बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रिब्लिङका राजा गरिन्चा : जसका अघि पेले पनि फिक्का हुन्थे

शुक्रबार, १६ मङ्सिर २०७९, १२ : २२
शुक्रबार, १६ मङ्सिर २०७९

नोभेम्बर २० देखि कतारमा फुटबल महाकुम्भ अर्थात् विश्वकप फुटबल आयोजना भइरहेको छ । फुटबललाई चिन्नेहरूलाई थाहा छ, ड्रिब्लिङलाई फुटबलको सौन्दर्य मानिन्छ । ड्रिब्लिङ भनेको खेलाडीले बलसँग खुट्टाको समन्वय गर्दै आफू अघिका प्रतिद्वन्द्वीलाई छल्दै अघि बढ्ने कला हो । यसलाई फुटबलको सबैभन्दा कठिन विधा मानिन्छ ।

समकालीन समयमा राम्रो ड्रिब्लिङ गर्ने भएकाले नै मेस्सीको जादू यति लामो समय टिकिरहेको छ । मेस्सीअघिका ब्राजिलका सुपरस्टार रोनाल्डिन्हो, फ्रान्सेली लेजेन्ड जिनेदिन जिदान पनि आफ्नो ड्रिब्लिङमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँथे । 

दिग्गज फुटबल फ्यानहरू म्याराडोनाजस्ता ड्रिबलर शताब्दीमा एक पटक आउने बताउँछन् । म्याराडोनाअघिको युगका दिग्गज ड्रिब्लरमा इङ्ग्ल्यान्डका फुटबलर जर्ज बेस्ट र डच फुटबलर जोहान क्रुफको नाम सम्झना गरिन्छ । 

यहाँ ड्रिब्लिङको संसारको राजाका रूपमा नाम कहिलिने गरिन्चाको चर्चा गरिँदैछ । गरिन्चा फुटबलका जादुगर मानिने पेलेकै समयमा पनि सुपरस्टार फुटबलर थिए । त्यही कारण पेलेसमेत सहभागी रहको ब्राजिलको टिमको कुनै प्रतियोगिता हुँदा पत्रिकाहरू लेख्थे, ‘आगामी बिहीबार, फेरि देखिनेछ गरिन्चाको जादु ।’ फर्ममा हुँदा गरिन्चालाई पेलेभन्दा पनि उत्कृष्ट खेलाडी मानिन्थ्यो । 

गरिन्चाको नाम कसरी रह्यो भन्ने रोचक कथा छ । गरिन्चा खासमा ब्राजिलमा पाइने सानो चरा हो । बाल्यकालमा उनी अन्य बालबालिकाको तुलनामा होचो र लिखुरे भएकाले उनलाई चराको नामबाटै गरिन्चा भन्न थालियो । 

‘सबैभन्दा उत्कृष्ट ड्रिब्लर’
सन् १९३३ अक्टोबर २८ मा ब्राजिलको रियो दी जेनेरियोको एउटा बस्तीमा जन्मिएका गरिन्चाको खुट्टामा समस्या थियो । उनको दाहिने खुट्टा देब्रे खुट्टाभन्दा ६ सेन्टिमिटर छोटो थियो र देब्रे खुट्टा पनि भित्रतिर मोडिएको थियो । यसले गर्दा उनी धेरै उमेरसम्म पनि सिधा उभिन सकेनन् ।

तर गरिन्चाले कालान्तरमा यो कमजोरीलाई ड्रिब्लिङ कला तिखार्न प्रयोग गरे । जब उनी विपक्षी टोलीका डिफेन्डरलाई छल्दै अघि बढ्थे तब रङ्गशालामा उपस्थित दर्शक उनको खेलमा मखलेल हुन्थे । कति मानिस गरिन्चाको कलाले हसाउँथ्यो । यसै कारणले गर्दा गरिन्चाको फुटबललाई ‘पिपुल्स जोय’ वा फुटबलको ‘चार्ली च्याप्लिन’ भन्न थालियो । 
गरिब परिवारमा हुर्किएका गरिन्चाले जँड्याहा पिताबाट रक्सीको लतबाहेक केही पाएनन् । परिवारको आर्थिक कठिनाइका कारण गरिन्चाले १४ वर्षको उमेरमा कपडा मिलमा मजदुरको रूपमा काम गर्न थाले । उनी काममा अल्छी मानिन्थे तर मिलभित्रको फुटबल टिमका उस्ताद थिए । यही कारण उनलाई जागिरबाट हटाइएन । 

ब्राजिलका पत्रकार रोय क्यास्ट्रोले गरिन्चाको जीवनलाई ‘गरिन्चा– द ट्राइम्फ एन्ड ट्र्याजेडी अफ ब्राजिलज फरगटन फुटबलिङ हिरो’ नामक पुस्तकमा उतारेका छन् । यो पुस्तक गरिन्चाको असामयिक मृत्युको १२ वर्षपछि प्रकाशित भएको थियो । पुस्तक प्रकाशित भएको दस वर्षपछि बल्ल पुस्तक अङ्ग्रेजी अनुवाद भएर आयो ।

गरिबीका बीच श्रम गर्दै हुर्किएका गरिन्चाले कुनै व्यावसायिक फुटबल क्लबमा कला तिखार्न पाएका थिएनन् । एक समय उनले खेलिरहेको देखेपछि ब्राजिलका सर्वोत्कृष्ट फुटबलर निल्टन सान्तोसले १९ वर्षका गरिन्चालाई बोटोफोगो क्लबमा ल्याएका थिए । पेलेले विश्वकप नै १७ वर्ष खेलेको इतिहासमाझ गरिन्चा १९ वर्षमा बल्ल व्यावसायिक क्लब खेल्न पाएका थिए । 

क्लबमा खेल्न थाले पनि सन् १९५४ को विश्वकपमा उनले राष्ट्रिय टोलीमा स्थान पाउन सकेनन् । गरिन्चाले क्लबका लागि राम्रो प्रदर्शन जारी राखे । सन् १९५३ मा क्लबका लागि २० गोल गरे । त्यही वर्ष राष्ट्रिय छनोटमा छनोट हँुदै दायाँ विङ्गरका रूपमा खेल्ने भए । 

पेलेले आफ्नो संस्मरण ‘ह्वाइ सकर म्याटर्स’मा गरिन्चाका बारेमा पनि लेखेका छन् । वास्तवमा, पेले र गरिन्चा दुवैले एकै पटक खेलेको खेल पहिलो पटक सन् १९५८ को विश्वकपमा देखिएको थियो ।

गरिन्चाको शारीरिक क्षमतामा टोली व्यवस्थापनलाई शङ्का थियो नै साथमा मानसिक परीक्षणमा गरिन्चा असफल भए । पेलेले आफ्नो पुस्तकमा लेखेका छन्, ‘गरिन्चाले आफ्नो पेसाको स्पेलिङ पनि गलत लेखेका थिए तर यदि सही स्पेलिङ लेख्नुलाई मापदण्ड मानिन्थ्यो भने टोलीका कुनै पनि खेलाडीले विश्वकपमा भाग लिन सक्ने थिएनन् ।’

ब्राजिल पहिलो च्याम्पियन बन्दाका पेलेसँगैका स्टार

रोचक कुरा, त्यस मानसिक परीक्षणमा गरिन्चाबाहेक असफल टोलीका अर्को खेलाडी थिए पेले । डाक्टरले कम उमेरका कारण उनले विश्वकपजस्तो खेलको दबाब सहन सक्दैनन् भनिदिएका थिए । पछि गएर सो विश्वकप पेले र गरिन्चाकै कारण ब्राजिलको हातमा गयो र पहिलो पटक ब्राजिल फुटबल प्रतियोगिताको विश्व च्याम्पियन बन्न सफल भयो ।

टोलीका प्रशिक्षकले मनोचिकित्सक र चिकित्सकको रायविपरीत यी दुई खेलाडीलाई टोलीमा समावेश गर्ने निर्णय गरेपछि यो फरक नतिजा आएको थियो । 

सन् १९५८ को विश्वकपको फाइनल खेलको स्मरण गर्दै पेले लेख्छन्, ‘मैले स्विडेनविरुद्ध अन्तिम क्षणमा हेडरमार्फत पाँचौँ गोल गरेँ, त्यो हेडपछि एक्कासि मेरो आखाँमा अँध्यारो छायो । म गोलपोस्टअघि नै पल्टिएँ, हचलचल नगरी । गरिन्चा मतिर दौडने पहिलो व्यक्ति थिए । उनी एक शुद्ध आत्मा भएका खेलाडी थिए । उनले मेरो खुट्टा माथि उठाएर टाउकोमा रगतको प्रवाहलाई पुनः सुरु गर्ने प्रयास गरे । होश आउँदा मेरो टोली उत्सव मनाउँदै गरेको देखेँ ।’

यस विश्वकपमा वेल्सको टोलीका डिफेन्डर मेल हप्किन्सले खेलपछि पेलेभन्दा गरिन्चा धेरै खतरनाक रहेको र हेर्नेलाई उनको खेल जादूझै लागेको प्रतिक्रिया दिएका थिए । यी दुई खेलाडीबीचको समन्वय यस्तो थियो कि यी जति पनि खेलमा सँगै खेले ब्राजिलले कहिल्यै हारेन । पेले र गरिन्चाले सँगसँगै ४० खेल खेले, जसमा ब्राजिलले ३६ खेल जित्न सफल भयो भने चार खेल बराबरीमा टुङ्गियो । 

भनिन्छ नि एक प्रतिभाशालीले मात्र अर्को प्रतिभाको सम्मान गर्न जान्दछ । यो कुरा फुटबलका जादुगर पेलेले २०१८ अगस्ट १ मा आफ्नो फेसबुक अकाउन्टबाट लेखेका कुराले झल्काउँछ । त्यहाँ उनले गरिन्चाको सम्झना गर्दै लेखेका थिए, ‘मैले मेरो जीवनमा गरिन्चाभन्दा राम्रो खेलाडीसँग वा विरुद्ध खेलेको छैन । मैदानमा हुँदा हामी टिम–मेट्स थियौँ, मैदानबाहिर दाजुभाइ ।’

यथार्थ त्यस्तै पनि थियो । सन् १९५८ पछि गरिन्चा र पेले ब्राजिलका दुई सुपरस्टारका रूपमा उदाए । बीबीसीको च्यानल फोरले २००२ मा ‘गड्स अफ ब्राजिल– पेले र गरिन्चा’ नामक वृत्तचित्र बनाएको थियो । दुई भागको यो शृङ्खलामा पेले र गरिन्चालाई लिएर आम मानिसमा निकै क्रेज रहेको देखिन्छ ।

जीवनका महìवपूर्ण समयमा राम्रो वातावरणको महìव पेले र गरिन्चाको जीवनका बीचमा देखिएको भेदबाट बुझ्न सकिन्छ । रोय क्यास्ट्रोले आफ्नो पुस्तक गरिन्चामा लेखेका छन् कि सन् १९५८ पछि, पेलेले एक अनुभवी प्रबन्धकलाई नियुक्त गरे र त्यो प्रबन्धकले पेलेको क्लब सान्तोससँग ५०० डलर प्रतिमहिनाको सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुरूप पेलेले पाउने रकम बर्सेनि बढ्दै जाने थियो ।

उता गरिन्चाका लागि बोटोफोगो क्लबका प्रबन्धकले सम्झौता पत्रमा रकमको स्थान खाली छोडिदिएका थिए । तर गरिन्चाले यस स्थितिमा उचित निर्णय लिनसक्ने प्रबन्धक छनोट गर्न सकेनन् । त्यसैले गरिन्चाले थोरै मूल्यमा सम्झौता गरे । क्लबले उनलाई तीन वर्षका लागि प्रतिमहिना ३०० डलर तिर्ने भयो ।

यो एक उदाहरणले मानिस स्टारडमतिर अघि बढ्दै गर्दा तिनको वरपरका मानिसहरूको भूमिका कति महìवपूर्ण हुन्छ भन्ने देखाउँछ । अर्को उदाहरण पेलेले आफ्नो क्लब करियरको बारेमा गम्भीर हुँदै गए भने गरिन्चा हल्का खालका साथीसङ्गीको साथमा हराउन थाले ।​

पेलेबिनै जब गरिन्चा एक्लैले विश्वकप जिताए

गरिबी र अभावमा हुर्केका गरिन्चाका पाइलाहरू यहीँबाट लरखराउन थालेको थियो । उनी रक्सीको नसामा डुब्दै गए । उनको तौल बढ्न थालेको थियो । उनका अनेक महिलासँगको सम्बन्धका कथाहरू बाहिरिन थाल्यो । 
तर यी पथभ्रष्ट कथाका बाबजुद फुटबल जगतलाई गरिन्चाको युग हेर्न बाँकी नै थियो, जुन इतिहासमा दर्ज हुनेवाला थियो । चार वर्ष बित्न समय लागेन र सन् १९६२ को विश्वकप आयो । गरिन्चाले चिलीमा हुने यस विश्वकपमा उनको राष्ट्रिय टोलीमा कुनै न कुनै रूपमा स्थान बनाउन सफल भए ।

प्रतियोगिताको दोस्रो खेलमै पेले घाइते भएपछि प्रतियोगिताबाट बाहिरिए । त्यसपछि टोलीको जिम्मेवारी गरिन्चाको काँधमा आयो । पेले घाइते भएर बाहिरिएपछि चिली फुटबल प्रशिक्षक सङ्घका अध्यक्ष अल्बर्टो कासोर्लाले भनेका थिए, ‘ब्राजिलमा दुई टोली छन्– एउटा टोली पेलेसँग र अर्को पेलेबिनाको । दोस्रो टोली विश्वकप जित्न सक्षम छैन ।’

कसोर्लालाई अन्दाज पनि थिएन होला छिट्टै उनले आफूले बोलेका शब्दमा लज्जित हुनुपर्छ भनेर । कसोर्लाले असम्भव ठानेको कुरालाई सम्भव बनाउने अरू कोही नभएर गरिन्चा थिए । गरिन्चाले इङ्ल्यान्ड र चिलीविरुद्धको दुई महत्त्वपूर्ण खेलमा चार गोल गरेका थिए । 
ब्राजिलले सेमिफाइनलमा चिलीलाई ४–२ ले हराउन सफल भयो । यस खेलमा गरिन्चाले आफैँले दुई गोल गरे भने तेस्रो गोलमा असिस्ट गरे । गरिन्चाले चिल्लीविरुद्ध हानेका दुवै गोल आज पनि बेजोड मानिन्छन् । उनको पहिलो गोल द्रुत गति आफूतिर बत्तिँदै आएको बललाई बायाँ खुट्टाले २० यार्डबाट सट हानेका थिए । दोेस्रो गोल उत्कृष्ट हेडरमार्फत भएको थियो । 

चिलीका खेलाडीहरूले उनलाई लगातार मार्क गर्ने प्रयास गर्दा उनले आक्रमक प्रतिक्रिया देखाए । त्यसैले ८३औँ मिनेटमा रेफ्रीले उनलाई रातो कार्ड देखाए । परिणाम स्वरूप उनी फाइनल खेलबाट वञ्चित हुने स्थिति आयो । 

जसलाई फाइनलमा खेलाउन लाइन्सम्यान हटाइयो 

चिल्लीविरुद्धको खेलमा गरिन्चालाई रेर्ड कार्ड दिने रेफ्रीको निर्णयमा हङ्गामा भयो । फिफाको अनुशासन समितिमा पनि ब्राजिलले निर्णयमा आपत्ति जनायो । रोय क्यास्ट्रोले उनको पुस्तकमा ब्राजिलका प्रधानमन्त्रीले फिफामा यसबारे कुरा गरेको लेखेका छन् ।  

ठूलो विवादपछि रेफ्रीले पनि गरिन्चाको ‘फल’ आफूले आफ्नै आँखाले नदेखेको र लाइनम्यानको सङ्केतका आधारमा निर्णय दिएको बताए । विभिन्न ल्याटिन अमेरिकी देशका सरकार प्रमुखले फिफा अधिकारीसँग कुरा गरेपछि फिफाले रातारात लाइनम्यानलाई हटाइदियो । गरिन्चाले फाइनल खेल्ने मौका पाउने भए । 

कमैलाई थाहा होला कि चेकोस्लोभाकियाविरुद्धको फाइनल खेलअघि गरिन्चालाई १०२ डिग्री ज्वरो आएको थियो । तर ज्वरोलाई बेवास्ता गर्दै उनी मैदानमा उत्रिए । उनको उपस्थितिले यस्तो प्रभाव पर्यो कि टोलीले लगातार दोस्रो पटक विश्वकप जित्न सफल भयो । 
एक हिसाबले गरिन्चाको एक्लो प्रभावमा ब्राजिलले यो विश्वकप जितेको थियो । एकल खेलाडीको जादुमा कुनै टोलीले फुटबल विश्वकप जितेको फेरि हेर्न प्रशंसकले २४ वर्ष पर्खनुपर्यो, जब सन् १९८६ मा म्याराडोनाको जादुले अर्जेन्टिनाले विश्वकप उचाल्यो । 

उरुग्वेका प्रख्यात खेलकुद पत्रकार एडुआर्डो ग्यालिनोले गरिन्चाको खेलबारे लेखेका छन्, ‘गरिन्चा उनको फर्ममा हुँदा फुटबल मैदान सर्कसमा बदलिन्थ्यो, जसमा फुटबल पाल्तु जनावर हुन्थ्यो । गरिन्चाको माध्यमबाट मैदान (सर्कस)मा जनावर (फुटबल)लाई यसरी नचाउँथे कि त्यसबाट उत्पन्न जादू दर्शकहरू हेरेको हे¥यै हुन्थे ।’

तर यस्ता प्रतिभावान् खेलाडीको अर्को पक्ष पनि थियो, उनी बिहानैदेखि मदिरा सेवन गर्न थालेका थिए । रोय क्यास्ट्रोका अनुसार उनी कति रक्सी खान थालेका थिए भने एक पटक उनले मातेर कार चलाउँदा बाटोमा हिँडिरहेका आफ्नै पितालाई हानी दिएका थिए । बुवा घाइते भए तर भीडले उनलाई पक्रियो । त्यो समयसमेत कति नशामा थिए भने उनी होसमा नै थिएनन् । यति मात्र होइन, अर्को समय मदिराले लट्ठ भएर गाडी चलाउँदा उनले सासूलाई किचेका थिए, जुन घटनामा सासूको मृत्यु नै भयो ।

जीवनमा उतार चढाव
मद्यपानबाहेक महिलासँगको यौनसम्बन्धले पनि उनको खेल जीवनमा निकै असर पारेको थियो । गरिन्चाका पाँच महिलाबाट १४ सन्तान थिए र यी गरिन्चाले बाहिर स्वीकारेको सम्बन्धबाट मात्र थिए । उनलाई रक्सीकोजस्तै अधिक यौनको लत लागेको थियो । 

गरिन्चाले औपचारिक रूपमा दुई विवाह गरे । पहिली श्रीमती उनी कारखानामा काम गर्दापकी सहकर्मी थिइन् । दोस्रो विवाह ब्राजिलकी चर्चित साम्बा गायिका अलेजा सुआरेससँग भयो । दुवै विवाह सम्बन्धविच्छेदमा टुङ्गियो ।
मदिराको लत र वैवाहिक सम्बन्धको तनावले गरिन्चाको जीवनलाई यसरी प्रभावित ग¥यो कि उनी सन् १९६६ को विश्वकपमा छायाँमा परे । उनको खराब खेलका कारण पनि ब्राजिलले लगातार तेस्रो पटक विश्वकप जित्न नसक्नुको एक कारण बनेको थियो ।

अक्सर गरिन्चा पेलेजस्ता ‘लिजेन्ड’ किन बन्न सकेनन् भन्ने प्रश्न उठ्ने गर्छ । रोय क्यास्ट्रोले यसबारेमा फरक जवाफ दिएका छन्– ‘गरिन्चाले न कहिल्यै राजनीतिज्ञलाई भेटे न कुनै करपोरेट हाउसका मालिकलाई । उनले व्यावसायिक कारणले न हवाई यात्रा गरे न जीवनमा टाईसुट नै लगाए ।’

गरिन्चा आफ्नो जीवन ब्राजिलको जीवनशैलीको प्रतीक रहेका फुटबल, साम्बा सङ्गीत, वाइन र महिला वरपर बिताए । योभन्दा बढी उनलाई केही चाहिएको थिएन । तर यही जीवनशैलीका कारण उनको जीवनको अन्तिम वर्ष आर्थिक सङ्कटमा बिते । सन् १९८३ जनवरीमा केवल ४९ वर्षको उमेरमा कलेजो सिरोसिसको कारण उनको मृत्यु भयो, जुन रोग अक्सर धेरै रक्सी खानेलाई लाग्छ । 

गरिन्चाको मृत्यु रियोको एक अस्पतालमा भएको थियो तर उनको अन्तिम इच्छा उनको जन्मभूमि क्षेत्रमा दाहसंस्कार गरियोस् भन्ने थियो । उनको शव रियोको माराकाना स्टेडियमबाट उनको गाउँ पाउ ग्रेनेडमा लगिँदा मानिसहरू उनलाई सम्मान देखाउन सकडमा ओइरिएका थिए ।

रोय क्यास्ट्रोले लेखेका आफ्नो स्टारको बिदाइमा ब्राजिलियनहरू सकडमा उत्रिँदा ६५ किलोमिटरको लामो मलामी देखिएको थियो । शव उनको गाउँ पुग्दा चर्चमा पाँच सय मानिसलाई बस्ने व्यवस्था थियो, जसमा तीन हजार मानिस उभिएका थिए । 

यति भीड देखेर पुजारीले केही मिनेटमै अन्तिम प्रार्थना सकेर गरिन्चालाई गाड्नका लागि समाधिस्थलमा लान भने । समाधि स्थलमा पहिलेदेखि नै आठ हजार मानिसको भीड थियो । भीड यति ठूलो थियो कि आफन्तले समेत गरिन्चाको अन्तिम झलक देख्न सकेनन् ।

गरिन्चाले जसरी फुटबल खेले, उनको अन्तिम संस्कार पनि त्यस्तै देखिएको थियो : रङ्गीन, अराजक, नाटकीय र मनोरञ्जनले भरिएको ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप