बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

लैङ्गिक हिंसाविरुद्धको अभियानः कर्मकाण्डी मात्र नबनोस्

विहीबार, १५ मंसिर २०७९, १४ : २८
विहीबार, १५ मंसिर २०७९

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म संसारभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । यस वर्ष पनि ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाविरुद्धको अभियान’ राष्ट्रिय नारासहित यो अभियान सुरु भएको छ ।

यसको अन्तर्राष्ट्रिय नारा भने  'UNITE ! Activisn to end violence against women and girls'  भन्ने रहेको छ । यो अभियानमा ओरेन्ज अर्थात् सुन्तला रङको प्रयोग गरिन्छ । यसलाई उज्ज्वल भविष्यको प्रतीक मानिन्छ । यो रङले हिंसा विरुद्धको समाजको परिकल्पना गर्दछ ।

लैङ्गिक शब्दले महिला, पुरुष तथा अन्य लिङ्ग (एलजीबीटीक्यू)का मानिसलाई जनाउँछ । तर पितृसत्तात्मक विश्व परिवेश त्यसमा पनि नेपाल जस्ता अल्पविकसित मुलुकका हकमा सबैभन्दा बढी हिंसा महिलाविरुद्ध हुने गर्दछ ।

यस्तो हिंसा शारीरिक र मानसिक रूपमा मात्र होइन, मानव जीवनका आर्थिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा समेत महिलामाथि वा लैङ्गिक आधारमा हुने गर्दछ ।

कुटपिट, यातना जस्ता हिंसात्मक घटनासँगै महिलाका प्राकृतिक विषयका कारण विभिन्न धार्मिक, सांस्कृतिक क्रियाकलापमा बन्देज लगाउने काम भइरहेको भेटिन्छ ।  महिलाले गरेका कामलाई अवमूल्यन गर्ने, समान काममा असमान ज्याला निर्धारण गर्ने तथा आर्थिक रूपमा परनिर्भरता लाद्ने प्रवृत्ति प्रायः धेरै ठाउँमा पाइन्छन् ।

महिला भएकै कारण विभिन्न बहानामा राजनीतिक संलग्नता र नीति निर्माण तहमा नेतृत्वदायी भूमिकामा तगारो बनेका थुप्रै उदाहरण हाम्रोसामु छर्लङ्ग छन् ।

१६ दिने अभियानको पृष्ठभूमिको कुरा गर्दा २५ नोभेम्बर १९६० का दिनमा डोमिनिकन गणराज्यको एउटा पहाड त्रुजिलोको फेदमा पाट्रिया, मिनेर्भा र मारियम टेरेसा मिराबल रेयस तीन दिदीबहिनीहरूको लास भेटियो । ती विवाहित दिदीबहिनीहरूलाई उनीहरूको चालकसहित हत्या गरेर एउटा जिपमा राखेर पहाडको टुप्पोबाट फालिदिएका थिए ।

ती मिराबल दिदीबहिनीहरू ३० वर्षसम्म शासन गरेका डोमिनिकन गणराज्य त्रुजिलो तानाशाही शासनविरुद्ध चलेको नागरिक आन्दोलनका अगुवा तथा राजनीतिज्ञका श्रीमतीहरू थिए । तानाशाहीको कडा दमनविरुद्ध अन्य आन्दोलनका अभियन्ताका साथै ती दिदीबहिनीहरू पनि आफ्ना श्रीमानहरूसँगै सशक्त रूपमा होमिएका थिए ।

अन्याय नसहने स्वभावका शिक्षित र सचेत महिलाका रूपमा परिचित ती दिदीबहिनीहरूलाई तत्कालीन त्रुजिलो तानाशाहीका विरुद्धमा लडेका कारण राजद्रोहको आरोप लगाउँदै पटक पटक जेलमा हालिएको थियो । आन्दोलनलाई दबाउने क्रममा जेल परेका आफ्ना श्रीमान्हरूलाई भेटेर फर्किरहेको बेला त्रुजिलो शासकले सवारी चालकसहित ती अधिकारकर्मी दिदीबहिनीहरूको सन् १९६० नोभेम्बर २५ को साँझ निर्ममतापूर्वक हत्या गरेको थियो ।

त्यसपछिक त्यहाँ ठूलो विद्रोह भयो र त्रुजिलोको तानाशाही शासन पतन भयो । सन् १९८० मा साहसिक अधिकारकर्मी मिराबल दिदीबहिनीहरूको प्रेरणाबाट ल्याटिन अमेरिकामा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको पाइन्छ ।

त्यसै गरी १९८९ डिसेम्बर ६ का दिन मोन्टोल विश्वविद्यालयमा क्यानडाका एक युवकले १४ जना छात्राहरूको सामूहिक हत्या गरेका थिए । यो घटनाको सम्झना गर्दै क्यानडाका केही उत्साहित युवाहरूको प्रयत्नमा महिला अधिकारको निम्ति सन् १९९१ मा सेतो रिबन अभियानको सुरुवात गरिएको थियो ।

महिला हिंसाको विरुद्धमा अङ्ग्रेजी भी अक्षरको उल्टो आकारको सेतो रिबन पुरुषहरूले लगाउँछन् । यो रिबन पुरुष वर्गको ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धता हो । त्यसैले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा पनि सेतो रिबन अभियानको रूपमा १६ दिनसम्म नै लगाउने चलन छ ।

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।

पछि संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ को महासभाले पारित गरेको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउने घोषणाबमोजिम हरेक वर्ष सोही दिन अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाइन्छ । यो १६ दिने अभियानको मुख्य उद्देश्य महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु हो ।

नेपालमा १६ दिने अभियान

नेपालमा १६ दिने अभियानको थालनी २०५४ सालदेखि भएको पाइन्छ । २०७५ मङ्सिर २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७५ मङ्सिर ९ गतेदेखि मङ्सिर १४ गतेसम्म अर्थात् २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सामाजिक चेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न सङ्घीय सरकारका मन्त्रालय तथा निकायहरू, सातैवटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरू, सरोकारवाला निकायहरू तथा सामाजिक सङ्घसंस्थाहरूलाई आह्वान गर्ने तथा प्रत्येक वर्ष नोभेम्बर २५ मा महिला हिंसाविरुद्धको अभियान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

हरेक वर्षझैँ यो वर्ष पनि २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्ध जनचेतना जगाउने र महिलाविरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्यसहित यो अभियान मनाइँदै छ । नेपालले यस वर्षको राष्ट्रिय नारा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरूद्धको अभियान’ तय गरेर अभियान चलाउँदै गर्दा हाम्रो देशको कुनाकाप्चामा कयौँ बालबालिका, किशोरी तथा महिलाहरू हिंसामा परिरहेका हुन सक्छन् ।

नेपालमा महिलामाथि घरेलु हिंसा, कुटपिट, बालिका तथा किशोरीको बलात्कार, बलात्कारपछि हत्या, एसिड आक्रमण, बोक्सीको आरोपमा महिलामाथि दुव्र्यवहार जस्ता घटना हुने गरेको कुरा हामीले देखेका र भोगेका छौँ ।

त्यसतर्फ पनि सबै अभियन्ताहरूको विशेष ध्यान जानुपर्ने देखिन्छ । महिला अधिकारका लागि थुप्रै अभियन्ता तथा अधिकारकर्मीहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु, गराउनु आवश्यक छ ।

सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यबद्धताका लागि वातावरण बनाउने प्रमुख उद्देश्यलाई साकार पार्न सबैको सक्रियता हुन जरुरी छ । तसर्थ, यो अभियानलाई सहर बजारमा मात्र सीमित नराखी देशका कुनाकाप्चामा समेत पुर्याउन जरुरी छ ।

आउनुहोस्, तपाईं हामी सबै हातेमालो गरौँ । लैङ्गिक हिंसाविरुद्ध आवाज बुलन्द गरौ । कुरामा र भाषणमा मात्र होइन, व्यवहारमा नै लैङ्गिक हिंसा अन्त्यको पहल गरौँ । सङ्घ, प्रदेश तथा स्थानीय तह सबै ठाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरौँ, हिंसाविरुद्धको अभियानको शङ्खघोष गरौँ ।

यस्ता संवेदनशील विषयवस्तुलाई विद्यालय तहदेखि नै अनिवार्य पाठ्यक्रममा समेटेर बालबालिकामा सकारात्मक सोच पैदा गर्ने वातावरण सिर्जना गरौँ । महिला र बालबालिकाको सुरक्षा हरेक पुरुषको दायित्व हो भन्ने कुरा स्थापित गरौँ । सोचमा परिवर्तन ल्याऔँ र व्यवहारमा लागू गरौँ ।

भट्टराई मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको अभियानका अभियन्ता एवं अधिकारकर्मी हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

इन्द्रराज भट्टराई
इन्द्रराज भट्टराई
लेखकबाट थप