बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

एचआईभी सङ्क्रमितलाई सम्पर्कमा ल्याउनै चुनौती

एचआईभीको उच्च जोखिममा समलिङ्गी तथा तेस्रोलिङ्गीहरू : डा. सुधा देवकोटा
विहीबार, १५ मंसिर २०७९, ११ : ५२
विहीबार, १५ मंसिर २०७९

आज विश्व एड्स दिवस । सचेतनाका लागि विविध कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइँदै छ । एचआईभी सङ्क्रमितको उपचारका लागि सन् २००४ बाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एन्टिरेट्रो भाइरल थेरापी (एआरटी) सेवा सुरु भएको हो । सन् २०२२ जुलाईसम्ममा नेपालका ७६ जिल्लामा ८४ एआरटी साइट र ४५ एआरटी डिस्पेन्सिङ सेन्टरहरू सञ्चालनमा छन् । तर अझै पनि सङ्क्रमित खुलेर बाहिर आउने वातावरण भने बनिसकेको छैन । तथ्याङ्क हेर्ने हो भने सन् २०२१ सम्ममा १६ हजार ४१० पुरुष र १३ हजार ५९० महिला सङ्क्रमित भएको देखिन्छ । यस रोगबाट सन् २०२१ मा मात्र ६८० जना सङ्क्रमितको ज्यान गएको छ ।

उनीहरूको उपचारका लागि सरकारले लगानी बढाए पनि सङ्क्रमितलाई सम्पर्कमा ल्याउन चुनौती अझ बढेको छ । सङ्क्रमितले चाहेर पनि औषधि नियमित सेवनलाई किन प्राथमिकतामा राख्दैनन् ? कुन पेसा, उमेर समूहका व्यक्ति सङ्क्रमणको उच्च जोखिममा छन् ? सन् २०३० सम्ममा सङ्क्रमण दर शून्यमा झर्ने सरकारले लक्ष्य पूरा गर्न सक्छ ? भनेर राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटासँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानी :

–एचआईभी एड्सप्रति मानिसमा किन अझै यस्तो त्रास कायम छ ?

जो पनि एचआईभी सङ्क्रमित हुन सक्छ । मधुमेह, मिर्गौला, मुटु, कलेजो रोगहरूजस्तै एचआईभी पनि एउटा भाइरस हो । कोरोना महामारी आयो गयो भाइरस त शरीरभित्र गएको हो नि ? हेपाटाइटिस पनि भाइरस नै हो । त्यसैले एचआईभीलाई पनि भाइरसको रूपमा लिनुपर्छ । यसलाई हेय दृष्टिले हेर्नुभएन । समाजमा हुने लाञ्छना र विदेभलाई कम गर्नुपर्छ । त्यसमा सरकारको प्रतिबद्धता अल्लि बढी हुनुपर्छ । 

एचआईभीलाई राम्रोसँग केयर गरिएन र सङ्ख्या वृद्धि भयो भने प्रतिबद्धता पूरा गर्न चुनौती हुन्छ । सरकारले बजेटमा मात्रै प्रतिबद्धता जनाउने होइन । उपचारका लागि मात्रै प्रतिबद्धता होइन । स्कुल, स्वास्थ्य संस्था, महिला विकास, तत्तत् निकायका मन्त्रालयहरूले समन्वय गरेर काम गर्नका लागि प्रतिबद्धताको खाँचो छ । 

एचआईभी एउटा भाइरस हो । यो भाइरस शरीरभित्र प्रवेश गरेमा औषधि सेवन गरेमा ज्यान पनि जाँदैन । जसले गर्दा सङ्क्रमित भएकाले सामान्य जीवन बिताउन सकिन्छ ।

एचआईभी सङ्क्रमणको उच्च जोखिममा कुन समूहका मानिस छन् ?

नेपालका सन्दर्भमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा मुख्यतः पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरू रहेका छन् । कुल सङ्क्रमितमध्ये पाँच प्रतिशत चाहिँ समलिङ्गी तथा तेस्रोलिङ्गी रहेका छन् । यस्तै यौनकर्मीहरू, सुईबाट लागूपदार्थ प्रयोग गर्नेहरू र रोजगारीका लागि विदेशिनेहरू छन् । 

एक लाखभन्दा बढी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरू छन् । यद्यपि उनीहरू खुलेर आउँदैनन् । सुईबाट लागूपदार्थ लिनेहरू बरु खुलेर बजार आउन सक्छन् तर तेस्रोलिङ्गीहरू आउन  सकिरहेको अवस्था छैन ।  यस्तै सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी, यौनकर्मीहरूमा सङ्क्रमणदर अरू जोखिम समूहभन्दा उच्च छ । बसाइँ सराइ दर उच्च रहेकाले अन्य समूह पनि सङ्क्रमणको उच्च जोखिममा छन् ।

सन् २०२१ मा तीस हजारभन्दा बढी सङ्क्रमित रहेको अनुमान गरिएको थियो । तीमध्ये कति सङ्क्रमति सम्पर्कमा आए ?

सन् २०२१ मा ३० हजार ३ सय जना एचआईभी सङ्क्रमित समुदायमा रहेको अनुमान गरिएको थियो । अनुमान गरिएका मध्ये २० हजारभन्दा बढी सम्पर्कमा हुनुुहुन्छ । अबको हाम्रो चुनौती भनेको अनुमान गरिएका मध्ये समुदायमा अझै १० हजार जनालाई खाज्नु हो । 

लुकेर बाहिर बसेकालाई सम्पर्कमा ल्याउन चुनौती थपिएको छ । एचआईभी सङ्क्रमितको उपचार सुरुदेखि अन्त्यसम्म पहिला सङ्क्रमित कहाँ छन् भनेर पत्ता लगाउने भन्ने हुन्छ । सङ्क्रमित पत्ता लागेपछि उनीहरूलाई काउन्सेलिङ गर्नुपर्छ । त्यसपछि उपचारका लागि ल्याई र नियमित औषधि सेवन गर्ने वातावरण बनाइदिनुपर्छ । किनभने औषधि एक पटक सेवन गरेर निको हुने कुरा होइन, लामो समयसम्म खानुपर्छ । 

अघिल्लो वर्ष २० हजार जना सम्पर्कमा आए भने यो वर्ष थप पाँच हजार जना सङ्क्रमित सम्पर्कमा आएका छन् । सम्पर्कमा बाहिर रहेका भनेर अनुमान गरिएका १० हजारमध्ये पाँच हजार सम्पर्कमा आए पनि लक्ष्य अवधि बाँकी रहेकाले पूरा हुन सक्छ । 

–बाहिर रहेका सङ्क्रमितलाई सम्पर्कमा ल्याउन के उपाय अपनाउनु भएको छ ? 

एचआईभी सङ्क्रमण रोकथामका लागि गरैसरकारी संस्थाहरूले काम गर्दै आएका छन् । सङ्क्रमण रोकथाम गर्न समुदायमा सामाजिक परिचालनकर्ता छन् । उनीहरूले गाउँगाउँ पुरेर एचआईभी सङ्क्रमणसम्बन्धी जनचेतना फैलाउने कार्य गर्नुपर्छ । एचआईभी भनेको के हो ? कसरी सर्छ ? यदि सङ्क्रमित भइहालेमा उनीहरूलाई परामर्श र औषधि सेवनका बारेमा जानकारी दिनेगर्छ । सङ्क्रमितलाई  बाहिर अन्य मानिस सरह आउने वातावरण सिर्जना गरिदिने काम भइरहेको छ । औषधि सेवनलाई नियमितता दिनुपर्छ भनेर मोटिभेट गर्ने अर्को समूहले मदत गर्छ । औषधि र परीक्षण नेपाल सरकारले निःशुल्क गरेको छ । यस्तै बच्चाहरूलाई मासिक रूपमा एक हजार दिने, पोषणा विभिन्न तत्त्वहरू  वितरण पनि गरिन्छ । यद्यपि ती कुराले उनीहरूलाई पुग्दैन ।

–सङ्क्रमितलाई निरन्तर सम्पर्कमै राख्नका लागि कतिको चुनौती छ  ?

सम्पर्कमा आएका सङ्क्रमितलाई नियमति रूपमा औषधि सेवन गर्ने वातावरण सिर्जना गर्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने हुन्छ । केही ठाउँमा गैरसरकारी संस्थाहरूले आत्मनिर्भर बन्नका लागि तालिमहरू सुरु गर्नुभएको छ । यसलाई व्यापक रूपमा लैजानुपर्नेहुन्छ । समस्या भनेको सम्पर्कमा आए पनि नियमित रूपमा उनीहरूलाई  सम्पर्कमा नआइदिने हो ।

समुदायको डरले पनि औषधिलाई नियमितता दिन समस्या भएको छ । औषधि सेवन गरेको थाहा पाउँछन् कि भनेर लिन नआउने, लुकेर लिन आउने, समयमै औषधि लिन नआउने हुँदा चुनौती थपिएको छ । औषधि लिन समय ग्याप गरेर आएमा त्यसलाई औषधिलाई निरन्तरता दिएको मान्न सकिँदैन । औषधि सेवन गरेको सबैले थाहा पाउँदा सामाजिक दुर्व्यवहार पनि हुनसक्छ । अनि औषधि सँगै पोषण तत्त्वहरू आवश्यक पर्छ ।

म सङ्क्रमित हुँ भनेर आएपछि उसलाई बाँच्ने आधारहरू सिर्जना गरिदिनुपर्छ । घरपरिवारले नहेर्दा पनि म एक्लै बाँच्न सक्छु भन्ने आधार सिर्जना गरिदिनुका साथै क्षमताको पनि विकास गरिदिनुपर्छ ।

–सन् २०३० सम्ममा नेपालले सङ्क्रमण दर शून्यमा पुर्याउने भनेको थियो, के यो सम्भव छ ? यो लक्ष्य हासिल गर्न के चुनौती छ ?

यही तरिकाले हामीले काम गर्दै गएको खण्डमा २०३० सम्ममा लक्ष्य हासिल गर्न सकिन्छ । तर चुनौती एक पटक औषधि सेवन गरिसकेपछि त्यसलाई निरन्तरता नदिनेहरू धेरै रहेको हुनुन्छ । यसलाई अगाडि बढाउनका लागि राजनीतिक प्रतिबद्धताहरू एकदमै जरुरी छ । जस्तै सीटीभीटीले १८ वर्षभन्दा माथिकोलाई तालिम दिने व्यवस्था मिलाउनुपर्छ । कक्षा १० सम्म एचआईभी सङ्क्रमणसम्बन्धी अध्यापन गराइन्छ । उनीहरूलाई बाँच्ने आधारसहित विभिन्न किसिमका तालिम दिनुपर्छ । कुनै पनि यौन व्यवसायीहरू रहरले भएका हुँदैन् । उनीहरूलाई सरकारले जागिर दिने, सीप सिकाउने तालिमको व्यवस्था मिलाउने सबैले प्रतिबद्धता मिलाउनुपर्छ । सङ्क्रमितलाई यस्ता किसिमको तालिमले सक्षम छु  भन्ने आभास भइरहन्छ र त्यस्तो मानिसले  आवश्यक औषधि सेवन गरिरहेका हुन्छ । औषधि सेवन गर्नुपर्छ भनेर दियो, त्यसपछिको पोषण तत्त्वहरू हुँदैन । उसको जागिर हुँदैन । बच्चाहरू हुन्छन् । उनीहरूलाई पढाउनुपर्ने हुन्छ । उनीहरूका व्यक्तिगत व्यावहारिक कुरा धेरै हुन्छन् । विभिन्न कारणले औषधि सेवनलाई निरन्तरता दिन सक्दैनन् । सम्पर्कमा आउँछन्, जान्छन् । अनि हाम्रो प्रयास भताभुङ्ग हुन्छ ।  मान्छे बचाउन सकिँदैन ।

ठूलो चुनौती भनेको तेस्रो पिल्लर हो अर्थात् लाञ्छाना र भेदभावले देशलाई नै चुनौती दिएको छ । यस चुनौतीलाई सामना गर्नका लागि राजनीतिक प्रतिबद्धता अति आवश्यक छ । 

तेस्रोलिङ्गीहरूमाथि सामाजिक लाञ्छाना र विभेद सबैभन्दा धेरै छ । उनीहरू औषधि लिन पनि आरटी सेन्टरमा जान सक्दैनन् । जबसम्म समाजलाई नै शिक्षित बनाउन सकिँदैन तबसम्म यो विभेद कम गर्न सकिँदैन । यौनकर्मीहरूलाई कसरी सुरक्षित बन्न सकिन्छ भनेर जानकारी दियाँै भने, प्रहरी प्रशासनले त्यसमा साथ दियो भने, परिवारले छोराछोरीलाई यौन शिक्षा र एचआईभी बारे शिक्षित बनाए भने यस्तो सामाजिक लाञ्छना कम हुन्छ । त्यसपछि मान्छे खुलेर आउने वातावरण सिर्जना हुन्छ । उपचार आउनेहरू दिगो रूपमा आउने वातावरण सिर्जना हुन्छ । एउटा परिवारमा छोरीलाई एचआईभी सङ्क्रमण भएको छ भने लुकेर आउने गर्छिन् । उपचारका लागि  खुलेर आउनेका सङ्ख्या अत्यान्त न्यून छ । औषधि कहिल्यै पनि एकै स्थानबाट लिँदैँनन् । काठमाडौँको मान्छे भक्तपुर, भक्तपुरको काठमाडौँ, ललितपुरको सङ्क्रमित भक्तपुर र काठमाडौँबाट औषधि लिने गर्छन् । उसैको घरमा कार्यक्रम हुन्छ त्यो दिन, तर सङ्क्रमित व्यक्ति नै सहभागी नै हुँदैन ।

हरेक परिवारले आफ्ना सदस्य सङ्क्रमित भएमा स्वीकार गरी परिवार र समाजसँग खुलेर बस्ने वातावरण निर्माण गरिदिनुपर्ने हो । त्यसका लागि सावधानी अपनाउनुपर्ने थियो, अपनाएनन् । यसलाई अन्य रोगजस्तै हो भनेर वातावरण सिर्जना गरिदिनुपर्छ । २०२१ शताब्दीमा आएर पनि हामी अझै पनि अन्य रोगजस्तै औषधि सेवनबाट सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने कुरालाई स्वीकार्नुपर्छ । कुनै पनि हिसाबले लाञ्छना र भेदभाव नगरिदिने हो भने समाजमा मानिस खुलेर आउँछन् । 

–भौगोलिक हिसाबले कुन क्षेत्रमा सङ्क्रमित बढी छन् ? पुरुष सङ्क्रमितको सङ्ख्या बढी हुनुको कारण चाहिँ के होला ?

भौगोलिक हिसाबले भन्ने हो भने तराई क्षेत्रमा एचआईभी सङ्क्रमित बढी छन् । नेपालको सन्दर्भ हेर्ने हो भने पुरुष सङ्क्रमित बढी छन् । यद्यपि पुरुषको तुलनामा महिलाहरू बाहिर नआउने भएकाले त्यो सङ्ख्या लुकेको हुनसक्छ ।

–एचआईभीकै कारण वार्षिक कति सङ्क्रमितको मृत्यु हुन्छ ?

नेपालमा एचआईभीसम्बन्धी कार्यक्रम गर्न थालिएको ३१ वर्षमा भयो । यस अवधिमा ६ सयमा झरेको छ । 

एचआईभी सङ्क्रमित आमाबाट जन्मिएको स्वस्थ बच्चा सङ्क्रमित हुन्छ कि हुँदैन ?

बच्चा जन्माउन चाहने एचआईभी सङ्क्रमित हुनुहुन्छ भने बच्चाको प्लान गर्नुभन्दा अगाडि एक पटक एआरडी केन्द्रमा गई परार्मश गर्न आवश्यक हुन्छ । सङ्क्रमितको स्वाथ्य जाँच गरी स्वास्थ्यकर्मीको सल्लाहमा पारिवारिक योजना बनाउन सक्नुहुन्छ । कुनै सङ्क्रमितलाई गर्भवती भएपछि मात्रै थाहा भयो भने स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि लिनुपर्छ । स्वाथ्यकर्मीको परामर्श भएको खण्डमा २ दुई प्रतिशत बच्चामा मात्रै सङ्क्रमण हुने सम्भावना रहन्छ । औषधि नियमित सेवन गरेर भाइरल लोडलाई कन्ट्रोलमा राखेर सङ्क्रमित महिलाले ढुक्क भएर बच्चा जन्माउन सक्छन् । त्यसैले सङ्क्रमित भएका महिलाले गर्भवती भएको थाहा पाए भने तुरुन्तै स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्छ । जसले परिवार योजना बनाउँछ उसले सुरुमै स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप