शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जियाङ जेमिन : जसले चीनको उच्च आर्थिक वृद्धिको राजमार्ग तयार पारे

बुधबार, १४ मङ्सिर २०७९, १६ : ५१
बुधबार, १४ मङ्सिर २०७९

एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको आज (नोभेम्बर ३० मा) ९६ वर्षको उमेरमा निधन भएको छ । परिवारमा श्रीमती, दुई छोरा र दुई नातिनातिना रहेका जियाङको रक्त क्यान्सर र त्यसका कारण उत्पन्न मल्टिपल अग्र्यान फेलर(धेरै अंगले काम नगर्ने स्थिति)को कारण मृत्यु भएको जानकारी दिइएको छ ।

जियाङको निधनको घोषणा चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न शीर्ष निकायले एकै पटक गरे । सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति हुँदा जेमिनले चीनलाई वैश्विक महाशक्तिको मार्गमा अघि बढाउन सघाएको जस दिइन्छ ।

हङकङको चीनमा फिर्ती, सन् २००८ मा ओलम्पिक आयोजना स्थलका रूपमा बेइजिङको चयन र विश्व व्यापारमा चीनको प्रवेशलाई जेमिनको कार्यकाल हासिल भएका महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । यीमध्ये पनि विश्व व्यापार संगठनमा चीनको सदस्यताले दूरगामी असर रहेको विश्वास गरिन्छ ।

‘विश्व व्यापार केन्द्रमा चीनको प्रवेशपछि ऊ विश्व बजारमा समाहित हुने बाटो खुल्यो । त्यसले आगामी दस वर्षसम्मको चीनको दोहोरो अंकको आर्थिक वृद्धिलाई प्रेरित ग¥यो,’ जेमिनका जीवनीकार रोबर्ट लरेन्सको विश्लेषण छ । लरेन्सले सन् २००५ ‘ द म्यान हु चेन्ज्ड चाइनाः द लाईफ एण्ड लेग्यासी अफ जियाङ जेमिन’ नामक जेमिनको जीवनी लेखेका थिए ।

‘२१ औँ शताब्दीका दुई दशक चीनले हासिल गरेको तीव्र आर्थिक वृद्धिको जग जेमिनकै शासनकालमा हालिएको थियो । पछिकाले त्यसलाई उल्टाउन सकेनन्,’ लरेन्सले भने । तर विश्लेषकहरू जेमिनको शासनकालमा चीनमा गहिरो गरी भ्रष्टाचारको बिउ रोपिएको मान्छन्, जुन आजको दिनसम्म सो मुलुकको प्रमुख समस्या रहँदै आएको छ ।

सुरुमा अन्तरिमकालीन नेताका रूपमा हेरिएका जेमिनलाई तत्कालीन सर्वोच्च नेता देङ सियाओपिङ आफैले पार्टी नेतामा चुनेका थिए । विशेषतः सन् १९८९ मा तियानमेन चोकमा प्रजातन्त्रको माग गर्ने प्रदर्शनकारीमाथि दमन भएपछि तत्कालीन पार्टी प्रमुख झओ जियाङलाई हटाएर जियाङ जेमिनलाई ल्याइएको थियो ।

‘जियाङको व्यक्ति विरोधाभाषी देखिन्छ र उनी घटना विशेषको कारण उदाएका नेता थिए,’ न्युयोर्कमा बसेर चिनियाँ भाषी पुस्तक प्रकाशन गर्ने पिन होले भने, ‘उनमा पश्चिमी संस्कृतिप्रति सम्मान त थियो तर उनले देङको शासनलाई विस्तार गरेर कम्युनिस्ट शासनलाई सबल बनाउने काम गरे ।’

जेमिनले कार्यान्वयन गरेका देङका नीतिले चीनमा आर्थिक उदारिकरण र भूमण्डलिकरणलाई थप विस्तार गर्यो । तर साथमा आर्थिक खाडल बढाउँदै लग्यो । आर्थिक वृद्धिपछि चिनियाँ कम्युनिस्ट पार्टी सबल भयो । ।

सुरुमा सङ्क्रमणकालीन नेता ठानिएका जेमिन कालान्तरमा धेरैले अपेक्षा गरेभन्दा चतुर नेता प्रमाणित भए । उनले सन् १९९७ मा देङको मृत्युपछि पार्टीभित्र कयौँ राजनीतिक प्रतिद्वन्द्वीलाई उछिनेर पार्टी र सेनामाथिको पकड बलियो बनाउन सफल भएका थिए ।

जियाङले आफ्नो शासनकालमा पार्टी तथा सरकारका महत्त्वपूर्ण पदमा आफू नजिकका नेता तथा राजनीतिक चेलाहरुलाई भर्ती गरेका थिए । पछि जेमिन निकट नेताहरूलाई संयुक्त रूपमा ‘सांघाइ गुट’ भन्न थालियो । (जेमिनको शासनदेखि चिनियाँ कम्युनिस्ट पार्टीभित्र अनौपचारिक रूपमा सांघाई गुट र योङ कम्युनिस्ट लिग गुट गरी दुई गुट छन् ।)

जियाङले कम्युनिस्ट पार्टीमा निजी व्यवसायीलाई कम्युनिस्ट पार्टीको शीर्ष तहमा भित्र्याउने बाटो खुलाइदिएका थिए । सन् २००१ मा पार्टी नेताबाट अवकाश लिनुअघि जियाङले व्यवसायीलाई पनि सदस्य बनाउने घोषणा गरे, जुन घोषणाले चीनको निजी क्षेत्रको विकासमा बल प्रदान गरेको मान्ने धेरै छन् ।

सन् २००२ को अन्तिमबाट जियाङले उनका उत्तराधिकारी हु जिनताओलाई आफ्ना अधिकारहरु हस्तान्तरण गर्न सुरु गरे । तर हु राष्ट्रपति भइसकेपछि पनि सन् २००५ सम्म उनले सेना प्रमुखको पद भने छाडेका थिएनन् । साथै अवकासपछि पनि उनले पर्दापछाडिबाट पार्टीभित्र राजनीतिक प्रभाव कायम राखेका थिए ।

वर्तमान राष्ट्रपति सी जिनपिङको चयनमा पनि जेमिनको प्रभाव रहेको मानिन्छ । तर कुनै समय सांघाई गुटकै एक सदस्य रहेको सीले पछिल्लो समय जियाङ नजिकका नेतालाई गुटबाट निष्कासित गरिदिएका छन् । (योसँगै कुनै समय अनौपचारिक रूपमा सांघाई गुटलाई जियाङ गुट पनि भनिने गरेकोमा अहिले यो सी गुटमा बदलिएको छ । )

सीको उदयपछि देङ, जियाङ र हुको शासनकालमा निरन्तरको खुलापनमा ब्रेक लागेको छ । समाजमा निजी क्षेत्रको प्रभावलाई खुला छाडिएकोमा अहिले पार्टीको सबै क्षेत्रमाथिको पकड पुनः कसिदै लगिएको छ ।

शक्तिमा उदय

सन् १९२६ मा पूर्वी चीनमा जन्मिएका जेमिनले कलेज तह इन्जिनियरिङ पढे । कलेजमा पढिरहँदा उनी कम्युनिस्ट पार्टीमा आबद्ध भएको मानिन्छ । सोही आबद्धताले गर्दा सन् १९५० को दशकमा उन थप अध्ययनको लागि सोभियत संघ गए ।

अध्ययन सकेर फर्केपछि उनी पार्टीमा जोडिएर काम गर्न थाले । जेमिन बिस्तारै पार्टीका उच्च तहमा उक्लिँदै जाँदा सन् १९८३ मा विद्युतीय उद्योग मन्त्री बने । त्यसको दुई वर्षमा उनी सांघाईका मेयर घोषित भएका थ्एि ।

प्राय कालो फ्रेमको मोटो चस्मामा देखिने जियाङ सार्वजनिक स्थानमा उनको विदेशी भाषाको ज्ञान र कला देखाउन पनि लजाउँदैनथे । उनले विदेश भ्रमणमा गाएका गीतका भिडियो फुटेज चिनियाँ अनलाइनमा समय भाइरल हुने गर्छ ।

‘व्यक्तिको जुनसुकै व्यवसाय भए पनि यदि उसले साहित्यको रस लिन सक्छ, संगीतको आनन्द लिन सक्छ भने त्यसले उसको स्वास्थ्य विकासमा सहयोग पुर्‍याउँछ ,’ जियाङले सन् १९९७ मा सीएनएनलाई दिएको अन्तरवार्तामा भनेका थिए ।

जियाङको रंगिन व्यक्तित्व र सहरी रवैया उनको शासनकालमा खिसीको विषय हुने गर्थ्यो । तर पछिल्लो समय यही कुरा चिनियाँ नेटिजनमाझ लोकप्रिय देखिन थालेका थिए । विशेषतः पछिल्लो समयको कस्सिँदै गएको राजनीतिक माहौललाई विगतका जेमिन तथा हुको शासनकालमा कायम उदार सामाजिक तथा राजनीतिक वातावरणसँग तुलना गर्ने क्रम बढेको छ ।

जेमिनले सन् १९९७ मा चीन भ्रमणमा रहेका तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँगको संयुक्त पत्रकार भेटघाट टिभीमा प्रत्यक्ष प्रसारण गराएर धेरैलाई चकित बनाएका थिए । त्यहाँ जेमिनले चीनमा अतिथि रहेका अमेरिकी राष्ट्रपतिसँग चीनको मानव अधिकारको विषयमा गरमागरम बहसमा गरेका थिए ।

‘आफ्ना जीवनकालमा जेमिनको अवमूल्यन भयो भन्ने मलाई लाग्छ,’ प्रमुख चीन विज्ञ ओरभिल शेलले भने ,‘ हु र सीको तुलनामा बढी बहिर्मुखी, लचक र मैत्रीपूर्ण भएकाले चीनबाहिर छाप पार्ने सवालमा उनी अगाडि थिए ,’ प्रमुख चीन विज्ञ ओरभिल शेलले भने ।

एजेन्सीहरुबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप