शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलमा प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटेन मूल्य

१५ दिनमा ५८ करोड नाफा हुने, पुरानो ऋण तिर्ने
शुक्रबार, १६ मङ्सिर २०७९, १८ : १६
शुक्रबार, १६ मङ्सिर २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने भएको हो । यसअघि प्राप्त मूल्यसूची अनुसार निगमलाई १५ दिनमा २६ करोड रुपैयाँ घाटा भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । डब्लूटीआईको मूल्य प्रतिब्यारेल ८१ डलर र ब्रेन्टको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइसडटकमका अनुसार आगामी दिनमा कच्चा तेलको माग झनै घट्न सक्छ । र, यसको प्रत्यक्ष प्रभावका कारण मूल्य अझै घट्न सक्छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपाली बजारमा समेत परेको हो । यहीकारण यतिबेला निगमलाई १५ दिनको व्यापारबाट ५८ करोड रुपैयाँ फाइदा हुने स्थिति बनेको छ । अहिले चीन सरकारले कोरोना रोकथामका लागि भन्दै कडा लकडाउन घोषणा गरेको छ । यस्तै, यतिबेला चीनको बलियो सरकारविरुद्ध लकडाउन खुकुलो बनाउन भन्दै धेरै शहरहरूमा आन्दोलन भइरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता देश हो । चीनमा पेट्रोलियम पदार्थको माग कम भएपछि विश्वभर नै पेट्रोलियम पदार्थको माग कम भएर मूल्य घटेको हो ।

चीनमा भइरहेको लकडाउनको कारणले चीनको माग केही मात्रामा भएपनि घटेको छ । ठूलो खपतकर्तामा भइरहेको हलचलका कारणले अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेको छ । यस्तै, यतिबेला चीनसहित विश्वको तेस्रो ठूलो तेल खपतकर्ता भारतले समेत रुसबाट सस्तो मूल्यमा तेल किनिरहेको छ । यसले गर्दा पेट्रोलियम पदार्थको माग घटेको छ । यहीकारण, विश्वबजारमा कच्चा तेलको मूल्य घटेको जानकारहरू बताउँछन् ।

निगमलाई ५८ करोड फाइदा

विगत लामो समयदेखि घाटा खाइरहेको नेपाल आयल निगम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नाफामा जान लागेको छ । भारतबाट प्रशोधित तेलको मूल्य घटेर आउँदा अहिलेकै स्थितिमा निगमलाई १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुन्छ । तर, निगमले भाउ समायोजन गर्दै मूल्य घटाएको अवस्थामा भने यो तथ्यांक फेरिन सक्छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेकै मूल्य कायम रहेमा आगामी १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने बताए ।  ‘पछिल्लो मूल्यसूची अनुसार एलपीजी (खाना पकाउने ग्यास) बाहेक सबैमा नाफा छ, सबैभन्दा धेरै नाफा पेट्रोलमा छ, यही मूल्य कायम रहेमा १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ जति फाइदा हुन्छ,’ प्रवक्ता उपाध्यायले रातोपाटीसँग भने ।

आईओसीको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर १३ रुपैयाँ फाइदा हुन्छ । यतिबेला नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ छ । जबकि, निगमलाई यसको लागत जम्मा १६८ रुपैयाँ छ । यसअनुसार निगमले १५ दिनमा पेट्रोल बेचेर ३४ करोड रुपैयाँ नाफा गर्नेछ ।

यसअघि प्रटिलिटर ११ रुपैयाँ घाटामा रहेको डिजेलको व्यापार समेत नाफामा गएको छ । यसअघि प्रतिलिटर ११ रुपैयाँ घाटामा रहेको डिजेलको व्यापार अब प्रतिलिटर ४३ पैसा नाफामा हुनेछ । भारतबाट ११ रुपैयाँ प्रतिलिटर घटेर आएसँगै डिजेलको व्यापार नाफामा जाने भएको हो । हाल डिजेलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेकामा यसको खरिद लागत १७७.४७ रुपैयाँ छ । यसअनुसार निगमले १५ दिनमा डिजेलबाट २ करोड ९० लाख रुपैयाँ आर्जन गर्ने बताइएको छ ।

यस्तै, मट्टितेलबाट १५ दिनमा निगमले १ करोड ५५ लाख रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ९ करोड ४६ लाख  रुपैयाँ र बाह्यतर्फबाट ४७ करोड रुपैयाँ नाफा हुन्छ । यसबाहेक, एलपीजीबाट १५ दिनमा ३७ करोड रुपैयाँ घाटा हुने बताइएको छ । हाल २ हजार ७७ रुपैयाँ प्रतिसिलिन्डर रहेको एलपीजी ग्यासको बिक्री मूल्य १८ सय रुपैयाँ छ । यसअनुसार प्रतिसिलिन्डर एलपीजीमा निगमलाई २७७ रुपैयाँ घाटा छ ।

१५ अर्ब ऋणमा निगम

नाफा बढ्दै गएपछि निगमले भारततर्फ बाँकी रहेको बक्यौता रकमसहित नेपाल सरकारको ऋण समेत घटाउँदै लगेको छ । प्रवक्ता उपाध्यायका अनुसार यतिबेला निगमको थाप्लोमा १५ अर्ब रुपैयाँ ऋण बाँकी रहेको छ । यसअघि, आईओसीलाई तिनुपर्ने बक्यौता रकमसहित नेपाल सरकार र वाणिज्य बैंकको गरी कूल ३४ अर्ब रुपैयाँ हाराहारी ऋण थियो । जुन, यतिबेला घटेर १५ अर्ब रुपैयाँभन्दा तल आएको उपाध्यायको भनाइ छ ।

‘वाणिज्य बैंकको ऋण लगभग सकिइसकेको छ । आईओसीलाई बुझाउनपर्ने बक्यौता पनि घटेको छ, अब नेपाल सरकारको ऋण र आईओसीको केही बक्यौता बाँकी छ,’ उनले भने ।

पेट्रोलबाट नाफा आउन थालेपछि ऋण तिर्नतर्फ ध्यान केन्द्रीत गरेको उपाध्यायको भनाइ छ । 

निगमको पछिल्लो निर्णय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप