बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी भेट्ने नेम्वाङको चाहना अधुरै

बुधबार, १४ मङ्सिर २०७९, १४ : ३३
बुधबार, १४ मङ्सिर २०७९

फुटबल खेलसँगै अर्जेन्टिना र लियोनेल मेस्सीका फ्यान हुन् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ । उनी मेस्सीले खेल्ने हरेक खेल हेर्न छुटाउँदैनन् । 

उनी उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर–२ को मतगणना चलिरहँदा नेम्वाङ भने विश्वकपमा मेस्सीको खेल हेर्न व्यस्त थिए । राति विश्वकपमा मेस्सीको गोलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, बिहान नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछिको पहिलो भाषणमा नेम्वाङले मेस्सी र आफूसँगै जितेकोमा खुसी व्यक्त गरेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता नेम्वाङ चुनावी चहलपहलकै बीचमा मंगलबार विश्वकप फुटबल हेर्न कतार जाने तयारीमा थिए । सोही तयारी अनुसार नेम्वाङ सोमबार इलामबाट काठमाडौँ पनि आए । तर काठमाडौँ ओर्लिएसँगै उनको कतार यात्रा रोकियो । कारण थियो, नेपालको तरल राजनीति । 

भर्खरै सकिएको आम निर्वाचन र त्यसको परिणामले कुनै पनि दललाई बहुमत दिएन । कुनै एक दलले बहुमत नपाएसँगै नयाँ सरकार कसले र कसरी बनाउने भन्ने अनिश्चित जस्तै छ । यही अनिश्चितताकाबीच नेकपा एमालेले पनि सरकारमा दाबी गर्ने तयारी गरेको छ । त्यसको संकेत नेम्वाङले रातोपाटीसँगको कुराकानीमा गरेका छन् ।  

‘मलाई फुटबल खुब मनपर्छ । अहिले विश्वकप फुटबल कतारमा भइरहेको छ । त्यसमा अर्जेन्टिना र मेस्सीका कारण म आकर्षित हुने नै भएँ । त्यही भएर अर्जेन्टिना र मेस्सीको खेल हेर्न मंगलबार बेलुका कतार जाने मेरो कार्यक्रम थियो । तर देशको स्थिति र मैले तुरुन्तै फर्केर इलामका मतदाताहरुलाई धन्यवाद दिन जानुपर्ने भएकाले पूर्व निर्धारित कार्यक्रम रद्द गरे’, नेम्वाङले भने, ‘त्यही कारण यसपटक टेलिभिजनबाटै हेर्नेमा पुगेको छु ।’

विश्वकपमा समूह सी अन्तरगत पोल्याण्ड र अर्जेन्टिनाबीचको खेल बुधबार राति हुँदैछ । आजको खेलबाट अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्छ कि गर्दैन भन्ने टुंगो लाग्नेछ । 

नेम्वाङले पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार आफू कतार गएको भए त्यहाँ मेस्सीलाई प्रत्यक्ष भेटघाट समेत हुने सम्भावना भएको सुनाए । तर त्यो सम्भावना अहिले टरेको उनको भनाई छ । ‘जहाँनेर मेरा लागि ठाउँ बुक भएको थियो, त्यहाँ मेसी पनि आउँने भन्ने थियो, तर म आफै नगएपछि च्याप्टर नै क्लोज भैगयो’, नेम्वाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप