शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा तीन ठुला दलका प्रदेश अध्यक्ष नै पराजित

नयाँ दलहरूले ठुला दलको सिट यसरी खोसे
बिहीबार, १५ मङ्सिर २०७९, १३ : ११
बिहीबार, १५ मङ्सिर २०७९

लुम्बिनी प्रदेशमा ठुला दलका तीन प्रदेश अध्यक्षहरू नै आम निर्वाचनमा पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका प्रदेश अध्यक्षहरू २०७९ को संसदीय निर्वाचनमा पराजित भएका हुन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, माओवादीका प्रदेश अध्यक्ष सुदर्शन वराल, जसपाका प्रदेश अध्यक्ष अशोक यादव प्रत्यक्षतर्फ उम्मेदवार थिए । तर यी तीनै जना पराजित भए ।

एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल भने उम्मेदवार थिएनन् । राप्रपाका प्रदेश अध्यक्ष प्रदीप उदय भने समानुपातिकतर्फ छन् । जनमत पार्टीका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र गुप्ता पनि उम्मेदवार थिएनन् । लोसपाले भने लुम्बिनी प्रदेश अध्यक्ष तोकेको छैन ।

यस्तै, नयाँ दलका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि अहिलेसम्म प्रदेश अध्यक्ष चयन गरेको छैन ।

ठुला दलको सिट खोसे नयाँ दलले

साना तथा नयाँ दलले लुम्बिनी प्रदेशसभा निर्वाचनमा ठुला दलहरुलाई नै स्तब्ध तुल्याएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेले २०७४ सालमा जितेका केही क्षेत्रमा अहिले साना दलले जित हासिल गरेका हुन् ।

राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका केही उम्मेदवारले यो पटक ठुला भनिएका दलहरुको सिट खोसेका हुन् । नागरिक उन्मुक्ति पार्टीले बर्दियाको संघ र प्रदेशमा माओवादीको सिट खोसेको छ । बर्दिया क्षेत्र नम्बर २ मा २०७४ सालमा माओवादीका सन्तकुमार थारु निर्वाचित भएका थिए भने अहिले त्यहाँ सत्ता गठबन्धनबाट माओवादीकै सुरेन्द्र पन्थ उम्मेदवार थिए । तर सो क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवार बनेका लालबीर चौधरी निर्वाचित भए । उनी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीका बुबा हुन् ।

यो क्षेत्रको प्रदेशसभा २ मा माओवादीका दिनेश थारुले जितेका थिए । तर अहिले नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीले जितेका छन् ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै धर्मबहादुर चौधरी विजयी भएका छन् । सो क्षेत्रमा २०७४ को निर्वाचनमा माओवादीका तिलकराम शर्मा विजयी भएका थिए ।

रुपन्देही र कपिलवस्तुमा नेपाली कांग्रेसका केही सिट साना दलले खोसेका छन् । रुपन्देहीको ५ (ख) बाट जनमत पार्टीका चन्द्रकेश गुप्ताले कांग्रेसका फखरुद्दिन खानलाई पराजित गरे । खान २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । गुप्ताले १२ हजार ९४१ मत प्राप्त गर्दा खानले ११ हजार ६५१ मत पाए ।

यस्तै २०७४ सालमा नेपाली कांग्रेसले जितेको कपिलवस्तुको ३ (२) मा यो पटक राप्रपा विजयी भएको छ । यहाँ नेपाली कांग्रेसका वीरेन्द्र कनौडियालाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव विजयी भए ।

२०७४ सालमा एमाले जितेको रुपन्देही क्षेत्र नम्बर १ (१) मा पनि यो पटक राप्रपाले जितेको छ । यहाँ राप्रपाका आशिषकुमार चौधरी निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमालेले १८, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५, लोसपाले २, जसपाले २, माओवादीबाट बागी उठेका ३, राप्रपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले १ सिट जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप