अधिकारको कुरा हो । हिजो जनता के थिए ? देश जनतारहित थिए । अहिले जनता सार्वभौम छन् । सार्वभौम जनताले निर्वाचित गरे । जनताले प्रयोगशाला बनाए कसको के लाग्छ ? 

–अहिलेका दलहरूको अकर्मण्यताले यो भोट उता गयो भन्न मिल्दैन ?

भोट नआउनुलाई अकर्मण्यता र असक्षम भन्ने हो भने भोटै नहाल्ने व्यवस्था गर्ने हो त ? के एक दलीय व्यवस्था बनाउने हो ? हामीले लोकतान्त्रिक संविधान बनाएको के नराम्रो हो ? एउटा जनआधारित लोकतान्त्रिक व्यवस्था बनाएका छौँ, के नराम्रो हो ? समावेशी समानुपातिक बनाएका छौँ, के नराम्रो हो ? दलित, जनजाति, मुस्लिम लगायत समुदायको अधिकार स्थापित गरेका छौँ, के नराम्रो हो ? हामीले के चाहिँ नराम्रो गर्यौँ ? अब संविधान कार्यान्वयनको चरणमा आइपुग्यौँ । संविधान घोषणापछिको एउटा निर्वाचन सकिएको छ । यसले केही समय लिन्छ । यसभित्र भ्रष्टाचारका कुरा छन् । जनतालाई डेलिभरी दिन नसकिएका कुराहरू छन् । त्यसलाई सुधार गरेर समयानुकूल कानुन बनाएर जानुपर्छ । अब मुख्य कुरा राज्यका संरचनाहरू बलियो बनाउनुपर्ने छ ।   

राज्यका संरचनाहरू लोकतान्त्रिक र बलियो पनि हुनुपर्छ । राज्यका संरचनाहरू लोकतान्त्रिक र बलियो नहुँदा जनतालाई सजिलो र छिटो रूपमा डेलिभरी दिन सकिएको छैन । देशमा सुशासन स्थापित हुन सकेको छैन । हामीले गर्न खोजे पनि बाधा अड्नहरू छन् । त्यस्ता खालका माइन्ड सेटलाई परिवर्तन गरेर पुनर्संरचा गर्नुपर्ने छ । संविधानबमोजिम संरचनाहरू नयाँ बनाउनुपर्ने छ । राज्यको पुनर्संरचन नयाँ ढङ्गले नगरेसम्म र कर्मचारीतन्त्रको नयाँ ढङ्गले पुनर्संरचना नगरेसम्म देशमा सुशासन कायम गर्न सक्दैनौँ । हाम्रो यो प्राथमिकता हो भन्ने स्पष्ट दृष्टिकोण चाहियो । सङ्घीय लोकतान्त्रिक संविधानबमोजिम राज्यको पुनर्संरचना हुन आवश्यक छ । राज्यका संस्थाहरू बलिया नहुँदा समस्याहरू पैदा भएका छन् । अब राज्यका संस्था बलिया बनाउने हो । 

निर्वाचनमा निर्वाचित हुने कुरालाई खतराको घण्टी भनेर भन्न थालेपछि आफ्नो पार्टीबाट निर्वाचित हुँदा मान्ने । यदि नभए नमान्ने भन्ने हुन्छ ? त्यस्तो हुँदैन । 

–यस्ता कुराको सुधार गर्ने भन्दाभन्दै तपाईंहरूको हातैबाट फुत्किएलाजस्तो भइसक्यो । अस्ति भर्खर जन्मेको पार्टीले नै चुनौती दिइसक्यो ? 

जनताले फुत्काइदिइदिए भने जनताको कुरा हो । माओवादीकै हारहारीमा आयो, त्यसलाई स्वागत गर्नुपर्छ । जनताले निर्वाचित गरेर आएको कुरालाई विरोध गरेर अर्थ छ ? यसरी आएको जनमतले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ कि बनाउँदैन भन्ने हो । त्यो भोलि जनताले हेर्ने छ । यो प्रणालीलाई बलियो बनाउनेगरी आए राम्रो भयो । यो प्रणालीलाई भत्काउन आए जनताले गलत भन्ला । यो जनताको अधिकारको कुरा हो । हिजो जनता के थिए ? अहिले जनता सार्वभौम छन् । सार्वभौम जनताले निर्वाचित गरे । जनताले प्रयोगशाला बनाए कसको के लाग्छ ? 

–यस्तो हुनुमा तपाईंहरूकै क्रियाकलापले हो भन्ने छ नि ? 

हाम्रो कारणले हो भने हामीले पनि पाठ सिक्ने कुरा आयो । मैले अघि नै भनिसकेँ । यो दलहरूलाई अवसर हो । 

–यो खतराको घण्टी होइन ? 

निर्वाचनमा निर्वाचित हुने कुरालाई खतराको घण्टी भनेर भन्न हुँदैन l आफ्नो पार्टीबाट निर्वाचित हुँदा मान्ने, नभए नमान्ने भन्ने हुन्छ ? त्यस्तो हुँदैन । 

–माओवादी अब २०६४ सालकै अवस्थामा पुग्न के के सुधार गर्नुपर्छ ? 

हामीले परिवर्तनका एजेन्डा संस्थागत गर्यौँ । ती एजेन्डालाई जनतामा स्थापित गर्न नसक्नु मुख्य कमजोरी भयो । देशमा धेरै ठूलो परिवर्तन भए । यो देशको राजतन्त्रलाई अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यो परम्परागत संसदीय व्यवस्था होइन । समानुपातिक समावेशीसहितको जुन लोकतन्त्र ल्याएका छौँ । जनताका तमाम अधिकार संविधानमा लिपिबद्ध गरेका छौँ । यी मुद्दालाई माओवादीले जनतामा जोडदार रूपमा स्थापित गर्नुपर्ने थियो । त्यो गर्न सकिएन । हाम्रो दोष वा कमजोरी भयो । हामी 'अफेन्सिप' भएर जानुपर्ने थियो । दोस्रो कारण अहिलेको परिवर्तनलाई आधार बनाउँदै अघि जानुपर्नेमा माओवादी टुटफुट र विभाजन भयो । माओवादी आफैँ टुटफुट र विभाजन भएर गयो । म बाहिरिया शक्तिलाई दोष दिन चाहन्नँ । 

हामीले विभाजित भएका पार्टीलाई एकतामा ल्याउन धेरै प्रयत्न गर्यौँ । धेरै साथीहरूलाई एकतामा ल्याइयो । माओवादीले ल्याएको एजेन्डालाई जुन जोस र ऊर्जाका साथ जनतामा स्थापित गर्नुपर्ने थियो, सकिएन । अर्को कारण पार्टी संरचनालाई स्थायी रूपमा बलियो बनाउन सकिएन । पार्टी तलदेखि माथिसम्म निर्वाचित गरेर जसरी सुदृढ बनाउनुपर्ने हो, त्यो बनाउन सकिएन । आजका जनताका एजेन्डा के हुन् भन्नेमा पार्टीलाई बदल्नुपर्ने थियो । हामीले हिजो जनयुद्ध लड्यौँ भनेर मात्रै पुग्दैन थियो । आज जनताका एजेन्डा के हुन् ? आज जनताले के चाहेका छन् ? आजका युवाको एजेन्डा के हो भन्ने विषयलाई सम्बोधन गरेर जाने आँट गर्नुपर्ने थियो, जान सकिएनँ । 

आजको युग प्रविधिमा आधारित हो । प्रविधिलाई प्रयोग गर्न सक्ने र प्रविधिलाई सञ्चालन गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक छ ।   माओवादी पार्टी विस्तारै रूढिवादी पार्टीजस्तै हुन पुग्यो । जनतासँग जनसम्बन्ध कायम गर्नुपर्नेमा सबै पेरिसडाँडामा केन्द्रित हुने भयो । यी सबै कमजोरी कारण आज माओवादी पार्टी ओरालो लागिराखेको छ ।

बाबुरामसँग मैले कुरा गरेको थिएँ । अध्यक्ष कमरेड प्रचण्डले पनि कुरा गर्नुभयो । अब एउटा नयाँ पार्टी बनाएर जाने कुरा भएको छ । माधव कमरेडलगायत अन्य कम्युनिस्ट घटकहरूसँग कुरा भएका छन् । एमालेबाहेक कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने कुरा भएका छन् ।

 हामीले हिजो उठाएका एजेन्डा सबैभन्दा माथि उचाइमा छन् । यी एजेन्डालाई समय सुहाउँदो, युग सुहाउँदो एजेन्डा बनाएर अघि बढ्नुपर्छ । यस्तै देशमा सुशासन कायम गर्नुका साथै जनतालाई डेलिभरी दिने कुरामा माओवादीले सक्षमता प्रदर्शन गर्न सक्नुपर्ने छ । त्यसमा माओवादी शक्तिले मात्रै गर्न सक्छ भन्ने छ । यी सबै कुरालाई ध्यान दिएर अघि बढेमा माओवादी पार्टी फेरि सशक्त भएर आउने सम्भावना छ  । 

–यी तपाईंले भनेका एजेन्डा अहिलेको नेतृत्वबाट के सम्भव छ ? 

 यो व्यक्ति विशेषको कुरा होइन । हामीले मात्रै सम्भव छ भन्दिनँ । अहिलेको नयाँ पुस्तालाई समेत समावेश गर्नुपर्छ । हामीलाई मात्रै समेटेर नेतृत्व गर्नुपर्छ भन्यौँ भने गलत हुन्छ । अहिलेका नयाँ पुस्तालाई समेट्दै 'रिफर्म' गर्नुपर्छ । अब माओवादी आन्दोलनको 'रिफर्म' गर्ने बेला भयो । नेतृत्वको प्रश्न विचारले निर्धारण गर्ने कुरा हो ।  वैचारिक रूपमा कता लग्ने भन्ने मुख्य कुरा हो । नेतृत्वलाई हटाएर नयाँलाई ल्याएर हुने भन्ने होइन । पुरानाले मात्रै हुन्छ भन्ने पनि होइन । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई 'रिफर्म' गर्नुपर्‍यो । माओवादीको पुनर्संरचना गर्नुपर्‍यो । आजका एजेन्डासँग तालमेल गर्ने पार्टी बनाउनु पर्‍यो । नेतृत्वले त्यो आँट गरेपछि माओवादी पार्टी बन्छ । 

–मैले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत शक्तिहरूसँग एकताको कुरा गर्न खोजेको हो ।

चुनावअघि छलफल भएको हो । यी सबै पार्टीसँग एक भएर जाने कुरा भएको छ । बाबुरामसँग मैले कुरा गरेको थिएँ । अध्यक्ष कमरेड प्रचण्डले पनि कुरा गर्नुभयो । अब एउटा नयाँ पार्टी बनाएर जाने कुरा भएको छ । माधव कमरेडलगायत अन्य कम्युनिस्ट घटकहरूसँग कुरा भएका छन् । एमालेबाहेक कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने कुरा भएका छन् । एमालेसँग एकता गरेर सफल नभएको तपाईंलाई थाहा छ । एमालेसँग तत्काल पार्टी एकता गर्ने कुरा भएको छैन । भोलि कुनै दिन एमाले सहभागी हुन सक्छ । अब चुनाव बहिष्कार गरेका पार्टीहरूलाई पनि एकतामा ल्याउन सकिन्छ भन्ने छ । त्यसमा हामीले प्रयत्न गर्नेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप