बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्कटमा अटो–बजार : शोरुम बन्द गर्दै कर्मचारी घर पठाउँदै

आन्दोलनको तयारीमा नाडा
बिहीबार, १५ मङ्सिर २०७९, १२ : २५
बिहीबार, १५ मङ्सिर २०७९

नेपाली अटोमोबाइल्स व्यवसाय यतिखेर चरम सङ्कटमा गुज्रिरहेको छ । झन्डै १ वर्षदेखि सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध, एलसी मार्जिनमा कडाइ गरिनुका साथसाथै बैंकिङ कर्जाको ब्याजदर समेत तीव्र तर वृद्धिले समग्र अटो बजार नै धराशायी बन्न पुगेको हो । 

गत वैशाख १३ गतेदेखि सरकारले कार, जिप, भ्यान सहित १५० सिसी इन्जिन क्षमतामाथिका दुई पाङ्ग्रे मोटरसाइकल, स्कुटरको आयातमा पूर्णतः प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध हालसम्म पनि कायमै रहेको । जसको प्रभाव ८ महिनायता नेपाली अटो व्यवसाय झन्डै ८० प्रतिशतले ‘डाउन’ हुन पुगेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको भनाइ छ । 

‘करिब १ वर्षअघिदेखि नै नेपाली अटोमोबाइल्स व्यवसाय सङ्कटमा छ । कोभिड–१९ ले शिथिल भएको व्यवसायले पुनरुत्थानको कसरत गर्दै गर्दा चौतर्फी प्रहार भोग्नुपर्‍यो’ अध्यक्ष थापाले भने, ‘२४–२५ प्रतिशतको ब्याजदरमा ऋण गरेर बैंकसँग एलसी माग्नुपर्ने अवस्था बनेको छ । थप कार, जिप, भ्यान लगायत १५० सिसी इन्जिन क्षमता माथिका दुई पाङ्ग्रे सवारी साधनको आयातको प्रतिबन्धले समग्र अटो व्यवसाय नै चौपट हुन पुगेको छ ।’

अध्यक्ष थापाले थपे, ‘व्यवसायकै अभावमा खर्च धान्न नसकेर व्यवसायीहरूले धमाधम शोरुम बन्द गरिरहेका छन् । कर्मचारीहरूलाई बिदा गरिरहेका छन् ।’

थापाका अनुसार पछिल्ला दिनमा खर्चकै अभावमा यस्ता ४ दर्जन हाराहारीमा गाडीका शोरुमहरु बन्द भएका छन् भने सयौँ कामदारहरूलाई बिदा गरिएको अवस्था छ । व्यवसायमा टिक्न नसकेकै कारण भएका व्यवसायीहरू पनि विकल्पको खोजीमा छन् । 

पछिल्ला दिनमा दुई पाङ्ग्रेको व्यवसाय ५० प्रतिशतले घटेको छ भने कार, भ्यान, जिपसँगै कमर्सियल भेहिकलको व्यवसाय झन्डै ८० प्रतिशतले घट्न पुगेको नाडाको तथ्याङ्क छ । 

अटोमोबाइल्स व्यवसायमाथिको ४ सङ्कट

आयातको तुलनामा झन्डै दुई गुणा बढी राजस्वमा योगदान दिइरहे पनि अटोमोबाइल्स क्षेत्रलाई अनप्रोडक्टिभ सेक्टर (अनुत्पादक) भनेर व्याख्या गरिनु नै दुर्भाग्य भएको नाडाका अध्यक्ष थापाको भनाइ छ । कुल राजस्वको ३० प्रतिशत हाराहारीको योगदान अटोमोबाइल्स सेक्टर एक्लैको छ । तर, विदेशी मुद्राको सञ्चितिको दाबामा गाडी आयातको प्रमुख भूमिका रहेको भन्दै सरकारले गत वैशाखदेखि नै गाडी आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

नाडाका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र सिङ्गो अटोमोबाइल्स उद्योगको राजस्वमा योगदान ९० अर्ब रुपैयाँ हाराहारी छ । जबकि सो वर्ष कार, जिप, भ्यान, ठुला कमर्सियल गाडीसँगै दुई पाङ्ग्रे मोटरसाइकल स्कुटर समेत गरेर जम्मा ६८ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ ।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि ६८ अर्ब २५ करोड ८६ लाख रुपैयाँ बराबरको गाडी आयात हुँदा यता ८९ अर्ब ८९ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । तर पनि अटोमोबाइल्स क्षेत्रलाई अनप्रोडक्टिभ सेक्टर भनेर उपेक्षा गर्नु दुखद् भएको नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ । 

‘आयात प्रतिबन्ध त छँदैछ, सरकारले लागू गरेको ५० प्रतिशतदेखि शतप्रतिशतसम्मको एलसी मार्जिनको व्यवस्था र पुँजी कर्जामा गरिएको कडाइले व्यवसाय चौपट हुन पुगेको छ । थप पछिल्लो समय बैंकको उच्च ब्याजदरकै कारण व्यवसायीहरू पलायनको अवस्थामा पुगेका हुन्’ अध्यक्ष थापाले रातोपाटीसँग भने । 

तर, अब चुप लागेर बस्ने अवस्था नरहेको अध्यक्ष थापाको भनाइ छ । ‘यस्तो स्थितिले अब व्यवसायमा टिकिराख्न सकिने अवस्था रहेन, अब आन्दोलनको विकल्प छैन, आन्दोलनमा जान्छौँ’ थापाले रातोपाटीसँग भने ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षाले समेत व्यवसायीहरूको अपेक्षा पुरा गर्न नसकेको भन्दै अध्यक्ष थापाले अबको केही दिन भित्रै आन्दोलनको घोषणा गरिने बताए ।

उसो त सरकारकै गलत नीतिका कारण अटोमोबाइल्स सेक्टर मात्र नभएर अन्य आर्थिक क्षेत्र समेत चौपट भएको उद्योग व्यवसायीहरूको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार मात्र पत्रकार सम्मेलन गर्दै सरकारकै कमजोरीका कारण दुर्दशा भोग्नु परेको र आर्थिक स्थिति बिग्रिएको आरोप लगाएको छ । बैंकिङ कर्जालाई बेलैमा नियन्त्रण गर्न नसक्दा सोको प्रभाव आयात हुँदै विदेशी मुद्रा सञ्चितिमा, तरलतामा परेको र अहिले त्यसैले सिङ्गो अर्थतन्त्र सङ्कटमा फसेको महासंघको भनाइ छ । पछिल्लो समय उपभोग्य बजार नै १८ प्रतिशत माथिले घट्दा उद्योग कलकारखानाको उत्पादन क्षमतामा ७० प्रतिशतले खुम्चिन पुगेको र महँगी समेत दोहोरो अङ्कमा पुगेको महासंघको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप