शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वामपन्थी एक भएर एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छः गुरुङ

शुक्रबार, १६ मङ्सिर २०७९, १६ : ३९
शुक्रबार, १६ मङ्सिर २०७९

नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोड्दै वामपन्थी शक्तिहरूलाई एकजुट बनाएर एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ । 

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए । 

 मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधीनतामाथि धाँवा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको जिकिर थियो । 

उनले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दावी समेत गरे । तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उनले औंल्याए । उपमहासचिव गुरुङले भने, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ । अहिले जोडतोडले दुष्प्रचारबीच भइराखेको छ, कुप्रचार भएको छ कि अव शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौँ ।’

उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पु¥याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले  नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप