शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँगको गठबन्धनले जसपालाई ठुलो क्षति भयो :  यादव

उपेन्द्र यादवको क्षेत्रमा एमालेले सिके राउतलाई मत हाल्यो
शुक्रबार, १६ मङ्सिर २०७९, ०९ : १९
शुक्रबार, १६ मङ्सिर २०७९

सत्तापक्षसँगको चुनावी तालमेल तोडेर अन्तिम समयमा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीलाई मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ठुलो क्षति भएको छ ।

२०७४ को निर्वाचनमा मधेस प्रदेशको पहिलो पार्टी बनेको जसपा यसपटक तेस्रो स्थानमा झरेको छ भने जसपासँग गठबन्धन गरेको एमाले तेस्रो दलबाट पहिलो पार्टीको रुपमा उदायको छ । २०७४ मधेस प्रदेशका ८ जिल्लामा जसपाले प्रतिनिधिसभा सदस्य तर्फ समानुपातिकसहित १६ सिट र प्रदेश सभामा २९ सिट जितेको थियो । तर, यसपटक भने प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ र प्रदेशमा ९ सिटमा मात्रै निर्वाचित भएको छ । जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादव एमालेसँगको गठबन्धनमा बारा,पर्सा, रौतहटसहित सबै जिल्लामा ठुलो क्षति भएको बताउँछन् ।

‘यसपटक मधेस प्रदेशमा जसपाको आधा सिट घटेको छ,अन्तिम अवस्थामा एमालेसँगको गठबन्धनले हामीलाई ठुलो धक्का लाग्यो बरु  हामी सिङ्गल नै चुनावको तयारी गरेको भए यो अवस्था हुँदैनथ्यो, आफ्नै साथीहरु टिकट नपाएर अन्य पार्टीमा प्रवेश गरेर चुनाव लडे’ यादवले भने । २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)  र संघीय समाजवादी फोरम पार्टी (हालको जसपा)बीच चुनावी तालमेल हुदाँ पर्साको ४ मध्ये ३ वटा संघीय र ४ वटा प्रदेश सभा सदस्यमा जसपा निर्वाचित भएको थियो ।

तर यसपटक एमालेसँगको चुनावी तालमेलमा पर्सा निर्वाचन क्षेत्र नं १ मा प्रदीप यादव र प्रदेशतर्फ १ (ख) मा मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत र ४ (ख) सिंगासन साह कलवार मात्रै निर्वाचित भएका छन् । जसपा नेपाल पर्साका सचिव तबरेज अहमदले एमालेसँगको चुनावी तालमेलले पार्टी नै कोल्याप्स हुने अवस्थामा पुगेको बताए । ‘हामीले ईमानदार पूर्वक मत दिँदा एमालेलाई धेरै फाइदा भयो, एमाले मधेस प्रदेशमै पहिलो पार्टी भयो तर एमालेले हामीलाई भोट दिएन, ठुलो धोका भयो’ सचिव अहमदले भने ।

२०७४ मा बारामा २ संघीय र ३ वटा प्रदेशसभा सदस्यमा निर्वाचित भएको जसपाले यसपटक एउटा प्रतिनिधि सभा सदस्य र २ वटा प्रदेशसभा सदस्य पदमा मात्रै निर्वाचित भएको छ ।

जसपासँग चुनावी तालमेल गरेको एमाले भने बारामा २ संघीय र ४ प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो पार्टी बनेको छ । बारा–३ मा जसपा मधेस प्रदेशका अध्यक्ष रामवावु यादव आफै पराजित भए बारा २ बाट पूर्वमन्त्री रामसहाय यादव र प्रदेश तर्फ मधेस प्रदेशका सभामुख सरोज यादव र वच्चा यादव मात्रै निर्वाचित भएका छन् ।

जसपा मधेस प्रदेश अध्यक्ष यादवले निर्वाचनको मुखमा सत्तापक्षसँगको गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नु ठुलो भुल भएको टिप्पणी गरेका छन् । ‘तुरुन्तै गठबन्धन परिवर्तन गर्नु गलत भयो, एकाएक जनताले पुरानो गठबन्धनमा हामीलाई रुचाएका थिए, एमालेसँग गठबन्धनमा जाँदा पार्टीलाई ठुलो धोका भयो’ यादवले भने ‘एमाले मधेशको विपक्षमा, नागरिकताको विपक्षमा, संविधानलाई नरुचाउने गतिविधिको असर हामीलाई देखियो, त्यसको असरले हाम्रो मत सिके राउतले पाएको देखिन्छ’ निर्वाचनको मुखमा नागरिकता विधेयकमा राष्ट्रपतिले चालेको कदममा साथ दिएको एमालेसँग गठबन्धन गर्नु गलत भएको जसपाको ठहर छ ।

‘जिल्लागत रुपमा विश्लेषण गर्दा पनि बारा, पर्सा, रौतहट सहित सबै ठाँउमा छुटछुट्टै चुनाव लडेको भए सन्देश राम्रो जान्थ्यो, बाराको २ नं क्षेत्रमा एमालेसँग गठबन्धन हुँदा हाम्रो सबै मत एमालेलाई गएको छ तर, एमालेले सबै मत चाँपागललाई हालिदियो’ यादवले गुनासो गरे ‘यसपटक मधेशप्रदेशमा जसपाको आधा सिटमा खुम्चिएको छ,अन्तिम अवस्थामा एमालेसँगको गठबन्धनले ठुलो धक्का लाग्यो’

उपेन्द्र यादवको क्षेत्रमा एमालेले सिके राउतलाई मत हाल्यो
जसपा मधेस प्रदेश अध्यक्ष यादवले जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई हराउन एमालेले सिके राउतलाई मत हालेको आरोप लगाएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं २ मा दोब्बर भन्दा बढी मतले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत निर्वाचित भएका छन् । सो निर्वाचन क्षेत्रमा सिके राउतले ३५ हजार ४२ मत ल्याउँदा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भने १६ हजार ९७९ मत मात्रै प्राप्त गरेका छन् । जसपा केन्द्रीय कार्यकारिणी सदस्य रामसहाय यादवले  केन्द्रीय अध्यक्ष विरुद्व चौतर्फी रुपमा घेराबन्दी भएको बताउँछन् । ‘हाम्रो केन्द्रीय अध्यक्षलाई हराउन ठुलै शक्ति लागेको देखिन्छ’ कार्यकारिणी सदस्य यादवले भने ।

यता मधेस प्रदेश अध्यक्ष रामवावु भने केन्द्रीय अध्यक्षलाई हराउन एमाले नै नियोजित ढंगले सिके राउतलाई भोट हालेको दावी गरेका छन् । ‘हामीले एमालेलाई सहयोग नगरेको भए बारा १ नं क्षेत्रमा कांग्रेसले राम्रो मतले जित्थ्यो,अरु ठाँउमा एमालेले हामीलाई असहयोग गर्यो, बारा ४ (ख) मा एमालेले चाँपागललाई मत हालेको छ’ उनले भने ‘बारा,पर्सा,रौतहटमा एमालेसँग तालमेलको कुनै फाइदा देखिएन,  हामीले इमानदार पूर्वक मत दियौँ तर एमालेले धरापमा पार्यो’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप