मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कमरेडहरू, यतातिर घोत्लिने कि ?

शुक्रबार, १६ मङ्सिर २०७९, १२ : ४८
शुक्रबार, १६ मङ्सिर २०७९

राजनीतिलाई सिद्धान्त, दर्शन, विचार र पद्धतिपूर्ण प्रणालीमा लैजाने सरकारको स्थायित्व र विकासको बाटोमा अघि बढाउने हो भने अहिले पनि नेकपा एमाले, माओवादी केन्द्र र एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी पार्टीका बीचमा सहज रुपमा ‘एलाईन्स’, कार्यगत एकता वा सरकारमा साझेदारी गर्नका लागि पर्याप्त संभावनाहरू जीवित छन् ।

यसबाट नेपालको वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताको बाटोमा लैजानका लागि दिशा निर्देश गर्ने मात्रै होइन, नेपालको कम्युनिष्ट आन्दोलनलाई गतिशील बनाएर अघि बढ्नका लागि समेत दीर्घकालीन बाटो तय गर्नेछ । नेपालका वामपन्थी प्रगतिशील शक्तिहरूप्रतिको आम दृष्टिलाई समेत सकारात्मक दिशातर्फ लैजान योगदान गर्नेछ ।

कम्युनिष्ट आन्दोलन भित्रको वारम्वार बल्झिने रोग फुट र विभाजनबाट आजित हुँदै जाँदा भविष्यमा कम्युनिष्ट आन्दोलनले बेहोर्ने क्षतिको अनुमान गर्न सक्ने क्षमताका साथ यहाँका कम्युनिष्ट पार्टीका नेताहरू उठ्नु जरुरी छ ।

देशभक्तिपूर्ण आन्दोलनलाई एकीकृत रुपमा पुर्नसंगठित गरी परिचालन गर्न सकेमात्रै संविधानले परिकल्पना गरेको समाजवादी अर्थब्यवस्था, प्रगतिशील सुधारका कामहरू अघि बढाउन सकिन्छ । आउने नयाँ पिँढीलाई राजनीति भन्दा पर स्वदेशमै काम गरी खाने वातावरण निर्माण भएको, विरामी पर्दा स्वदेशमै सहज उपचार पाउने ब्यवस्था, हरेक परिवारका वालवालिकाहरूले सहज रुपमा जीवन उपयोगी शिक्षा, सम्मान, पहिचान र सुरक्षाबाहेक अर्को ठूलो परिकल्पना छैन । यति काम गर्नका लागि यहाँ वामपन्थीहरूको प्रगतिशील सरकार आवश्यक छ ।

‘एक कदम अगाडि, दुई कदम पछाडि’ कम्युनिष्ट पार्टीहरूको दर्शन भित्रको रणनीतिक योजनाको रुपमा रहेको यो भनाई आज पनि उत्तिकै सान्दर्भिक छ । निर्वाचनमा जानु अघिसम्म पानी बाराबारको स्थितिमा रहेका कम्युनिष्ट पार्टीहरू बीचको सम्बन्धलाई ‘आइस ब्रेक’ गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिदै संगै मिलेर जान सकिने कुरामा सोच्नका लागि  दिनु भएको समय अवसरका रुपमा लिन सकिन्छ ।

राजनीतिमा ‘स्थायी मित्रता र शत्रुता रहँदैन’ भन्ने सत्यतालाई आत्मसाथ गर्न सक्ने हो भने यहाँ काम गरी खाने, श्रम गरी खाने वर्गको हितलाई सर्वोपरी राख्दै एक ठाउँमा आउन कुनै चमत्कार पर्खिनु पर्दैन ।

अहिलेसम्मको निर्वाचन परिणामलाई विश्लेषण गर्दा नेपाली काँग्रेस र नेकपा एमाले दुवै हाराहारीको स्थितिमा अघि बढिरहेका छन् । हालसम्म घोषित परिणामअनुसार प्रत्यक्षतर्पm १० सीट काँग्रेस अगाडि रहेको देखिएको छ भने समानुपातिक निर्वाचनको परिणाम मधेस प्रदेशबाहेक अन्य ६ वटै प्रदेशमा नेकपा एमाले अगाडि रहेको छ ।

यसरी नेपाली काँग्रेस र नेकपा एमालेको स्थिति हाराहारी वा बराबरीको स्थितिमा रहेको छ । देशभरीको समानुपातिक निर्वाचनको सर्वाधिक मत नेकपा एमालेको पक्षमा रहेको स्पष्ट छ । नेकपा माओवादी केन्द्र भरखर उदाएका रवि लामिछानेको स्वतन्त्र पार्टीसँग बराबरीको स्थितिमा छ ।

कम्युनिष्ट विचारधाराभित्र आजीवन संघर्ष गर्ने तर जीवनको उत्तराद्र्धमा त्यही विचार आन्दोलनलाई क्षतविक्षत बनाएर जाने रहर कसैलाई हुँदैन । काम गर्दा भएको कमी कमजोरीको निर्मम ढंगले समीक्षा गर्ने, आफूलाई ब्यवहारमा सच्याउने र पार्टी संगठनलाई गतिशील बनाउनका लागि प्रशिक्षत गर्दै अघि जाने हो भने आजको दिनमा पनि निर्वाचनको ‘वामपन्थीहरू’ भन्नेहरूको अन्तिम मतपरिणाम एक ठाउँमा राखेर जोड्दा ७० प्रतिशतभन्दा माथि छ ।

यसको अर्थ नेपालमा काम गरी खाने गरीब, श्रमजीवी, सिमान्तीकृत तथा छेउ पारिएका समुदायको ठूलो हिस्सा वामपन्थी प्रगतिशील शक्तिका वरपर गोलबन्द छ । र, मध्यम वर्गीय जनमतको ठूलो हिस्सासमेत समर्थनमा रहेको छ ।

यहाँको कम्युनिष्ट आन्दोलन वीरता र संघर्षका इतिहासहरूले भरिपूर्ण र देशभक्तिपूर्ण आन्दोलन हो । यसो भनिरहँदा अबको बहस नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ ? गरीब, भूमिहीन सर्वहारा श्रमजीवी वर्गको जीवन कसरी सहज बनाउन सकिन्छ ? राजनीतिक प्रणाली, शासन प्रशासन प्रणालीलाई कसरी जनमुखी बनाउन सकिन्छ ? निर्वाचन प्रणालीलाई एउटा गरीब सर्वहारा भूमिहीन वर्गमा जन्मेको युवालाई कसरी निर्वाचनमा उमेदवार बनाएर लान सकिन्छ ? भन्ने यक्ष प्रश्न हो ।

साथै, नेपाली पूँजीपतिहरूसंग भएको पूँजीलाई कसरी राष्ट्र निर्माणमा उपयोग गर्न सकिन्छ ? राज्यलाई कसरी अझ बढी सुशासित, जनउत्तरदायी बनाउन सकिन्छ ? कसरी असारे विकास रोक्न सकिन्छ ? युवाहरूलाई कसरी रोजगारी दिन सकिन्छ ? लगायत देश र नागरिकको जीवनसंग सम्वन्धित विषयमा नेकपाको अवधारणाको खाका तयार गरी कार्यान्वयन गर्नका लागि यहाँ वामपन्थी प्रगतिशील सरकार आवश्यक छ ।

फेरि पनि नेपाली काँग्रेसलाई बोकेर दुई चारजना मन्त्रीको गाडीमा झण्डा हल्लाएर विश्व विजेता भएको ठानिरहँदा नेपालको भूराजनीतिक अवस्थामा असन्तुलन र देशको अर्थतन्त्रले कगांलीको दिशा समात्नेछ र नेपालका श्रमजीवी, सिमान्तीकृत किसान मजदुरहरू राज्यका सेवा सुविधाहरूबाट धेरै टाढा लैजानेछ । संविधानले तय गरेको समाजवादी अर्थतन्त्रको बाटो भत्किएर निजीकरण र उदारीकरणको गोरेटो तय गरिसक्नेछ ।

कम्युनिष्ट आन्दोलनलाई एकापसमा भिडाएर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा धमिरा लाग्नेछ र अर्को पाँच वर्ष पछिको निर्वाचनमा स्वतन्त्रजस्तै अन्य शक्तिहरूको उदयले वामपन्थी आन्दोलनलाई थप क्षतिबाहेक केही बाँकी रहने छैन ।

कम्युनिष्ट आन्दोलनको शक्तिलाई बिभाजित गर्ने र तिनै विभाजित पार्टीका नेताहरूको उपयोगमार्फत् आफ्नो शक्ति सिर्जना गर्ने काममा अहिलेको सरकार र सरकारको नेतृत्व गर्ने राजनीतिक दल काँग्रेसले मज्जाले गरिरहेको छ ।

संसारमा कम्युनिष्ट पार्टीहरू उहिले समाप्त भइसकेको र नेपालमा कम्युनिष्ट पार्टीहरूले दुई तिहाइको सरकार सञ्चालन गर्न अक्षम भएपछि कम्युनिष्ट पार्टीहरू समाप्तीतिर अघि बढिरहेको काँग्रेसका अधिकांश नेताहरू भाषण गरिरहेका छन् । कम्युनिष्टहरू एकतावद्ध नहुने हो भने आगामी केही दशकसम्म उनीहरूले उपयोग गरि नै रहनेछन् भन्ने हेक्का आजको आवश्यकता हो ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको आठ दशकको संघर्षशील यात्रा गौरवपूर्ण छ, । यो अवधिमा कम्युनिष्ट आन्दोलनले विविध खालका आरोह अवरोह पार गर्दै अहिले शासन प्रणालीको केन्द्रीय भागमा आइपुगेको छ ।

कम्युनिष्ट आन्दोलनको यो ऐतिहासिक सफलता नेपालका श्रमजीवी जनताले मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलन र सर्वहारा वर्गका लागि प्रेरणा र अध्ययन, अनुसन्धानको विषय बनेको छ । यस्तो अवस्थाको सिर्जना त्यसै भएको होइन, यो सफलताका पछाडि हजारौं नेता र सयौं कार्यकर्ताहरूको बलिदान, त्याग र कष्टदायी संघर्षले प्राप्त भएको हो भन्ने कुरालाई बिर्सनु हुँदैनथ्यो ।

नेपालमा अहिले पनि गरिब किसान, मजदुर र सर्वहारा वर्गको ठूलो संख्या छ । असंगठित क्षेत्रमा काम गरी खाने सर्वहारा वर्गको हातमा उत्पादनका साधन छैनन् । त्यसमा उनीहरूको पहुँच नहुँदा काम पाउँदा खाने र नपाउँदा भोकै सुत्नुपर्ने बाध्यता विद्यमान छ । कृषिमा काम गर्ने तर उनीहरूको हातमा खेती गर्नका लागि जमिन छैन । खेतीमा हात नलगाउने सानो संख्यामा रहेका भूमिपतिहरूको हातमा खेतीयोग्य जमिनको ठूलो हिस्सा छ ।

राजनीतिक दल तथा राजकीय सत्ता भित्रको भिन्नतालाई स्वीकार गर्ने, निर्वाचित भएपछि पार्टी नेता कार्यकर्ताभन्दा माथि उठेर आम जनताको प्रतिनिधि ठान्ने र सबै विचार, दर्शन र संरचनाको नेता बन्ने क्षमताको विकास आजको आवश्यकता हो ।

एक जनप्रतिनिधि तथा नेताको जीवन सधैं खुला र सार्वजनिक जीवन हो भन्ने कुराको वोध हामीमा हुनुपर्छ । आम नागरिकले तिरेको करको हिसाब नागरिककै समृद्धिका लागि खर्च गर्ने प्रणाली स्थापना गरी नागरिकप्रति जवाफदेही र उत्तरदायी सरकार, प्रशासन तयार नभएसम्म हामीले जति लोकतन्त्रको गीत गाएपनि आम नागरिक जीवनमा परिवर्तनको कल्पना गर्न सकिँदैन भन्ने वोध सबैमा आउनु जरुरी छ ।

अब एक पटक खुला बहस गरौं, एक ठाउँमा उभिएर सुदूर भविष्यतर्फ दृष्टि लगाऔ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा सवल, गतिशील आन्दोलनका रुपमा युवा पुस्तालाई हस्तान्तरण गर्नका लागि तयारी गरौँ । आम नागरिकलाई सहज रुपमा सेवा र सुविधा प्रवाह गरौं । भिन्नताको बीचमा एकरुपता खोज्ने प्रयास गर्दै नेपालको जनमतको सम्मान गर्दै फेरि एकपल्ट एक ठाउँमा आउने अभ्यास र प्रयत्नले मुलुकको समृद्धि र राजनीतिक स्थिरताको बाटो तय गर्नेछ ।

युवा जनमतको सम्मान गर्दै विदेशमा जोखिमपूर्ण श्रम गर्न बाध्य युवालाई स्वदेशमै श्रम गर्ने वातावरण सिर्जना गरौँ । यो प्रयासले नेपालको राष्ट्रिय स्वाधीनतालाई उचो बनाउँदै नेपाली नागरिकलाई सम्मानित र मर्यादित जीवन बाँच्न पाउने अधिकारको सुनिश्चतता गर्नेछ । यतातिर ठण्डा दिमागले घोत्लिने कि कमरेडहरू ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप