शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ जोर्नी प्रत्यारोपणसम्बन्धी भ्रम र यथार्थ

बिहीबार, १५ मङ्सिर २०७९, १२ : १७
बिहीबार, १५ मङ्सिर २०७९

उमेरको कारणले हड्डी खिइएर हिँड्डुल गर्न समस्या उत्पन्न हुँदा पनि प्रायः बूढाबूढी हत्तपत्त अप्रेशन गर्न मान्दैनन् । यद्यपि हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण सर्जन डा. सुमनबाबु मरहट्टा बढ्दो उमेर अपरेशनको बाधक नभएको बताउँछन् ।

जोर्नीको समस्या प्रायः बुढेसकालमा हुने भएकाले प्रत्यारोपण गर्ने उमेर नै बुढेसकाल भएको डा. मरहट्टाको भनाइ छ । मुख्यतः जोर्नी बिग्रनुका कारणमध्ये उमेर बढ्दै गएपछि हड्डी खिइदा, पुरानो चोटपटक, बाथरोग, जन्मजात जोर्नीको समस्यालगायत देखिन्छ । यी मध्ये एक भन्दा बढी समस्या भएमा मात्रै घुँडाको प्रत्यारोपण गर्नुपर्छ ।

जोर्नी बिग्रिदाका लक्षण

जोर्नी बिग्रिएको मुख्य लक्षण भनेको जोर्नीको दुखाइ हो ।   बिरामीलाई सुरु सुरुमा हिँड्डुल गर्दा, पलेटी कस्दा वा ओरालो हिँड्दा बढी दुखाई महसुस हुन्छ । त्यसपछि क्रमशः जुनसुकै समयमा पनि जोर्नी दुख्न थाल्छ ।

नियमित दुखाईले बिरामीलाई आफ्ना दैनिक काम गर्न र राती सुत्न पनि असहज महसुस हुन्छ । कालान्तरमा ह्वील चियरको सहारा लिनुपर्ने अवस्थासमेत सिर्जना हुन्छ । त्यसपछि घुँडा खिँइदै गएर बिरामीको खुट्टा बाङ्गो हुने समस्या सुरु हुन्छ । पछि जोर्नी सुन्निने र पानी जम्मा हुने हुँदा जोर्नी चल्नै गाह्रो हुन्छ ।

भ्रम र यथार्थ

घुँडाको अप्रेशनपछि बिरामी झन् कुँजो हुन्छ भन्ने धारणा  गलत भएको सर्जन डा मरहट्टा सुनाउँछन् । जबकि हिँड्डुल गर्न नसक्ने र कुँजो बिरामीलाई पनि अपरेशनपछि हिँड्डुल गराउन सकिन्छ । जोर्नी प्रत्यारोपण सफल अपरेशन होइन भन्ने भ्रम आम जनमानसमा रहेको उनले बताए । अन्य देश र नेपालमा भैरहेका अपरेशनका बिरामीको फलोअप हेर्दा यो निकै सफल अप्रेशन सफल भएको उनको जिकिर छ ।

के हो जोर्नी प्रत्यारोपण ?

जोर्नी दुखाईको कारण आफ्नो नियमित काम गर्न नसक्ने अवस्था सिर्जना भएमा अप्रेशनको माध्यमबाट उक्त जोर्नीको बिग्रिएको भाग हटाइ कृत्रिम जोर्नी राख्ने कार्यलाई जोर्नी प्रत्यारोपण भनिन्छ । 

समस्या आएको जोर्नीको भाग मेसिनको सहायताले खुर्केर सफा गरी अप्रेशन गरेर कृत्रिम जोर्नी राख्ने काम गरिन्छ । अप्रेशन गर्नुपूर्व मुटु फोक्सो, मृगौलालगायत बिरामीको शरीरको सम्पूर्ण परीक्षण गरिन्छ ।

अपरेशनपश्चात बिरामीले सामान्य हिँडडुल गर्न, गाडी चलाउन, शारीरिक अभ्यास,  खेलकुद गतिविधि गर्न सक्छन् । यद्यपि बिरामीले भारी सामान उचाल्ने, पलेटी कसेर भुँइमा बस्ने जस्ता कामहरु भने गर्न हुँदैन । अपरेशनपश्चात नियमित रुपमा फिजियोथेरापी गर्नुपर्दछ । जोर्नीको अपरेशन गरेपछि १५–२० वर्षसम्म यसको आयु हुने गर्दछ ।

घुँडाको जोर्नी जोगाउन के गर्ने ?

थोरै मात्र खिइएको सामान्य अवस्थामा घुँडाको अप्रेशन गर्न पर्दैन । यसका लासग जीवनशैली परिर्वतन अति आवश्यक हुन्छ । जस्तै शरीरको तौल घटाउने, स्वास्थ्य आहार विहार लिनाले जोर्नीलाई स्वास्थ्य राख्न मद्दत गर्दछ । यसका साथै घुँडाको समस्या हुनेले धेरै उकालो ओरालोे गर्ने, पलेटी कसेर बस्ने काम गर्नु हुँदैन ।

यस्तै, नियमित थेरापी र कसरत गर्नुपर्छ । यसले घँुडा वरिपरिको मासु बलियो भई घुँडालाई कम भार पर्छ । त्यसैले, नियमित कसरत गरेर घुँडा दुखाई र खिइने प्रक्रिया कम गर्न सकिन्छ । चिकित्सकको सल्लाहमा जोर्नी जोगाउन विभिन्न भिटाभिन र क्याल्सियमको प्रयोग पनि गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप