जसपालाई सत्ता गठबन्धनमै फर्काउने तयारी

जनता समाजवादी पार्टी नेपाललाई पुनः सत्ता गठबन्धनमै फर्काउन पहल भइरहेको छ । आम निर्वाचन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ताको केही दिनअघि सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेको जसपालाई फेरि सत्ता गठबन्धनमै फर्काउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल चलाएका छन् ।
मंसिर १३ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लामो छलफल भएको छ । गठबन्धनमा फर्किन जसपा अध्यक्ष यादव पनि सकारात्मक रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
नयाँ सरकार बनाउन सत्तारुढ गठबन्धनसँग पूर्ण बहुमत नभएकै कारण सत्ता समीकरणमा जसपालाई सामेल गर्ने प्रयासस्वरुप सो पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिएको स्रोतको भनाइ छ । गठबन्धनमा फर्किन अध्यक्ष यादव सकारात्मक देखिए पनि उनी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि निकट सम्पर्कमा रहेको बताइन्छ ।
सप्तरी–२ मा पराजित भएपछि काठमाडौं फर्केका अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीसँग पनि छलफल गरिसकेका छन् । जसपाका एक नेताले भने, ‘हाम्रो पार्टीले दुवै गठबन्धनसँग कुराकानी गरिरहेको छ, जोसँग कुरा मिल्छ, हाम्रो मुद्दा र एजेण्डालाई जसले साथ दिन्छ, उसैलाई सहयोग गर्ने हाम्रो रणनीति छ ।’
ती नेताले जसपा अहिले कुनै पनि गठबन्धनमा नरहेको दाबी गरे । उनले भने, ‘चुनावमा एमालेसँग केही सिटमा तालमेल मात्र गरिएको थियो । चुनाव सकिएपछि अहिले त्यो दलसँग कुनै गठबन्धन छैन ।’
केही पहिले जसपाका अध्यक्ष यादवले आफ्ना निकट नेताहरुलाई बोलाएर जसपा कुनै गठबन्धनमा नरहेको र जुन दलसँग मुद्दा र एजेण्डामा कुरा मिल्छ, त्यही दलसँग सहकार्य गर्ने भनेको ती नेताले रातोपाटीलाई जानकारी दिए । चुनाव सकिएसँगै एमालेसँगको गठबन्धन पनि सकिएको अध्यक्ष यादवले बताएको उनको भनाइ छ ।
जसपाले यो चुनावमा अपेक्षाकृत सिट ल्याउन नसकेपछि पार्टीमा गम्भीर समीक्षा सुरु भएको छ । पार्टीका अध्यक्ष स्वयं नै पराजित भएको विषयलाई गम्भीर रुपमा लिएर समीक्षा भइरहेको बताइन्छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिर १३ गते प्रदेश तथा जिल्ला समन्वय समितिलाई परिपत्र पठाएर चुनावी समीक्षा गरेर १५ दिनभित्र केन्द्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने