ओसामाले घरपालुवा कुकुरमा रासायनिक हतियारको परीक्षण गर्थे : छोरा उमरले भने– आँखै अगाडि प्रयोग हुन्थ्यो
चरमपन्थी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनले आफ्ना घरपालुवा कुकुरहरूमा रासायनिक हतियार परीक्षण गर्ने गर्दथे । यो खुलासा उनका छोरा उमरले गरेका छन् । यति मात्र होइन, एक अन्तरवार्तामा उनले आफूलाई ओसामाद्वारा पीडितसमेत भनेका छन् ।
बेलायती पत्रिका ‘द सन’ का अनुसार कतार आएका ओसामाका जेठा छोरा उमरले भने, ‘ मेरो बुबाले मैले उहाँको पाइला पछ्याओस् भन्ने चाहनुहुन्थ्यो । मैले त्यो चाहिनँ । हामी अफगानिस्तानमा बस्दा उहाँले मलाई हतियार चलाउन तालिम दिनुहुन्थ्यो । उहाँले हाम्रो पाल्तु कुकुरमा रासायनिक हतियार परीक्षण पनि गर्नुभयो ।’
उमरले भने, ‘बुवाको क्रियाकलापले दुःखी थिएँ’
जनावरमा हुने गरेको रासायनिक प्रयोग बारेमा कुरा गर्दै उमरले भने, ‘मैले आफ्नै आँखाले देखेको छु । मेरो घरपालुवा कुकुरमाथि रासायनिक हतियार परीक्षण गरिएको थियो । मलाई यो पटक्कै मन पर्दैनथ्यो । मलाई त्यो देख्दा असाध्यै दुःख पनि लाग्थ्यो । म हेर्न पनि सक्दिनथेँ । म यी सबैकुरा भुल्न चाहन्छु ।’
ओसामाले उमरलाई आफ्नो उत्तराधिकारी मान्दथे
४१ वर्षीय उमर हाल आफ्नी श्रीमती जैनासँग फ्रान्सको नर्मन्डीमा बस्छन् । हाल कतार भ्रमणमा छन् । यतिबेला दिएको एक अन्तरवार्तामा उनले भने, ‘हामी चार दाजुभाइ हौँ । मलाई आतंकवादी संसारमा बस्न मन लागेन । मैले बुबा ओसामासँग बिदा मागेँ र उहाँले मलाई बिदा दिनुभयो तर म जाँदा उहाँ खुसी हुनुभएन । उहाँले मलाई अल–कायदामा सामेल हौ भनेर कहिल्यै सिधै भन्नुभएन तर उहाँले सधैँ म उहाँको उत्तराधिकारी हुँ भनेर भन्नुहुन्थ्यो ।’
बुबाले नराम्रो काम गर्नुभयो भनेर विश्वास नै लाग्दैन
उमरकी श्रीमती जैनाले भनिन्, ‘उमरको बाल्यकाल अन्धकारमा बित्यो । उनी अझै स्तब्ध हुन्छन् । उनी अहिले पनि निकै तनावमा हुन्छन् । उनलाई कहिलेकाँही प्यानिक अट्याक पनि हुन्छ । बुवाले खराब काम गर्नुभयो भनेर उनी अझै पनि विश्वास नै गर्न सक्दैनन् । उनी आफ्नो बाल्यकाल स्मरण गर्नै चाहँदैनन् किनभने उनले सानै उमेरमा पिताको निर्देशनमा हतियार बोके र आफ्ना घरपालुवा जनावारमाथि एक्सपेरिमेन्ट भएको देखेका थिए ।’
ओसामालाई ९/११ आक्रमणको आरोप
सेप्टेम्बर ११, २००१ मा, १९ चरमपंथीले ४ व्यावसायिक विमान अपहरण गरे र अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काए । अमेरिकामा यसलाई ९/११ आक्रमण भनिन्छ । यस हमलामा ९३ देशका २ हजार ९७७ जनाको मृत्यु भएको थियो ।
अमेरिकी सेनाले ओसामालाई मारे
उमर मे २, २०११ मा कतारमा थिए, जब उनले अमेरिकी नौसेना सिलहरूले पाकिस्तानको एक सुरक्षित घरमा लुकेर बसेका आफ्ना बुबालाई मारेको खबर सुने । अमेरिकी नौसेनाले बिन लादेनको मृत्यु भएको २४ घन्टाभित्रै सुपर क्यारियर युएसएस कार्ल भिन्सनबाट उनको शव समुद्रमा गाडेको थियो । उमरले भने, ‘मलाई थाहा छैन कि उनीहरूले बुबा ओसामाको शवलाई के गरे । तिनीहरूले बुवाको शवलाई समुद्रमा फ्याँके भन्छन् तर म यसलाई विश्वास गर्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने