शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्

बिहीबार, १५ मङ्सिर २०७९, ०६ : ३२
बिहीबार, १५ मङ्सिर २०७९

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले सुविधा बापत पाएको सामान फिर्ता गर्न अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर जोशीले अझैसम्म सरकारी सामान फिर्ता गरेकी छैनन् । 

निवर्तमान उपसभामुख जोशीले निवासमा लिएको सरकारी सामान फिर्ता नगरेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानुनी व्यवस्था छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गत असोज २२ गते मनोनयन भएको थियो । सोही दिनदेखि सांसदहरुको कार्यकाल सकिएको मानिन्छ ।

कार्यकाल सकिएको एक साताभित्र उनीहरुले लिएको सेवा सुविधा फिर्ता गर्न सचिवालयले पत्राचार गरेको थियो । तर उपसभामुख जोशीले अटेरी गर्दै आएकी हुन् ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार उपसभामुख जोशीले सरकारी निवासमा प्रयोग गरेको कुनै पनि समान फिर्ता गरेकी छैनन् । 

उनले सोफा सेट दुई थान, टिभी, एसी, फिल्टर, स्टेन्ड पंखा, ग्यास चुल्हो, स्टिल र्याक, मिक्चर, पलंग, ल्यापटप, मोबाइलदेखि सिरक डसना समेत फिर्ता गरेकी छैनन् । सामान फिर्ता गर्न पटक÷पटक ताकेता गर्दा पनि फिर्ता नगरेको सूचना अधिकारी जैशीको भनाइ छ ।

यी हुन् ल्यापटप फिर्ता नगर्ने निवर्तमान सांसदहरु
सामान फिर्ता गर्नमा उपसभामुख जोशीले मात्रै अटेरी गरेकी छैनन् । यहाँका २१ जना निवर्तमान सांसदहरुले समेत सामान फिर्ता गर्नमा अटेरी गर्दै आएका हुन् । निवर्तमान सांसद अर्चना गहतराज, अमर साउँद, अम्बी कुमारी थापा, उमा कुमारी बादी, कुलवीर चौधरी, चुनकुमारी चौधरी, टेक बहादूर रैका, दिव्यश्वरी शाह, दुर्गा कुमारी कामी, देवकी मल्ल थापाले लिएको ल्यापटप फिर्ता गरेकी छैनन् ।

यस्तै, देवराज पाठक, पुर्णा जोशी, प्रेम प्रकाश भट्ट, बल बहादूर सोडारी, मना कुमारी साउँद, मान बहादुर सुनार, माया तामाङ बोहरा, शान्ति नेपाली, श्यामलाल राना थारु, सुशिला बुढाथोकीले ल्यापटक फिर्ता गरेका छैनन् । 

सार्वजनिक लेखा समितिकी पूर्व सभापति नन्दा बमले लिएको एक थान प्रिन्टर र ल्यापटम पनि फिर्ता नगरेको जैशीले बताएका छन् । त्यस्तै, उपसभामुख जोशीका स्वकीय सचिव हरिचन्द्र भट्टले कार्यालय प्रायोजनको लागि भनेर लिएको ल्यापटप पनि नबुझाएको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप