शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप २०२२ : फ्रेपार्ट र उनका सहकर्मीले महिलामाथिको पूर्वाग्रहलाई कसरी जिते ?

कतारमा महिला रेफ्री इतिहास रच्न तयार
बिहीबार, १५ मङ्सिर २०७९, १६ : ०१
बिहीबार, १५ मङ्सिर २०७९

न्युजा ब्याक पछिल्लो पटक खेलका लागि कतारमा हुँदा २०२० फिफा क्लब विश्वकप फाइनलमा अफिसिएट टोलीको हिस्सा थिइन् । त्यतिबेला युरोपियन च्याम्पियन बायर्न म्युनिखले मेक्सिकोका दिग्गज टाइग्रेसलाई अल रेयानमा १–० ले हराएको थियो ।

पश्चिमी ब्राजिलबाट उनले पहिले नै आफ्नो देशमा शीर्षस्तरीय खेलहरूको जिम्मेवारी लिइसकेकी थिइन् । साथै सन् २०१९ मा फ्रान्समा आयोजित विश्वकपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी थिइन् ।  उनी फिफाको फ्ल्यागशिप क्लब इभेन्टमा रिजर्भ असिस्टेन्ट रेफ्री थिइन् । उनीसँगै एडिना बटिस्टा पनि थिइन्, ‘फोर्थ अफिसियल’का रुपमा ।

खेलपछिको प्रस्तुती समारोहमा कतारको शाही परिवारका शेख जोआन बिन हमाद अल थानीले पदक लिन जाँदै गर्दा सबै पुरुष खेलाडी र अधिकारीलाई खुसीसाथ मुठ्ठी ठोक्काए तर शेख नजिकै जब ब्याक र बटिस्टा पुगे, तब उनले दायाँतिर हेरेर उनीहरुलाई वास्तै गरेनन्, मानौँ कि उनीहरु अस्तित्वमै थिएनन् ।

इस्लामिक कानुनले पुरुषहरूलाई आफ्नो नजिकको परिवारको सदस्य नभएका महिलालाई शारीरिक रूपमा छुन निषेध गर्दछ, तर नछोइकनै आदरभाव व्यक्त गर्न उनीहरुलाई यो कानुनले रोक्दैन ।

घटनाको फुटेज छिट्टै नै भाइरल भयो । आयोजकहरूले यसबारे स्पष्टिकरण दिँदै भने – यो कोभिड–१९ को हाइजिन प्रोटोकलसँग सम्बन्धित एक सानो भ्रम हो ।

तर कतारका आलोचकहरुले भने खाडी राज्य आफ्नो कडा कानुनका साथ विश्वव्यापी खेल कार्यक्रमहरु आयोजना गर्न अनुपयुक्त रहेको भन्दै यसलाई थप प्रमाणको रुपमा व्याख्या गरे ।

अब, मेक्सिकोकी केरेन डियाजसँगै, ब्याक बिहीबार विश्वकप अन्तर्गत कोस्टारिका र जर्मनीबीचको खेलमा मुख्य रेफ्री स्टेफानाइन फ्रापार्टको सहयोगीको रुपमा चुनिएकी छिन् । फ्रापार्ट पुरुष विश्वकप खेलको जिम्मेवारी लिने पहिलो महिला रेफ्री बन्नेछिन् ।

यी तीन जना प्रतियोगिताको १२९ सदस्यीय अफिसिएटिङ टोलीमा रहेका ६ महिलामध्येका हुन् । यसमा सहायक रेफ्री क्याथरिन नेस्बिट (संयुक्त राज्य अमेरिका) र केन्द्रीय रेफ्रीहरु योशिमा यामाशिता (जापान) र सलिमा मुकानसांगा (रुवान्डा) पनि छन् । यीमध्ये कतारमा अहिलेसम्म यामाशिताले सबैभन्दा धेरै कार्य गरेको देखिन्छ । उनलाई चारवटा खेलमा ‘फोर्थ अफिसियल’को रुपमा तैनाथ गरिएको छ । बिहीबार क्यानडा र मोरोक्कोको खेलमा पनि उनी तैनाथ हुनेछिन् । मुकानसाङ र फ्रापार्टले ‘फोर्थ अफिसियल’को रुपमा दुई वटा खेलमा काम गरिसकेका छन् ।

तर सबैको आँखा फ्रापार्ट, ब्याक र डियाजमा छ । प्रतियोगितामा महिला रेफ्री र पुरुष रेफ्रीहरूको अनुपात कम रहे पनि विश्लेषकहरू मान्छन् कि यो कदम महत्वपूर्ण छ, विशेष गरी कतारजस्तो देशमा ।

‘कतारमा यस्तो हुन लागेको छ, यो एक शक्तिशाली मेसेज हो,’ इक्वल प्लेइङ फिल्डकी सह–अध्यक्ष इरिन ब्ल्याङकेनसिपले भनिन् । खेलकुदमा महिलाहरूको राम्रो प्रतिनिधित्वका लागि जोड दिने यो एक गैर– नाफामुखी संस्था हो ।

‘म विश्वकपमा महिला र पुरुषको संलग्नतामा ५०÷५० आशा गर्दिनँ,’ ब्ल्याङ्केनसिपले भनिन्, ‘तर मलाई लाग्छ, हामी यो बिन्दुमा पुग्दैछौँ, जहाँ तपाईंको यौनिकता के हो भन्ने कुराले फरक पार्दैन । यदि तपाईं आफ्नो काममा उत्कृष्ट हुनुहुन्छ भने तपाईंलाई त्यो क्षेत्रमा हुने सबै अधिकार छ । मेरो लागि यही नै लक्ष्य हो ।’

लैङ्गिक समानताको प्रतिक ?

विश्वकपमा महिला रेफ्रीको उपस्थितिलाई सबैले सकारात्मक परिवर्तनको रुपमा हेरेका छैनन् । केही फुटबल प्रशंसक, विशेषगरी पुरुषले रेफ्रीलाई ट्रोल गरेका छन् र पुरुषहरुको ठाउँ कब्जा गरेको भन्दै विरोध गरेका छन् ।

बिहीबारको खेलमा केन्द्रमा रहने फ्रापार्टको अत्यधिक आलोचना भइरहेको छ । ३८ वर्षकी उनी फ्रान्सको शीर्ष रेफ्रीमध्ये एक हुन् । सन् २०१९ मा पुरुषको यूइएफए सुपर कप फाइनल (लिभरपुलविरुद्ध चेल्सी) का साथै सन् २०२० मा पुरुषको यूइएफए च्याम्पियन्स लिग खेल (युभेन्टस भर्सेर डायनामो किभ) लाई अफिसियट गर्ने उनी पहिलो महिला बनिन् ।

फ्रापार्ट एक अन्तरमहादेशीय ‘फोर्स’ पनि हुन् । उनी एक दशकभन्दा बढी समयदेखि फिफा अन्तर्राष्ट्रिय रेफ्रीहरूको सूचीमा छिन् र उच्च–प्रोफाइल खेलहरु सञ्चालन गर्दै आएकी छिन् । तर फ्रापार्टको सफलता तरबारको धारमा छ । जति उच्च प्रोफाइल, त्यति नै धेरै आलोचना । पूर्व फ्रान्सेली अन्तर्राष्ट्रिय जेरोम रोथेनले एक रेडियो शोमा उनलाई कतार विश्वकपमा चयनको चर्को आलोचना गरेका थिए ।

‘मानिसहरुले यस्तो भन्छन् किनभने उनीहरुलाई लाग्छ कि महिलाहरु उत्कृष्ट लिगका लागि राम्रो हुन सक्दैनन् किनभने यो पुरुषको खेल हो,’ ब्ल्याङ्केनसिपले भनिन्, ‘तर महिला खेलाडी यत्तिको टाढा आइपुग्नुको अर्थ उनीहरुलाई थुप्रै पटक पछाडि धकेल्न कोसिस गरिएको छ र उनीहरुले थुप्रै अदृश्य पहाड चढेका छन् ।’

नर्भस, तर तयार

फ्रापार्टले फ्रान्समा अराजकताको लडाइँ जारी राख्दा उनकी सहकर्मी सलिमा मुकानसांगाले रुवाण्डामा विभिन्न चुनौतीको सामना गरिन् ।

रुवाण्डामा पुरुष राष्ट्रपति पल कागामेको शासन भएता पनि संसदीय सिटको झण्डै दुई तिहाइ महिलाको हातमा छ ।

फुटबल रेफ्रीहरू, पुरुष र महिला दुवै, अझै पनि प्रशंसकहरूका लागि शत्रु हुन् । मुकनसांगाका आफ्नै बुबा पनि, जसले आफ्नो टोली हारेपछि अधिकारीहरूलाई पिट्ने गर्थे ।

जब उनी किशोरी थिइन्, मुकनसांगाले खेलाडीहरूलाई आदेश दिने रेफ्रीहरूलाई खेलको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वको रूपमा देखिन् । उनले १५ वर्षमा आफ्नो माध्यमिक शिक्षा पूरा गरेपछि सिधै रेफ्री हुने बाटोमा लागिन् । स्थानीय रुवान्डा लिगहरूबाट विश्वका केही महत्त्वपूर्ण खेल सञ्चालन गर्न निरन्तर रूपमा काम गरिरहिन्  ।

३३ वर्षीया उनी क्यामरुनमा अफ्रिका कप अफ नेसन्स प्रतियोगितामा दुई खेल खेलाउने पहिलो महिला रेफ्री बनेपछि यस वर्षको सुरुमा हेडलाइन बनेकी थिइन् ।

प्रतियोगिता सुरु हुनु अघि आफू नर्भस भएको मुकानसांगाले ‘डीडब्ल्यू’लाई भनिन् । उच्च मापदण्डका कारण र पुरुष प्रतियोगिता ह्यान्डल गर्ने उनी पहिलो महिला मध्येकी एक भएकाले पुरुषको खेलमा धेरै दबाब भएको बताउँछिन् । उत्साहित रुवान्डाको समर्थनले उनलाई थप दबाब दिएको थियो ।

तर उनले आफ्नो डरमाथि विजय प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप