बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघद्वारा पत्रकार राईको रिहाइ गर्न माग

बुधबार, १४ मङ्सिर २०७९, १३ : ५९
बुधबार, १४ मङ्सिर २०७९

नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना सर्त रिहाइको माग गरेको छ । समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइमअन्तर्गतको मुद्दा चलाइएकोमा आपत्ति जनाउँदै महासंघले सो मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गरेको हो । 

महासंघका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक रहेको बताएका छन् । ‘समाचार लेखेको विषयमा पत्रकार राईविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ ।

यो आफैंमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइबर अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक छ,’ अध्यक्ष खत्रीले भने, ‘समाजको विकृति, विसंगति, भ्रष्टाचार, अपराधविरुद्ध निगरानी राख्न र आवाज बुलन्द गराउनु सञ्चार जगतको प्रमुख दायित्व हो । राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गर्दछौँ ।’ 

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानी पोष्ट डटकमका सञ्चालक राईलाई प्रहरीले १० मंसिरमा गाईघाटबाट पक्राउ गरेको थियो । उनलाई निगरानी पोष्टमा प्रकाशित भिडियोको विषयलाई लिएर प्रहरीले बिना पक्राउ पुर्जी पक्राउ गरेको महासंघले जनाएको छ । हाल उनलाई साइबर व्युरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ । 

नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार राईको रिहाइको माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिल नेपालले मंगलबार काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने मुद्दामा प्रहरीले कारबाही चलाउनु कानुन विपरीत भएको जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप