शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

बुधबार, १४ मङ्सिर २०७९, २१ : २२
बुधबार, १४ मङ्सिर २०७९

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बाल विवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बाल विवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बाल विवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बाल विवाहमुक्त नगर घोषणा गरिएको हो ।

यो सप्तरीको मात्र नभइ मधेस प्रदेशकै पहिलो बाल विवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन् । वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको थियो ।

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे । सुरुङ्गा नगरपालिकाको आयोजना भएको घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाहमुक्त नगरपालिका घोषणाको प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत गरिएको प्रतिवेदनमा नगरको ११ वटै वडामा बालविवाहमुक्त वडा घोषणा गर्ने १४ वटा सूचक पूरा गरेपछि घोषणा गरिएको अधिकृत शर्माले बताए ।

प्रतिवेदनअनुसार विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म वडा नम्बर १ देखि ११ सम्ममा तीन सय ३५ विवाह भएको थियो । जसमा १८ वर्षमुनिको एउटा विवाह तथा २० वर्षमुनिका १८ वटा विवाह भएको सूचकअनुसार पाँच प्रतिशत बालविवाहमात्र देखिएकाले ९० प्रतिशत सूचक पूरा गरेको भन्दै घोषणा गरिएको प्रशासकीय अधिकृत गजेन्द्रनाथ सिंहले जानकारी दिए ।

सुरुङ्गा नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ । बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अवलम्बन गर्नेसहितका सूचक पूरा गरेपछि बालविवाहमुक्त घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले बताइन्  ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य अनिरूद्धप्रसाद सिंह यादव, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पूर्वनगर प्रमुख मुक्तिनाथ चौधरी, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, सवल नेपालका अध्यक्ष जुना गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरिन् । यसअघि २०७६ साल भदौ २० गते मधेस प्रदेशको पहिलो तथा नेपालको तेस्रो बालमैत्री नगरपालिका घोषणा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप