शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हृदयेश त्रिपाठीको ओरालो यात्रा, पार्टीका सबै उम्मेदवारको पराजय

शुक्रबार, १६ मङ्सिर २०७९, १५ : ३८
शुक्रबार, १६ मङ्सिर २०७९

 २०७८ मंसिर २८ गते पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलाई साथमा राखेर आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका हृदयेश त्रिपाठी आम निर्वाचन २०७९ मा प्रतिनिधिसभा सदस्यमा पराजित भए । यतिमात्र होइन, उनको पार्टीबाट कसैले पनि जित हासिल गर्न सकेन ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग पराजित भए । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत ल्याए । त्रिपाठी सात हजार १८७ मतान्तरले पराजित भए ।

अध्यक्ष त्रिपाठीले आफ्नो पार्टीबाट प्रतिनिधिसभातर्फ १५ जना उम्मेदवार खडा गरेका थिए भने प्रदेशसभातर्फ २० जना उम्मेदवार थिए । त्यसमध्ये अधिकांशको जमानतसमेत जफत भएको छ ।

त्रिपाठी नेतृत्वको पार्टीले समानुपातिकमा हालसम्मको मतगणनामा १८ हजार ४८ मतमात्र ल्याएको छ । सो पार्टीका महासचिव ईश्वर दयाल मिश्रले पार्टी यति कमजोर किन भयो भन्नेबारे समीक्षा हुन बाँकी रहेको बताए ।

उनले भने, ‘हाम्रो संगठन विल्कुल नयाँ थियो, संगठन विस्तारको कामै भएको थिएन । त्यही कारण सोचेजस्तो नतिजा ल्याउन नसकेको हो सायद ।’

तर सोही पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले पार्टी नयाँ हुनका साथै पार्टीभित्र समन्वयको अभाव रहेका कारण चुनावमा कमजोर भएको बताए । उनले भने, ‘चुनावमा हामीले गठबन्धन बनाउने प्रयास ग¥यौं तर कुनै दलसँग गठबन्धन बन्न सकेन, एक्लै चुनावमा जाने हिम्मत ग¥यौं । विभिन्न ठाउँमा उम्मेदवारी दियौं तर पार्टीका अध्यक्षजी (त्रिपाठी)ले आफ्नो क्षेत्रमा एमालेसँग तालमेल गर्नुभयो, अन्य क्षेत्रको बारेमा केही गर्नुभएन ।’

त्रिपाठी अध्यक्ष भएका कारण पार्टीका अध्यक्ष उम्मेदवारसँग फोनमा भए पनि समन्वय गर्नुपर्थ्यो तर त्यसको अभाव देखिएको उनको भनाइ थियो । पार्टीमा समीक्षा बैठक बसेपछि मात्र कमी कमजोरीको बारेमा छलफल गर्न सकिने उनले बताए ।

उपाध्यक्ष यादव पनि महोत्तरी–४ मा उम्मेदवार थिए । उनले ४९८ मत प्राप्त गरे । त्यहाँ सत्ता गठबन्धनमा उम्मेदवार महेन्द्रकुमार राय निर्वाचित भए ।

सो पार्टीबाट रौतहट १ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका श्रीमन नारायणले स्रोत, साधन र समन्वयको अभावका कारण चुनावमा पार्टी कमजोर भएको बताए । उनले भने, ‘जो जति पपुलर भए पनि चुनावको अघिल्लो दिन भोज भतेर, रकम वितरण गरेन भने चुनाव जित्न गाह्रो छ, हाम्रो पार्टीले त्यस्तो गर्न नसकेको हो ।’

अन्य सबै पार्टी गठबन्धनबाट चुनाव लडेका तर जनता प्रगतिशील चुनावी मैदानमा एक्लै रहेका कारण पनि अपेक्षाकृत मत आउन नसकेको उनले बताए । पार्टीेको नेतृत्वले पनि चुनावको समयमा उम्मेदवारसँग समन्वय गर्न नसकेको जस्तो देखिएको उनको भनाइ छ । उनले चुनावमा ४६८ मत पाए ।

कम्युनिस्ट राजनीतिबाट उदाएका त्रिपाठी लामो समय नेपाल सदभावना पार्टीबाट सक्रिय राजनीति गरे । पछि सो पार्टी छाडेर महन्थ ठाकुरको साथमा तमलोपा बनाए । तर तमलोपाले अन्य दलहरुसँग मिलेर राजपा बनाएपछि त्रिपाठीले २०७४ असोजमा सो पार्टी छाडेका थिए ।

राजपा छाडेर त्रिपाठीले स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । सो समूहमार्फत उनले एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर २०७४ को चुनावमा भाग लिएका थिए । त्यतिबेला उनले प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ तीन वटा सिटमा आफ्नो समूहका उम्मेदवारलाई चुनाव जिताएका थिए । उनी एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री पनि बनेका थिए ।

मन्त्रीबाट हटेपछि उनी नयाँ पार्टी गठनतिर लागेका थिए । उनी नयाँ पार्टी गठन गर्ने गृहकार्यमा लागेपछि उनलाई साथ दिएका वृषेश गुप्तालगायतका नेताहरुले स्वतन्त्र राजनीतिक समूह छाडेका थिए ।

तै पनि केही नेताहरु बटुलेर उनले २०७८ मंसिरमा जनता प्रगतिशील पार्टी गठन गरेका थिए । एक वर्ष संगठन निर्माण र विस्तारमा लागेका त्रिपाठीले २०७९ मंसिर ४ गतेको भएको चुनावमा भाग लिएका थिए तर २०७४ को निर्वाचनमा प्राप्त गरेका शक्ति पनि उनले गुमाए ।

जनता प्रगतिशील पार्टीभन्दा पछि गठन भएको नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा तुलनात्मक रुपमा राम्रो प्रगति गरेका छन् । अब के गर्ने भन्ने जिज्ञासामा उपाध्यक्ष यादवले भने, ‘पार्टीको समीक्षात्मक बैठक बस्न बाँकी छ, बैठकपछि अगामी रणनीति बनाएर अगाडि बढ्छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप