शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा किन घट्यो विष्णु पौडेलको लोकप्रियता ?

बुधबार, १४ मङ्सिर २०७९, १४ : ५२
बुधबार, १४ मङ्सिर २०७९

रुपन्देही क्षेत्र नं. २ मा लगातार चार पटक प्रतिनिधिसभाको निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई यो चौथो निर्वाचन जित्न निकै सकस भयो । ०७४ सालको निर्वाचनमा ४४ हजार ३ सय मतसहित निर्वाचन जितेका पौडेलले अहिले २७ हजार १४७ मतमा खुम्चिए ।

यसअघि लगातार तीन पटक सहजै जित हासिल गरेका पौडेललाई यो निर्वाचन जित्न निकै कठिन भयो । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २५ हजार ७८१ मत ल्याए । जम्मा एक हजार ३६६ मतान्तरले विष्णु पौडेलले चुनाव जिते ।

अघिल्लो निर्वाचनमा पौडेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत ल्याउँदा पौडेलले ४४ हजार ३ सय मत प्राप्त गरेका थिए । त्यतिबेलाको मतान्तर २२ हजार ९२७ थियो । यो पटक पौडेलको मत किन कम आयो र झण्डै पराजित हुनपर्ने जोखिम किन आयो भन्नेबारे राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

लोकप्रियता घटेकै हो ?

गत सोमबार विष्णु पौडेलले बुटवलमा पत्रकार सम्मेलन गरे । पत्रकारलाई बोलाएर आम मतदाता र पत्रकारलाई समेत उनले धन्यवाद दिए । तर निर्वाचन अघिजस्तो सधैँ हाँसिरहने, मुस्कुराइरहने पौडेलको अनुहारमा त्यो चमक थिएन । एकजना पत्रकारले उनलाई प्रश्न गरे, ‘तपाई अघिल्लो चुनावमा ४४ हजार मत ल्याएको उम्मेदवार, अहिले २७ हजारमा किन सीमित हुनुभयो ? बुटवलमा तपाईको लोकप्रयिता घटेको होइन र ?’

यो प्रश्नको स्पष्ट जवाफ पौडेलले दिएनन् । बरु यो चुनावबारे पत्रकारहरुकै समीक्षा आफूले पढ्ने चाहना राखेको बताए । आफू प्रतिस्पर्धी भएकाले आफैले टिप्पणी गर्न उपयुक्त नहुने जवाफ उनले दिए । उनी कम बोले र छोटो समयमै पत्रकारहरूसँग बिदा भए ।

पौडेलले अहिले प्राप्त गरेको मत र कठिनपूर्ण जितको कारण एमालेभित्रकै एक समूहले उनलाई असहयोग गरेको चर्चा छ । लुम्बिनी प्रदेशमा साढे तीन वर्ष मुख्यमन्त्री भएर बुटवल बसेका एमाले महासचिव शंकर पोखरेल पक्षका नेता कार्यकर्ताले पौडेललाई बुटवलमा सहयोग नगरेको भित्री चर्चा छ । एमाले प्रदेश कमिटीका एक नेताले भने, ‘विष्णु पौडेललाई पार्टीको एक समूहले सहयोग गरेन, अर्को कुरा, कार्यकर्तामा चुनाव जितिन्छ भन्ने ओभर कन्फिडेन्टले पनि काम गरेको हो ।’

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ लैजाने विषयमा पौडेल र शंकर पोखरेलबीच केही समय आन्तरिक द्वन्द्व भएकाले पनि पोखरेल समूहले उनलाई सहयोग नगरेको ती नेताले बताए । अर्कोतर्फ तत्कालीन वाम गठबन्धनको सरकारमा विष्णु पौडेलले अर्थमन्त्री पाउने लोभमा बुटवल राजधानी राख्ने अडानबाट पछि हटेको भन्दै उनकै कतिपय नेता कार्यकर्ता पनि रुष्ट थिए, जसको परिणाम भोट संख्याले देखाइदियो ।

पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि पौडेलको जित सहज ठानिएको थियो । तर उनलाई स्वतन्त्र दलका उम्मेदवारबाट जोगिन सकस भयो । यस्तो हुनुमा पौडेलको लोकप्रियता खस्किएको र नयाँ अनुहारको प्रतीक्षामा मतदाता रहेको आकलन गरिएको छ ।

आम युवा वर्गका मतदाताले स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट हाले । पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापा (सुर्यवंशी) लाई समर्थन गरेको थियो । तर गठबन्धन दलका धेरै मतदाताले स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट हाले । जसले गर्दा ६ महिनाअघि उदाएको स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउन एमालेका पौडेललाई धौधौ भयो ।

पार्टी भित्रका अन्तरविरोध व्यवस्थापन गर्न नसकेको, बुटवलबाट राजधानी सर्दा अडान लिन नसकेको, पार्टीमा युवा लक्षित कार्यक्रमहरू ल्याउन नसकेको आदि कारणले पौडेलको लोकप्रियता खस्केको धेरैको बुझाइ छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पौडेलको भोट कम आउनुका कारणहरुबारे समीक्षा गरेर अघि बढ्ने बताएका छन् । विशेष गरेर क्षेत्र नं. २ मा पर्ने तिलोत्तमा नगरपालिकाका ६ वटा वडाबाट धेरै भोट पार्टीलाई नभई स्वतन्त्र पार्टीमा गएकाले त्यसको समीक्षा गरिने केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप