बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीमा समानुपातिक मतको ट्रेन्ड : साना तीन दलबाहेक सबैको मतमा ‘घण्टी’ले लगायो कैंची

बुधबार, १४ मङ्सिर २०७९, १२ : ५७
बुधबार, १४ मङ्सिर २०७९

आम निर्वाचन २०७९ मा प्रदेशसभातर्फ सहभागी नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभातर्फको समानुपातिकमा पछिल्लो विवरण अनुसार दुई लाख २० हजार १३९ मत पाएको छ ।​ प्रदेशसभा निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नभएका कारण ठुला दलले समानुपातिकतर्फ परम्परागत प्रतिस्पर्धी पाए।  तर प्रतिनिधिसभातर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टीकै उपस्थितिका ती दलले प्रदेशसभाको समानुपातिकतर्फको मतको तुलनामा कम मत पाएका छन् ।

लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फको मतको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा तीन दलबाहेक सबैजसो दलको मत कम देखिएको छ । लोसपा नेपाल र नेपाली जनता दलबाहेक सबैजसो दलले प्रदेशसभामा प्राप्त गरेको समानुपातिक मतको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ कम मत पाएका हुन् । तर लोसपा नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपाली जनता दलले भने प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा मत बढाएका छन्, जसले गर्दा यी तीन दललाई ‘घण्टी’ चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले प्रतिनिधिसभातर्फ खासै असर नपरेको देखिन्छ ।

लोसपा नेपालले लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फ ३७ हजार ६३१ मत पाएको छ भने प्रतिनिधिसभातर्फको समानुपातिकमा ४६ हजार ३११ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले लुम्बिनी प्रदेशसभातर्फ समानुपातिकमा एक हजार ६५९ मत पाउँदा प्रतिनिधिसभातर्फको समानुपातिकमा उक्त मतमा समेत बृद्धि गराउँदै एक हजार ९९३ मत पाएको छ ।

यस्तै, नेपाली जनता दलले प्रदेशसभाको समानुपातिकतर्फ एक हजार ४१९ मत पाएकोमा प्रतिनिधिसभातर्फ एक हजार ५५३ मत पाएको छ । बाँकी सबैजसो दलले प्रदेशसभाको समानुपातिकतर्फ प्राप्त गरेको मतको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ प्राप्त गरेको मत कम छ । जसका कारण उनीहरुलाई ‘घण्टी’ को उपस्थिति भारी परेको अनुमान गर्न सकिन्छ ।

ठुला दललाई ठुलै धक्का

लुम्बिनी प्रदेशमा प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमालेले सर्वाधिक मत पाएको छ । एमालेले प्रदेशसभाको समानुपातिकतर्फ ५ लाख ७० हजार ९२१ र प्रतिनिधिसभाको समानुपातिकतर्फ ५ लाख १९ हजार ८०७ मत पाएको छ ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ५१ हजार ११४ मत कम पाएको छ । एमालेले प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा कम मत पाउनुको मुख्य कारणका रुपमा ‘घण्टी’ कै जबर्जस्त उपस्थितिलाई लिन सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फको समानुपातिकमा सबैभन्दा धेरै एमालेकै भोटमा ‘कैंची’ लगाएको आकलन गर्न सकिन्छ ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा प्रदेशसभातर्फको समानुपातिकमा ४ लाख ९९ हजार ९८६ मत पाएको छ भने प्रतिनिधिसभातर्फको समानुपातिकमा ४ लाख ७८ हजार ३९२ मत पाएको छ । कांग्रेसले प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा २१ हजार ५९४ मत कम पाएको हो ।

यस्तै, प्रदेशसभातर्फको समानुपातिकमा माओवादी केन्द्र १ लाख ९८ हजार ४५० मतसहित तेस्रो स्थानमा छ । माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख ८४ हजार २५० मत पाएको छ । प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा माओवादी केन्द्रले १४ हजार २०० मत कम पाएको छ । यस कारण माओवादी केन्द्रको केही मतसमेत राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फको समानुपातिकमा काटेको अनुमान गर्न सकिन्छ ।

यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ एक लाख २७ हजार ४५२ मत पाएको राप्रपाले प्रतिनिधिसभाको समानुपातिकमा एक लाख १३ हजार ३३३ मतमात्र पाएको छ । प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा राप्रपाको मत १४ हजार ११९ कम हो ।

नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फ एक लाख २५ हजार ५२१ मत पाउँदा सोही प्रदेशबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ एक लाख १५ हजार ६१४ मतमात्र पाएको छ । प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभाको समानुपातिकतर्फ यो दलको मत ९ हजार ९०७ ले कमी हो ।

जनमत पार्टीले पनि प्रदेशसभातर्फको समानुपातिकमा पाएको मतलाई प्रतिनिधिसभातर्फ जोगाउन नसकेको देखिन्छ । सो पार्टीले प्रदेशसभाको समानुपातिकमा ८१ हजार ६०५ मत पाउँदा प्रतिनिधिसभाको समानुपातिकमा ७१ हजार ८९७ मत पाएको छ । प्रदेशसभाको तुलनामा यो पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा ९ हजार ७०८ मत कम पाएको हो ।

यसैगरी जसपा नेपालले लुम्बिनी प्रदेशसभाको समानुपातिकमा ६० हजार ८८६ मत पाउँदा प्रतिनिधिसभाको समानुपातिकमा ५५ हजार ६९३ मत पाएको छ । अर्थात् यो पार्टीले प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा ५ हजार १९३ मत कम पाएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको समानुपातिकमा ४२ हजार ६२१ मत पाउँदा प्रतिनिधिसभाको समानुपातिकमा २६ हजार ८३२ मत कम पाएको छ । नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा १५ हजार ७८९ मत कम पाएको हो ।

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशसभाको समानुपातिकमा ३२ हजार ६४७ मत पाउँदा प्रतिनिधिसभामा ८ हजार ६०२ कम अर्थात् २४ हजार ४५ मतमात्र पाएको छ ।

साना दलले पनि जोगाउन सकेनन् मत

लुम्बिनी प्रदेशमा अन्य साना दलले पनि प्रदेशसभाको समानुपातिकतर्फ पाएको मतलाई प्रतिनिधिसभाको समानुपातिकमा जोगाउन नसकेको देखिन्छ ।

हाम्रो नेपाली पार्टीले प्रदेशसभातर्फ समानुपातिकमा २७ हजार ७०४ मत पाएकोमा प्रतिनिधिसभातर्फको समानुपातिकमा १० हजार एक मतमात्र पाएको छ । यो पार्टीले प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा १७ हजार ७०३ मत कम पाएको छ ।

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेशसभाको समानुपातिकमा १७ हजार ८६७ मत पाउँदा प्रतिनिधिसभातर्फको समानुपातिकमा १२ हजार ९०८ मत पाएको छ । यो पार्टीले प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा ४ हजार ९५९ मत कम पाएको छ ।

प्रदेशसभाको समानुपातिकमा १५ हजार १०९ मत पाएको जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा १३ हजार २५३ मतमात्र पाएको छ । प्रदेशसभाको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा यो दलको मत एक हजार ८५६ ले कम हो ।

यसैगरी प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा कम मत पाउने दलमा मंगोल नेशनल अर्गनाइजेसन पनि छ । यो पार्टीले प्रदेशसभाको समानुपातिकमा ११ हजार ८६७ मत पाएकोमा प्रतिनिधिसभाको समानुपातिकमा २ हजार ५५७ कम अर्थात् ९ हजार ३१० मत पाएको छ ।

नेकपा मालेले प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा एक हजार ५३६ मत कम पाएको छ भने बहुजन शक्ति पार्टीले ५६१, राप्रपा नेपालले एक हजार १७२, बच्चा काखमा लिएकी आमा एकल चुनाव चिह्नले २ हजार २, नेपाल संघीय समाजवादी पार्टीले २२८ मत कम पाएको देखिन्छ ।

माथि उल्लेखित दलहरुकै मत मूल्याङ्कन गर्दा प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा ती दलले पाएको कम मतको समग्र हिसाब एक लाख ८० हजार ७९८ पुग्छ । यस अतिरिक्त पनि नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी), जनसमाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायतका दलले पनि प्रदेशसभाको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा मत कम पाएका छन् । जसले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई लाख २० हजार मत कटाएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप