शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म सोसाइटीले गर्‍यो नवनिर्वाचित सांसद राणा र श्रेष्ठलाई सम्मान

शुक्रबार, १६ मङ्सिर २०७९, २१ : ३८
शुक्रबार, १६ मङ्सिर २०७९

फिल्मकर्मी तथा नव निर्वाचित प्रदेश सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् । नेपाल फिल्म सोसाइटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै राणाले बोर्ड स्वायत्त भयो भने चलचित्र क्षेत्रको समस्या आफै समाधान हुने धारणा राखे ।

‘म प्रदेश सांसद हो । हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डको स्वायत्तताका लागि विशेष पहल रहनेछ ।’ सातैवटा प्रदेशमा चलचित्र विकास बोर्ड गठन हुनपर्ने धारणा समेत राखेका राणाले आफ्नो बेस चलचित्र र पेसा पनि चलचित्र भएकोले यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए । ‘चलचित्रको नीति बनाउने केन्द्रीय तहमा मेरो प्रतिनिधित्व छैन’ राणाले थपे– ‘सोही कारण पनि हामीले धेरै काम गर्न नसक्ने हुनसक्छ । यो सबैले मनन गर्नुपर्ने हुन्छ । सकेको सहयोग भने गर्नेछु ।’

त्यस्तै अर्का नवनिर्वाचित प्रदेश सांसद मदुकुमार श्रेष्ठले पनि आफूले फिल्म क्षेत्रका लागि सक्दो सहयोग गर्ने बताए । ‘म राजनीतिका अलवा फिल्म क्षेत्रबाट पनि चिनिएको छु’ श्रेष्ठले भने– ‘फिल्म क्षेत्रका लागि बागमती प्रदेशबाट हुने कामका लागि म पहल गर्नेछु ।’

सांसदको ५ वर्ष आफु घुस नखाने, भ्रष्टाचार नगर्ने र पाउने तलव भत्ता समेत गरिबको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका श्रेष्ठले चलचित्रकर्मीको साथ र सहयोगबाट आजको स्थानमा आउन सफल भएको धारणा राखे । ‘फिल्मकर्मीको साथ र सहयोगको पनि अहिलेको सफलतामा हात छ’ श्रेष्ठले अगाडि भने, ‘त्यो साथ र सहयोग आगामी दिनमा पनि आवश्यक छ । म पनि यो क्षेत्रका लागि सक्दो सहयोग गर्नेछु ।’

नेपाल फिल्म सोसाइटीले नवनिर्वाचित प्रदेश सांसद रोज राणा र मधुकुमार श्रेष्ठलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले सांसदले चलचित्र क्षेत्रको समस्याको बिषयमा सदनमा कुरा उठाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा कलाकार कृष्ण ढुंगाना, निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, अशोक शर्मा, शिवहरि बैरागी, कलाकार मोहन निरौला, सुवास काफ्ले लगायत थुप्रै फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप