शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहित छोरीले समेत अंश पाउने जिल्ला अदालतको फैसला

अदालतले भन्यो– अंश पाउने वंश भनेको छोरामात्रै होइन
शुक्रबार, १६ मङ्सिर २०७९, १४ : ४७
शुक्रबार, १६ मङ्सिर २०७९

विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीलाई अंश दिनु पर्ला कि नपर्ला ? सामान्य रुपमा हेर्दा र सामाजिक रीतिथितिले ‘पर्दैन’ नै भन्ला । तर यस्तै अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक सोचमात्रै रहेको ठहर गरिएको छ ।

आफ्ना बुबा र आमाको मृत्यु भएपछि भारतमै रहेका दुई छोरीलाई अंश नदिई आफ्नै बुबाको नाममा रहेको जग्गाजमिन समेत हजुरआमाले अंशियार नरहेको भनी झूठो दाबी लिइ आफ्नो नाममा बनाएको भन्दै नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा अदालतले विवाह भए पनि वा नभए पनि छोरीहरुले समेत अंश पाउने गरी फैसला सुनाएको हो ।

२०७५ साल फागुन १२ गते नवलपुर जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा ४ वर्षपछि २०७९ भदौ २७ गते न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले फैसला सुनाउँदै विवाह भए पनि छोरीहरुलाई समेत अंश दिनुपर्ने ठहर गरेको हो ।

यस्तो थियो अंश विवाद

बागलुङको जैमिनी नगरपालिका–९, लामुखुरे स्थायी ठेगाना भएका गंगाबहादुर थापा रोजगारीको सिलसिलामा भारत गएका थिए र उनी भारतीय प्रहरीमा काम गर्दथे । नेपालमा विवाह गरिसकेका गंगाबहादुर थापाले भारतमा समेत विवाह गरेका थिए । नेपालमा रहेकी श्रीमतीबाट एक सन्तान भए पनि ती श्रीमतीले अन्यत्रै विवाह गरेकी थिइन् । गंगाबहादुर थापा कहिलेकाहीँ नेपाल आउने गरे पनि अधिकांश समय भारतमै कान्छी श्रीमती र दुई छोरीहरुसँग बस्थे । कान्छी श्रीमतीबाट दुई जना छोरी सीमा थापा र ज्योति थापाको जन्म भएको थियो ।

केही वर्ष अगाडि गंगाबहादुर थापा र उनकी श्रीमतीको मृत्यु भयो । गंगाबहादुरको मृत्यु भएपछि उनको नाममा रहेको सम्पत्ति गंगाबहादुरकी आमा नन्नाकली थापाले हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरुको विवाह समेत भइसकेको भन्दै आफ्नो नाममा गराइन् । उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति भन्दै नन्नाकलीको आफूहरुको भोगाधिकार रहेको बताइन् ।

बुबाको मृत्यु भएपछि आफ्नोे बुबाको सम्पत्ति खोज्दै गंगाबहादुरको दुई छोरी सीमा थापा र ज्योति थापा २०७५ सालमा नेपाल आए । उनीहरुले बुबाको सम्पत्ति र अंशको हकदार आफूहरु रहेको बताए । तर नन्नाकलीले तिमीहरुको विवाह भइसकेकाले सम्पत्ति नपाउने भन्दै सीमा र ज्योतिलाई अंश दिन अस्वीकार गरिन् ।

त्यसपछि सीमा र ज्योति थापाले नवलपुर जिल्ला अदालतमा अंश मुद्दा दायर गरे । उनीहरुको जग्गा र घर नवलपरासीमा समेत भएको कारण उनीहरुले नवलपरासीमै अंश मुद्दा दायर गरेका थिए ।

२०७५ फागुन ११ गते नवलपुर जिल्ला अदालतमा दर्ता भएको अंश मुद्दामा हजुरबुबा र हजुरआमाका तर्फबाट ३ जना छोराहरु गंगा बहादुर थापा, मोहन थापा र कृष्ण थापा तथा ५ छोरीहरुको जायजन्म भएकोमा रुपा थापाबाहेक अरु सबै छोरीको विवाह भइसकेको उल्लेख छ । त्यसमा हजुरबुबा कविराम थापा तथा बुबा गंगा बहादुर थापा र आमा चन्द्रा थापाको मृत्यु भइसकेको उल्लेख छ ।

स्वर्गीय पिता गंगाबहादुर थापाको अंश भाग खाने २ छोरी सीमा थापा र ज्योति थापामात्रै रहेको र बुबालाई भाग लाग्नुपर्ने अंशमा मूल अंशियारहरु ५ जना रहेको भए पनि बुबाको नाममा आउनुपर्ने अंशको बण्डा नभएको उल्लेख गरिएको छ ।

​हजुरआमा नन्नाकला थापाले आफूहरुको विवाह भैसकेको भनी झुठ्ठा व्यहोरा उल्लेख गरी सिफारिस बनाई स्वर्गीय गंगाबहादुर थापाको अंश हक खाने २ छोरीहरु हुँदा हुँदै जालसाजी गरी पिता गंगाबहादुर थापाको नामको जग्गा दा.खा. नामसारी गरेको भन्दै उक्त जग्गा तथा बुबाको अंशमा आउने सम्पूर्ण सम्पत्तिमा आफूहरुको हक लाग्ने भएकाले अंश दिलाइपाउँ भन्दै मुद्दा दायर भयो । फिरादपत्रमा बुबाको सगोलको सम्पत्तिको ५ भाग लगाई आफूहरुले बुबालाई भाग लाग्ने एक भाग पाउनुपर्ने जिकिर लिएका थिए ।

त्यसको प्रतिउत्तर पत्रमा प्रतिवादी नन्नाकला थापाले मुल पुरुष कविराम र नन्‍नाकली थापाबाट ३ छोरा र ५ छोरीहरुको विवाह भएकोमा २ छोरीहरु रुपा थापा र माधवी थापाको विवाह हुन बाँकी रहेको भन्ने उल्लेख गरियो । यसरी सगोलको सम्पत्तिमा ५ जना नभएर ६ जना अंशियार रहेको उल्लेख गरियो ।

त्यसैगरी गंगाबहादुरको मृत्युपछि उनका छोरीहरुको खोजी गर्ने क्रममा भारतको कलकत्ता भन्ने स्थानमा जाँदा विपक्षी सीमाले मैले यहीँ विवाह गरी बसेकी छु, मैले बहिनीलाई यतै पालताल गर्छु, नेपाल आउँदिनँ भनेकोले आफूले सिफारिस बनाई छोरा गंगाबहादुरको नामको जग्गा नामसारी गरेको प्रतिउत्तर पत्रमा उल्लेख छ ।

साथै प्रतिउत्तर पत्रमा विपक्षीहरुले विवाह नगरेको भएमा मसँग आई आफूले पाउने अंश मागेको भएमा निजहरुले कानून बमोजिम पाउने अंश दिन मलाई कुनै आपत्ति छैन भनी नन्नाकालाको प्रतिउत्तर पत्रमा उल्लेख छ ।

साथै घर व्यवहार चलाउन तथा जग्गाजमिन किन्दाको बखतको बुझाउनुपर्ने पैंतालिस लाख रुपैयाँ बाँकी रहेकाले साहुको ऋण तिरी बाँकी रहेको सम्पत्तिबाट छोरा छोरीको विवाह खर्च समेत परसारी बाँकी सम्पत्तिलाई ६ भाग लगाई सो मध्येबाट १ भागमात्र विपक्षीका बाबुका भागमा पर्न जाने हो भन्दै नन्नाकलीले नातिनीहरुलाई अंश नदिने मनसायले सोही व्यहोराको प्रतिउत्तर पत्र अदालतमा बुझाइन् ।

पाँच भाग दावी गरिएकामा ६ भाग लाग्ने गरी मुल अंशियार थपियो भने पछि गंगाबहादुर थापाको भागमा आउने ६ भागको एक भाग मध्येबाट पनि अर्को अंशियार थपियो । गंगाबहादुर थापाकी जेठी श्रीमती चन्द्रकला थापाबाट जायजन्म भएकी छोरी कमला थापासमेत रहेको हुनाले उनी समेत गंगाबहादुर थापाको अंशको हकदार रहेको दाबी गरियो ।

अंश विवाद जस्तो सरल प्रकृतिको मुद्दालाई पनि नवलपुर जिल्ला अदालतले करिब ४ वर्षसम्म फैसला नै नगरी होल्ड गरेर राख्यो । र, नियमित पेसीमा चढेको बखत गत भदौ २७ गते न्यायाधीश यत्रप्रसाद आचार्यको इजलासले फैसला गर्दै मुल अंशियारहरु ६ जना रहेको र त्यसको एक भाग गंगाबहादुर थापाको अंश रहेको भन्दै उक्त अंशलाई तीन भाग लगाई सीमा थापा, ज्योति थापा र कमला थापाले एक–एक भाग पाउने फैसला सुनाए ।

फैसलामा हजुरआमा नन्नाकला थापाले आफ्नो छोरा र बुहारीको निधन भइसकेको अवस्थामा नातिनीहरुको हेरचाह आफूले गर्नुपर्नेमा अभिभावकीय जिम्मेवारी समेत पूरा नगरेको र बिना आधार तथा प्रमाण उनीहरुको विवाह भइसकेको भन्दै अंश हकबाट बञ्चित गर्न खोजिएको उल्लेख गरिएको छ ।

फैसलामा भनिएको छ, ‘... वादीहरुले हामो विवाह नै भएको छैन भनी फिराद दायर गरेको अवस्थामा समेत के कुन मितिमा कहाँ को सँग विवाह भएको हो भन्‍ने कुनै कुरा नै उल्लेख नगरी आफैले अभिभावकीय जिम्मेवारी बहन गर्न पर्ने कर्तव्यका यी प्रतिवादीहरुले हचुवाको भरमा अंश नदिने मनसायबाट कुनै प्रमाण आधार बिना नै विवाहित अवस्थाका हुन भनी गरिएको प्रतिउत्तर जीकिरसँग सहमत हुन सकिएन ।’

त्यसैगरी फैसलामा २०७२।०६।१४ भन्दा अगाडि साविकको मुलुकी ऐन, २०२० मा अंश बण्डाको महलको १ नं. मा अंश बण्डा गर्दा यस महलका अन्य नम्बरहरुको अधिनमा रही बाबु, आमा, लोग्ने स्वास्नी छोरा छोरीहरुको जीयजीयैको अंश गर्नु पर्नेछ भन्‍ने कानूनी व्यवस्था रही सोही महलको १क नं. मा यस महलको १ नं. मा जुनसुकै कुरा लेखिएको भएता पनि विवाह गरिसकेकी छोरीको अंशबण्डा गर्नुपर्ने छैन भन्‍ने कानूनी व्यवस्था रहेको थियो भन्ने स्मरण गराएको छ । तर उक्त कानुनी व्यवस्था विवादित रहेको भन्दै ‘लैगिंक समानता कायम गर्न तथा लैगिंक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ ले खारेज गर्ने गरी मिति २०७२।६।१४ मा साविकको मुलुकी ऐनमा संशोधन भएको हुँदा सो पश्‍चात विवाहित अवस्थामा रहेका छोरीलाई पनि अब अंश दिने कुरामा कुनै कानूनी अड्चन रहेको भन्‍ने देखिँदैन भन्दै २०७२ असोज १४ गतेपछि विवाह भएकी छोरीले पनि अंश पाउने फैसलामा उल्लेख छ ।

गंगाबहादुरको छोरी कमला थापाको विवाह भइसकेको भए पनि २०७२ असोज १४ गते पछाडि विवाह भएकाले उनले पनि अंश पाउने फैसलामा उल्लेख गरिएको छ ।

फैसलाको एक खण्डमा भनिएको छ-

‘... मुलुकी देवानी संहिता, २०७४ को दफा २०५ ले सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधिनमा रही पति, पत्‍नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् भनी व्यवस्था गरेको र सो संहिताको परिच्छेद १० को अंशबण्डा सम्बन्धी व्यवस्थाको अन्य दफाहरुले पनि विवाहित छोरीलाई अंशहकबाट बाहेक गरेको नहुँदा यी वादीहरु मिति २०७२।६।१४ पछि विवाहित अवस्थामा नै रहे पनि यी प्रतिवादीहरु उपर अंशहकको मागदावी लिई फिराद दायर गर्न पाउने स्पष्‍ट हकदैया रहेको देखियो ।’

जिल्ला अदालत नवलपुरको फैसलामा कानुनले नै छोरा र छोरीलाई आर्थिक तथा अंशको हकमा समान अधिकार दिएको अवस्थामा छोरीलाई अंश हकबाट बाहेक गर्न नमिल्ने फैसलामा उल्लेख छ ।

फैसलाको प्रकरण ११ मा भनिएको छ-

‘... स्पष्‍ट रुपमा कानुनबाट नै निषेध गरेको कुरालाई कानूनमा नै संशोधन गरी उक्त निषेधको कानुनी प्रावधानलाई खारेज गरेको अवस्थामा अब पनि उही पितृसत्तात्मक संकीर्ण सोचलाई बोकेर हाम्रो सामाजिक परिवेश एवं दोहोरो अंश हक भनेर अंशियारलाई उसले पाउने अंश हकको अधिकारबाट बञ्चित गर्न मिल्दैन । हिजोको दिनमा विवाहित छोरीलाई कानुनले नै अंश हकमा बाहेक गरेको कुरालाई आजको दिनमा उक्त कानुनी प्रावधानलाई नै संशोधन गरी सबैलाई अंश हक खुला गरिएपछि पनि छोरामात्र वंश हो भन्‍ने पितृसत्तात्मक सोचबाट माथी उठ्न नसकी छोरीलाई अझैपनि वंशको रुपमा स्वीकार गर्न तयार नभएको देखिन्छ ।’

फैसलामा छोरी पनि छोरा जस्तै वंश भएको र अंश हक छोरा हुन् वा छोरी सबै वंशले पाउने फैसलामा भनिएको छ ।

फैसलाको प्रकरण १२ मा आँफैले जन्माएको सन्तानमा पनि छोरालाई माया गर्ने र छोरीलाई हेंला गर्ने पितृसत्तात्मक संकीर्ण सोच बोकेर हिँड्ने गरेको प्रसङ्ग उल्लेख गरिएको छ ।

फैसलाको प्रकरण १२ मा भनिएको छ-

‘अंश भनेको वंशले पाउने हो भनेर आफ्नो नाउँमा बण्डा गर्नुपर्ने सम्पत्ति आफूसँग लिएर बसेका कतिपय महिलाहरु नै पनि छोरा मात्रै आफ्नो वंश हो भनि छोरीलाई अंश दिने कुरामा अझै पनि संकुचित बनेर पितृसत्तात्मक सोचलाई नै बोकेर आफैले जन्माएका छोरा र छोरी बीचमा समेत विभेद गरी कानुनले पाउने अंश हक दिनलाई पनि संकीर्ण सोच लिएर बसेको देखिन्छ ।’

यसरी फैसलामा मुल अंशियार नन्‍नाकली थापाले आफ्नै नातिनीहरु विवाहित अवस्थाका हुन् भनी निजहरुको बाबुको नाउँको अचल सम्पत्तिलाई उनीहरुको अंश हक नहुने भनी आफ्नै नाउँमा नामसारी गराएको र वादीका बाबुले अंश लिई अलग भई बसेको भन्‍ने कुरा स्वयम् प्रतिवादीहरुको प्रतिउत्तर जिकिरबाट समेत पुष्टि नभएको हुँदा वादीहरुले प्रतिवादीहरुबाट आफ्नो अंश भाग छुट्टाई लिन पाउने नै देखियो’ भन्दै अंश पाउने ठहर गरिएको छ ।

यसरी नवलपुर जिल्ला अदालतले अंश बण्डाको मुद्दामा छोरी विवाहित नै रहेको भए पनि अंश दिनुपर्ने फैसला सुनाएको छ । भदौ २७ गते भएको फैसलाको पूर्णपाठ मंसिर ६ गते सार्वजनिक भएको थियो । उक्त फैसलामा छोरीको अंश हक र कानुनी दायित्व आदिका बारेमा महत्वपूर्ण कुराहरु बोलिएका छन् । २०७२ असोज १४ गते पछि विवाह भएका छोरीहरुले समेत अंश मागदाबी गरे दिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै विवाहित भए पनि ती छोरीले अंशमा दाबी गरेमा उनको समेत अंशमा हकदाबी लाग्ने उल्लेख गरिएको छ ।

यस्तो छ फैसलाको पूर्णपाठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप