शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

बुधबार, १४ मङ्सिर २०७९, १२ : २१
बुधबार, १४ मङ्सिर २०७९

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाट खोलामा पहिलो पटक नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ ।  विगत एक दशकदेखि सडक आश्रित व्यक्तिलाई  उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । 

विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बृद्ध​ बृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न  आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं १ का संयोजक नवराज केसीले जानकारी दिए । आश्रमका लागि  आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको  उनले बताए  । 

उक्त आश्रममा  हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा  विराटनगरको उक्त आश्रममा भने ९० पुरुष, ६५ महिला र पाँच  बालबालिका गरी एक सय ६० आश्रित छन्। 

मानव सेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको  उक्त कन्सर्ट वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनकुटा, सुर्खेत, पोखरा तथा काठमाडौंलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ ।    

फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो  छुट्टै पहिचान  बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरण भइरहेको आश्रमका अभिभावक प्रवीण खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप