बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँग्रेस संसदीय दलको नेतामा शेरबहादुरजीकै वर्चस्व देखिन्छ’

बिहीबार, १५ मङ्सिर २०७९, १५ : ३१
बिहीबार, १५ मङ्सिर २०७९

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाकै वर्चस्व देखिएको बताएका छन् । विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा कोइरालाले उक्त विचार राखेका हुन् । उनले अब सामाजिक सञ्जालमा लेखेर वा सार्वजनिक मन्तव्य दिएर संसदीय दलको नेता हुन नसक्ने भएकोले संख्याको खेल सुरु भएको पनि जिकिर गरे ।

उनले काँग्रेस महामन्त्री गगन थापाले आफूसँग फोनमा कुराकानी गरेको भएपनि संसदीय दलको नेता बन्ने विषयमा डिटेल कुराकानी नभएको पनि बताए । तपार्इं प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ त ? भन्ने प्रश्नमा कोइरालाले काठमाडौं गएर सभापति देउवा, महामन्त्री थापालगायतसँग पनि कुरा गरेर निर्णय गरिने बताए ।

कोइरालाले आगामी सरकार नेपाली काँग्रेसकै नेतृत्वमा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त सरकार बन्ने पनि जनाए । प्रस्तुत छ, विराटनगरमा नेता कोइरालासँग गरिएको संक्षिप्त कुराकानीः

गठबन्धनमा राम्रो बहुमत आउने देखिएको छैन । अब अन्य कुन कुन दलसँग छलफल अगाडि बढाउँदै हुनुहुन्छ ?

– नेपाली काँग्रेस ठूलो पार्टी भएको छ । यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ । यो गठबन्धनबाट माओवादी केन्द्र, एकीकृत समाजवादी र काँग्रेस मुख्य थिए, त्यसमा केही थपिन सक्छ । तर गठबन्धनकै सरकार बन्छ । नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्छ ।

काँग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई तपाईंको समर्थन हो ?

म अहिले विराटनगरमा छु । काठमाडौं गएर सभापतिजी लगायत साथीहरुसँग कुरा गर्छु । गगनजीसँग पनि कुरा गर्छु । त्यसपछि हामी डिसिजन गर्छौं । बरिष्ठ नेतासँग पनि सल्लाह गर्छु ।

तपाईंलाई प्रधानमन्त्रीको चाहना छ कि छैन ?

होइन, यो चाहनाले हुने कुरा होइन । संसदीय सिस्टममा नम्बरको गेम हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । नम्बर जसले पुर्याउन सक्छ, उही हुन सक्छ । पहिले त संसदीय दलमा संख्या पुर्याउनु पर्यो नि त ।

गगन थापाले प्रधानमन्त्री बन्छु भनेर तपाईसँग सल्लाह गर्नुभएको छ कि छैन ?

अलिअलि फोनमा कुरा भएको छ । डिटेल कुराकानी भएको छैन ।

एक जना महामन्त्रीले संसदीय दलको नेता बन्छु भन्ने अर्को महामन्त्रीले समर्थन गर्छु भन्ने अवस्था छ नि त ?

ए बाबा ! कसैले समर्थन गरेर वा संसदीय दलको नेता बन्छु भनेर हुने कुरा होइन, यो नम्बरको कुरा हो । संख्या पुर्याउनु परेन भनेको । नम्बर गेम जसले पुर्याउन सक्छ, त्यही दलको नेता बन्छ ।

तपाईंले गगनलाई समर्थन गर्दा नम्बर पुग्थ्यो कि भनेर भनेको ?

(हाँस्दै..) कसको नम्बर के छ भन्ने कुरा त हेर्नु पर्यो नि ।

संसदीय दलमा नम्बर हेर्दा देउवा नै नेतामा चयन हुने र प्रधानमन्त्री हुने सम्भावना छ । देउवासँग तपाईंको कुरा मिलिसकेको चर्चा पनि भयो । मिलिसक्नु भएको हो ?

एउटा कुरा के भने शेरबहादुर जी र म मिलिसकेको भनेको कुनै अर्को प्रसंगमा हो । पत्रकारले एउटा कुरालाई मात्रै टिपेर समाचार बनाउनु हुँदैन । मैले सबै कुरामा मिलिसक्यो भनेको होइन । मैले कुन प्रसंगमा भनेको भने संसदीय बोर्डमा म पनि छु । मिलेर भएपनि, झगडा गरेर भएपनि चुनावका लागि टिकट वितरण भइसकेपछि पनि तल किन झगडा गर्ने भनेर मैले भनेको हो । तपाईंहरुले बंग्याएर लेख्नुभयो ।

अर्को कुरा नम्बर गेममा शेरबहादुर जीकै बर्चस्व छ भन्ने देखिन्छ । हामी कसरी जाने भन्ने विषयमा सभापतिसँग कुरा गरेरै अगाडि बढ्ने हो । अन्य साथीहरुसँग पनि कुरा गर्छौं । पिपुलको चाहना एउटा छ, त्यो चाहना विपरीत जान सक्ने अवस्था पनि छैन ।

संसदमा सबै कुरामा ह्वीप लाग्दैन । गलत काम भएको छ भने संसदमा पनि उठाउँछौं र बाहिर पनि उठाउँछौं । भातृ संगठनमार्फत् पनि हामी ती कुरा उठाउँछौं । एउटा कुरा चाहिं के सत्य हो भने सुशासन बिना देश चल्दैन । भ्रष्टाचार नियन्त्रण गर्न सकेनौं भने पनि देश चल्दैन ।

देश आर्थिक रुपमा संकटमा छ । त्यसलाई उकास्नका लागि पनि भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्दछ । हामी आफ्नै पार्टीका नेताले गल्ती गरेको खण्डमा पनि संसदमा आवाज उठाउँछौं ।

तपाईलाई कुनै शक्तिशाली मन्त्री बनाउने अवस्थामा क्याबिनेटमा जानुहुन्छ कि हुन्न ?

अहिले मन्त्रीमण्डलमा जाने नजाने कुरा भेग कुरा भयो । अहिले भन्न सक्ने अवस्था छैन ।

अहिले आएको जनमतलाई कसरी लिनु भएको छ ?

अहिले आएका नयाँ पार्टीको विषयमा उनीहरुको आइडोलोजी के हो भन्ने विषय नै कन्फ्युजन भएको छ । सभापतिले एउटा भन्नु भएको छ, प्रवक्ताले अर्को भन्नु भएको छ । उहाँहरुले वैचारिक हिसाबले भन्दा सुशासनको एजेण्डाले अगाडि बढ्न खोजेको बताउनु भएको छ । आउने दिनमा उहाँहरुले कुन विचारधारा अंगाल्नु हुन्छ, त्यसपछि अन्य कुरा भन्न सकिन्छ ।

अहिले अलिक पश्चगामीहरुको ह्वीम विश्वमै आएको छ । काँग्रेसलाई सेन्टर टु राइट तिर लान खोज्ने कसरत पनि भएको छ । खास के हो ?

नेपाली काँग्रेस अहिले पनि सेन्टर टु लेफ्ट नै हो । काँग्रेसभित्र लिबरल जति छन्, उनीहरु सेन्टर टु लेफ्ट नै हुन् । नेपाली काँग्रेस ‘मास बेस’ भएको कारण त्यहाँ कतिपय मानिसहरु त्यस्ता पनि हुन सक्छन् ।

मत परिणाम कत्तिको अपेक्षित छ ? गठबन्धन सफल भयो ?

नेपाली काँग्रेसको रिजल्ट यस्तै हुन्छ भन्ने मैले सोचेको थिएँ । प्रत्यक्षमा ५५–६० र समानुपातिकमा ३०–३५ नै भनेको थिएँ । त्यसकारण यो मैले सोचेकै, भनेकै कुरा हो ।

अबको संसद पाँच वर्ष नै टिक्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

एउटा सांसदको रुपमा म विश्वस्त छु ।

काँग्रेसको झगडाले पार्टी फुट्छ भन्ने हल्ला पनि छ नि ?

काँग्रेस फुट्दैन ।

गठबन्धनमा कतै हार्ने, कतै जित्ने भएको छ । यो कस्तो खालको गठबन्धन हो ?

हामी यो समीक्षा गरेर अगाडि बढ्छौं । हाम्रा साथीहरुले सम्वेदनशील भएर मेहनत गरेको भए अझै धेरै ठाउँमा जित हुने थियो, त्यो भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप