शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयको १३ औं सभा सम्पन्न, १ अर्ब ६ करोड बजेट पारित

शुक्रबार, १६ मङ्सिर २०७९, १६ : ४७
शुक्रबार, १६ मङ्सिर २०७९

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (मपवि) को तेह्रौं सभा सम्पन्न भएको छ । प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा आज सम्पन्न भएको बैठकले चालु आर्थिक वर्षका लागि अनुमानित १ अर्ब ६ करोडको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट १ अर्ब ६ करोड ५७ लाख ८४ हजार सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव समेत पारित गरिएको हो । 

त्यस्तै अन्य प्रस्ताव समेत पारित गरिएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा सम्पन्न सभामा अर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू लगायतको उपस्थिति रहेको थियो । 

सभामा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले स्वागत मन्तव्य तथा विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गत आर्थिक वर्ष २०७८÷०७९ को आम्दानी खर्च अनुमोदन समेत गरिएको थियो । 
सभाले मपवि आर्थिक–प्रशासनिक नियमावली २०६९ को छैटौं संशोधन समेत गरेको छ । सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरिएको उपकुलपति सचिवालयका सूचना प्रविधि विज्ञ उप–प्रा. पन्चदेव भट्टले जानकारी दिए । 

सभामा अर्थमन्त्री जनार्दन शर्मा तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले सम्बोधन गरेका थिए । 
विश्वविद्यालयले कर्णाली प्रदेशको उचित स्थानमा मिडवेस्र्टन युनिभर्सिटी इन्सिट्युट अफ मेडिसिन एण्ड कम्युनिटी हेल्थ (एमयू आईएमसीएच) र मिड वेस्ट युनिभर्सिटी इन्सिट्युट अफ इन्फरमेशन टेक्नोलोजी (एमयू आईआईटी) नामक संस्थाहरू स्थापना गर्ने र सञ्चालन गर्ने लक्ष्य लिएको छ । यी संस्था स्थापनाको लागि ८ अर्ब बजेट व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहमतिसहित अर्थ मन्त्रालयमा दातृसंस्था तथा नेपाल सरकारका तर्फबाट आवश्यक बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरलाई हरियालीमय बगैंचासहित सजावट गराई सुर्खेत उपत्यकामा अवलोकनीय विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य समेत विश्वविद्यालयको छ । यसका लागि केन्द्रीय कार्यालय अगाडिको खुल्ला स्थानमा नौतलाको Swinging Digital Reading Tower cum Light House ​ निर्माण गर्ने र यसको माथिल्लो भागबाट कुलपतिको कार्यकक्षसम्म जोड्ने योजना रहेको छ । 
विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन कार्यको आवश्यक संस्थागत मापदण्ड बमोजिम हुने विश्वविद्यालयका सम्पूर्ण निकायहरूलाई समेटेर यसै आर्थिक वर्षभित्र एमयू ट्रेनिङ युनिट स्थापना गर्ने लक्ष्य विश्वविद्यालयको रहेको छ । 

विश्वविद्यालयलाई ग्लोबल ¥याङ्कलाई आवश्यक सुधार गर्न एक नीति तथा कार्यक्रम बनाई यथाशीघ्र लागु गर्ने योजना समेत विश्वविद्यालयले लिएको छ । प्राध्यापकहरूको नियुक्ति, सरुवा, बढुवा र वृत्ति विकासका विस्तृत आधारहरू तय गरी लागू गर्ने विश्वविद्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप