शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनाभित्र मानिसको दिमागमा चिप परीक्षण गर्ने घोषणा गर्दै मस्कले भने, ‘दृष्टिविहीनले देख्नेछन्, सोचेको भरमा मोबाइल चल्ने’

शुक्रबार, १६ मङ्सिर २०७९, १३ : ०६
शुक्रबार, १६ मङ्सिर २०७९

आगामी दिनमा दृष्टिविहीनले पनि चिपमार्फत् देख्न सक्नेछन्, पक्षघातका बिरामीले सोचेको भरमा मोबाइल र कम्प्युटर चलाउन सक्नेछन् । यो दाबी विश्वकै धनी व्यापारी तथा न्यूरालिङ्कका संस्थापक एलन मस्कको हो । उनले न्यूरालिङ्कको क्यालिफोर्नियाको मुख्यालयमा  ‘शो एन्ड टेल’ कार्यक्रमको आयोजना गरे र आफ्नो उपकरणको प्रगतिबारे जानकारी दिए ।

मस्कले आफ्नो ब्रेन चिप इन्टरफेस स्टार्टअपले बनाएको वायरलेस डिभाइस ६ महिनामा मानव परीक्षणका लागि तयार हुने बताए । यसका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) मा कागजपत्र पेश गरिएको छ । कार्यक्रममा मस्कले बाँदरले जोइस्टिक प्रयोग नगरी पिनबल खेलेको भिडियो पनि देखाए । टेलिप्याथी मार्फत बाँदरले टाइप पनि गर्यो ।

रोबोटले चिप इम्प्लान्ट गर्यो  

न्यूरालिङ्क टोलीले आफ्नो सर्जिकल रोबोट पनि प्रदर्शन गरेको थियो । रोबोटले सम्पूर्ण शल्यक्रिया कसरी गर्छ भनेर देखाइएको पनि थियो । मस्कले ६ वर्षअघि ब्रेन कन्ट्रोल इन्टरफेस स्टार्टअपको स्थापना गरेका थिए र २ वर्षअघि आफ्नो इम्प्लान्टेसन रोबोट देखाएका थिए ।

न्यूरालिङ्क डिभाइस के हो ?

१. फोनलाई सिधै मस्तिष्कमा जोडिनेछ

न्यूरालिलङ्कले एउटा यस्तो उपकरण तयार गरेको छ जसले कम्प्युटर, मोबाइल फोन वा अन्य कुनै पनि उपकरणलाई मस्तिष्क गतिविधि (न्यूरल इम्पल्स) सँग सीधै नियन्त्रण गर्न सक्षम बनाउनेछ । उदाहरणका लागि, पक्षाघात भएको व्यक्तिले मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि माउसको कर्सर कसरी सार्नुपर्छ भन्ने सोचेर मात्रै माउसको कर्सर सार्न सक्षम हुनेछ । सिक्काको आकारको उपकरणलाई ‘लिङ्क’ नाम दिइएको छ ।

२. कस्मेटिक रूपमा अदृश्य चिप

‘हामी पूर्ण रूपमा प्रत्यारोपण गर्न मिल्ने, कस्मेटिक रूपमा अदृश्य ब्रेन–कम्प्युटर इन्टरफेस डिजाइन गरिरहेका छौँ ताकि तपाईं जहाँ गए पनि कम्प्युटर वा मोबाइल उपकरणलाई नियन्त्रण गर्न सक्नुहोस्,’ न्यूरालिङ्कले भनेको छ । माइक्रोन–स्केल थ्रेडहरू मस्तिष्कको त्यो क्षेत्रमा राखिनेछ जसले मुभमेन्टलाई नियन्त्रण गर्छ । हरेक एक थ्रेडमा थुप्रै इलेक्ट्रोड हुन्छन् र उनीहरुलाई ‘लिंक’ नामको इम्प्लान्टबाट जोडिनेछ ।

३. रोबोटिक प्रणाली डिजाइन

कम्पनीले दिएको जानकारी अनुसार लिंकमा थ्रेड यति राम्रो र लचिलो हुन्छन् कि यसलाई मानव हातलले हाल्न सकिँदैन । यसका लागि, कम्पनीले एक रोबोटिक प्रणाली डिजाइन गरेको छ जसले थ्रेडलाई सुरक्षित र प्रभावकारी रूपमा प्रत्यारोपण गर्न अनुमति दिन्छ ।

यसका साथै, न्यूरालिङ्क एप पनि डिजाइन गरिएको छ ताकि तपाईंले आफ्नो किबोर्ड र माउसलाई दिमागको गतिविधिबाट सिधै यसको बारेमा सोचेर नियन्त्रण गर्न सक्नुहुन्छ ।

डिभाइसलाई चार्ज पनि गर्नुपर्छ । यसका लागि, एक कम्प्याक्ट इन्डक्टिव चार्जर डिजाइन गरिएको छ जसले ब्याट्रीलाई बाहिरी रूपमा चार्ज गर्न इम्प्लान्टसँग ताररहित रूपमा जडान गर्दछ ।

एउटा चिपले क्रान्ति ल्याउनेछ

न्यूरालिङ्कले भनेको छ, ‘हाम्रो टेक्नोलोजीको प्रारम्भिक लक्ष्य भनेको पक्षाघात भएका मानिसहरूलाई कम्प्युटर र मोबाइल उपकरणहरूको नियन्त्रण दिनु हो । हामी उनीहरूलाई आत्मनिर्भर बनाउन चाहन्छौँ । हामी चाहन्छौं कि एक दिन यस्ता व्यक्तिहरूले हाम्रो उपकरण मार्फत फोटोग्राफी जस्ता आफ्नो रचनात्मकता देखाउन सक्छन् । हामी विश्वास गर्छौं कि यो प्रविधिले धेरै न्यूरोलोजिकल विकारहरूको उपचार गर्न सक्ने क्षमता राख्छ ।’

के यो राख्न सुरक्षित हुनेछ ?

चिप प्रत्यारोपण गर्दा सामान्य एनेस्थेसियासँग सम्बन्धित जोखिम सधैं रहन्छ । यस्तो अवस्थामा, प्रक्रिया समय घटाएर जोखिम कम गर्न सकिन्छ । कम्पनीले यसको लागि न्यूरोसर्जिकल रोबोट डिजाइन गरेको छ । यसमार्फत् इलेक्ट्रोडलाई राम्रो तरिकाले प्रत्यारोपण गर्न सकिन्छ । यस बाहेक रोबोटलाई स्कल (खोपडी) मा २५ मिमी डायमिटरको एउटा प्वालबाट धागो छिराउनका लागि डिजाइन गरिएको हो । मस्तिष्कमा उपकरण घुसाउँदा रगत बग्ने जोखिम पनि हुन्छ । कम्पनीले यसलाई कम गर्न माइक्रो–स्केल थ्रेडहरू प्रयोग गरिरहेको छ ।

ब्रेन–कम्प्यूटर इन्टरफेसको प्रयोग

एलन मस्कले जुन प्रविधिमार्फत् चिप बनाइरहेका छन्, त्यसलाई ब्रेन–कम्प्युटर इन्टरफेस वा छोटकरीमा बीसीआई भनिन्छ । अन्य धेरै कम्पनीहरूले पनि वर्षौंदेखि यसका लागि काम गरिरहेका छन् । यी प्रणालीहरूले मस्तिष्कमा राखिएका साना इलेक्ट्रोडहरूको प्रयोग नजिकैको न्युरोन्सबाट संकेतलाई ‘पढ्न’ का लागि गर्छन् । त्यसपछि सफ्टवेयरले यी संकेतहरूलाई कमान्ड वा एक्सनमा डिकोड गर्छ जस्तै कर्सर वा रोबोटिक आर्मलाई हल्लाउनु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप