समानुपातिकमा पहिलो बनेको एमाले समग्रमा पहिलो कि दोस्रो ?
मंसिर ४ को मतदान गर्ने ठिक केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए– ‘रेकर्ड गरेर राख्नुस् र बजाउनुस् एमालेले प्रत्यक्षतर्फ सय सिट र समानुपातिकतर्फ ५० सिट ल्याउँछ ।’ तर ओलीले यसो भनेको १५ दिन नबित्दै निर्वाचन नतिजा ठिक उनको भनाइ विपरीत आयो । अर्थात् नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जित्यो भने समानुपातिकतर्फको टुङ्गो नलागिसकेपनि ३५ सिट आसपास जित्ने पक्का भएको छ ।
यो हिसाबमा हेर्दा एमालेले ८० सिट आसपास जित्ने देखिन्छ । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ नै ८० सिट र समानुपातिकतर्फ ४१ सिट जितेको एमालेलाई यो पटक दुवैतर्फ गरेर झण्डै ४० सिट घाटा लागेको छ । एमाले र माओवादी लगायतका दल सिट सङ्ख्यामा खुम्चन पुग्दा नयाँ बनेको रास्वपा र राप्रपाजस्ता राजनीतिक दलहरूले संसद्‌मा शानदार प्रवेश पाउने भएका छन् ।
प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले ५४ सिट जितेको छ भने १ क्षेत्रको मत गणनामा कांग्रेस अघि छ । यो समेत जोड्दा कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिट जित्ने देखिन्छ । दोस्रोमा नेकपा एमालेले ४४ सिट जितेको छ । मिश्रित निर्वाचन प्रणालीअन्तर्गत प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने हुँदा २७५ जनाको प्रतिनिधि सभा गठन हुन्छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मत गणना समेत अन्तिम अवस्थामा पुगेको छ । समानुपातिकतर्फ कांग्रेसले ल्याएको भन्दा एमालेले ल्याएको मत बढी छ । यही मतलाई आधार बनाएर नेकपा एमालेले आफू पहिलो दल बनेको दाबी गर्न थालेको छ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता सुवासचन्द्र नेम्वाङले लोकप्रिय मतमा एमाले एक नम्बर पार्टी भएको दाबी गर्छन् । ‘प्रत्यक्षतर्फ एक दुई सिटमा कांग्रेस बढी देखिएको छ, प्रत्यक्षमा हामी दोस्रो भएको पक्का हो । तर प्रत्यक्षतर्फ कांग्रेसले जितेको सिटमा गठबन्धनका अरू पार्टीको पनि मत छ’, नेम्वाङको भनाइ छ, ‘त्यो अर्थमा एमाले पहिलो पार्टी बनेको छ ।’
नेता नेम्वाङले सत्ता गठबन्धनले एमालेविरुद्ध गरेको निषेधको राजनीति र घेराबन्दी निर्वाचनमार्फत तोड्न सफल भएको पनि बताए । ‘निषेध र घेराबन्दीको अवस्थामा हामीले जुन परिणाम ल्यायौ र लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्यौ यसमा कुनै विवाद छैन’, नेम्वाङले पार्टीले ल्याएको मत विश्लेषण गर्दै भने, ‘समानुपातिक मत भनेको पार्टीको चोखो मत हो, किनभने त्यसमा अरू पार्टीले भोट हाल्दैनन् आफ्नो पार्टीको मात्रै भोट हुन्छ । त्यस्तो भोट पाउनेमा हामी एक नम्बर छौ कांग्रेस दोस्रो छ ।’
उनले प्रत्यक्षतर्फ एक दुई सिटमा कांग्रेस बढी देखिए पनि त्यो स्थान अन्य दलको समेत भोट पाएर आएको बताए । ‘प्रत्यक्षतर्फ हामी दोस्रो भएको पक्का हो । तर प्रत्यक्षतर्फको सिटमा गठबन्धनमा रहेका अरू पार्टीको पनि मत हुन्छ त्यो अर्थमा एमाले पहिलो पार्टी भनेर मैले भनेको हो’, नेता नेम्वाङको दाबी छ ।
निर्वाचन परिणामले समग्रमा एमाले दोस्रो पार्टी भए पनि मिश्रित निर्वाचन प्रणालीका कारण एउटा प्रणालीअन्तर्गतको नतिजामा कांग्रेस पहिलो र अर्को निर्वाचन प्रणाली अन्तर्गत एमाले पहिलो भएकाले एउटै दललाई पहिलो भन्न नमिल्ने एमाले नेताहरूको तर्क छ ।
‘एउटामा कांग्रेस अगाडी, अर्कोमा हामी अगाडी भएपछि कसलाई अगाडि भन्नुहुन्छ ?’, नेता नेम्वाङको प्रश्न छ । यही प्रश्न र मतका आधारमा नेकपा एमालेले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कसरत समेत थालेको छ । त्यसका लागि सो पार्टीका नेताहरूले अनौपचारिक रूपमा दलहरूसँग छलफल थालेको छ । सोही कारण एमाले उपाध्यक्ष नेम्वाङ विश्वकप फुटबल हेर्न कतार जाने पूर्वनिर्धारित कार्यक्रम नै रद्द गर्न पुगेका छन् ।
‘सिट प्राप्त गर्ने हिसाबले कांग्रेस पहिलो भएकाले सरकार बनाउन हामी पहल गर्छौ भनेर कांग्रेसले भन्ला । लोकप्रिय मतका आधारमा हामी पहिलो हौ, हामी पहल गर्छौ भनेर एमाले वा एमालेका साथीहरूले पनि भन्नुहोला’, नेम्वाङको कूटनीतिक जवाफ छ ।
तर, नेम्वाङ आफूहरू अन्य दलका नेताहरूसँग छलफलमै रहेको भने स्वीकार गरे । ‘पुर्णरुपमा निर्वाचन परिणाम आइसकेको छैन अन्तिमतिर पुगेको छ । हामी निर्वाचन आयोगसँग पनि सम्पर्कमा छौ र चाँडो पुरा गर्नुस् भनिरहेका छौ’, उनले भने, ‘सँगसँगै अनौपचारिक भलाकुसारी पनि गरिरहेका छौँ । यो सन्दर्भमा म इलामबाट सोमबार काठमाडौँ आएको हुँ’, उनले एकअर्कामा छलफल गरेर निष्कर्षमा पुग्ने भन्दै सरकारको दाबी गर्ने आधार प्रस्तुत गरे ।
‘हामीले त ठुलो इस्यु उठाएका छौ । को पहिलो भन्नेमा विवाद होला तर मैले दाबी गर्ने आधार देखाएँ । त्यो आधार प्राप्त हुने स्थिति बनाइदिएको जनताले हो । एमालेलाई धुलो चटाउनुपर्छ र पेट्रोलम्याक्स बालेर खोज्दा पनि फेला नपर्ने बनाइदिन्छौ भन्ने कुरालाई त जनताले मानेनन्, अस्वीकार गरिदिए’, नेम्वाङको भनाइ छ ।
साथै एमालेले आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको अवस्थामा अन्य दलको नेतृत्वमा समेत सरकारमा जाने सम्भावना कायमै रहेको जनाएको छ । अरू दल वा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा एमाले जान्छ ? भन्ने प्रश्नमा नेम्वाङ त्यसलाई सम्भावनाको खेल भन्छन् ।
‘अहिले. यो, उ भन्ने कुरा छैन तर राजनीति सम्भावनाको खेल हो र त्यो सबै सबै सम्भावना हुन्छ’, वामपन्थीहरू मिलेर सरकार बनाउनुपर्छ भन्ने आवाज उठे पनि कुनै टुङ्गोमा पुगिनसकेको नेम्वाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ