आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

विडुडवको बदलाले धुलिसात बनेको कपिलवस्तु साम्राज्यको दस्तावेज

शनिबार, १७ मंसिर २०७९, ०७ : ५१
शनिबार, १७ मंसिर २०७९

जब बुद्धको कुरा आउँछ, जब सगरमाथाको कुरा आउँछ, हाम्रा आँखा कान चनाखो भैहाल्छन् । हामीले यी दुई चिजलाई आफ्नो स्वाभिमानसँग जोडेर राखेका छौँ । बेला बेलामा हाम्रो स्वाभिमानसँग छिमेकी भारत खेलवाड गरिरहन्छ । चीनले चित्त दुखाईदिन्छ ।

हामीले बुद्ध र सगरमाथाको बारेमा धेरै कविता लेखेका छौ । धेरै गीत बनाएर गाएका छौँ । हामीले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर अभियानै छेड्ने गरेका छौ । तर पनि हामी ढुक्क छैनौ । हाम्रा गर्व गर्ने सम्पदामा कुनै पनि बेला छिमेकीले गिद्धेदृष्टि लगाउन सक्छन् भन्ने हामीलाई हरदम हरपल एउटै चिन्ता छ । चासो र चिन्ताको यो शृङ्खला कहिलेसम्म चलिरहने हो, त्यो थाहा छैन ।

भर्खरै मात्र मैले एउटा पुस्तक पढेर सकाएको छु । जुन पुस्तक गौतम बुद्धको जीवनीसँग भन्दा पनि उनी जन्मिएको हुर्किएको नगरसँग सरोकार राख्छ । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रमाण खोज्नतिर भन्दा पनि कपिलवस्तु राज्यको उत्थान र पतनको प्रमाण खोज्न केन्द्रीत छ, यो किताब ।

पुस्तकको नाम हो, ‘बिडुडब र कपिलवस्तुको पतन’, यस लघुउपन्यासका लेखक हुन्,  भिक्टर प्रधान ।  जम्मा १४८ पृष्ठको लघुउपन्यास आकारले सानो छ  ।  प्राचीन कथा,  मिथक समेटेर प्राचीन कपिलवस्तु राज्यको उदय र पतनको कथा उठान गरिएको यो किताब अत्यन्त सरल र सुरुचिपूर्ण छ । एक बसाइँमै पढेर सकिन्छ । 

औपन्यासिक कथाको संक्षिप्त नजरावलोकन 

यो उपन्यासले बुद्धकालीन समयको कथा उधिनेको छ । ईपू ७ सय वर्षअघि हालको कपिलवस्तु नगरमा दुई शाक्य कुल थिए । अहिलेको कपिलवस्तुको दक्षिणमा ओक्काक वंशको शासन कायम रहेको अर्को  एक  राज्य  थियो । त्यहाँका राजा ईछावाकुका पाँच रानी थिए । भरित्ता जेठी रानी थिइन्, जसको कोखबाट एक मात्र छोरी जन्मिइन्, पिया । अरु रानीबाट ओक्कामुख लगायत  छोरा  र  छोरीहरुको पनि जायजन्म भयो । 

एकदिन जेठी पटरानी भरित्ताको मृत्यु भयो । राजा ईछवाकुले कान्छी  रानी बिहे गरे जयन्तीलाई । उनी महत्वाकांक्षी थिइन् । उनीबाट छोरा जन्तुकुमारको जन्म भयो । जयन्ती आफ्नो छोरालाई राज्यको उत्तराधिकारी बनाउन राजालाई दबाब दिन थालिन् । रोलक्रमका राजकुमारहरु हुँदाहुँदै यो कुरा सम्भव थिएन ।  

राजाले रानीलाई खुशी पार्न आफ्ना चार भाइ छोरा र पाँच छोरीलाई राज्यबाट निर्वासित भएर जान आदेश दिए । उनीहरु बाबुको आग्रह  शिरोपर गरी  आफ्नो राज्य परित्याग गरे ।  हिँडदै हिँड्दै उनीहरु उत्तरतिर लागे, जहाँ घना जंगल थियो ।

राजकुमार तथा  राजकुमारीको साथ लागेर अन्य  कैयौ भारदारहरु पनि  राज्य छोडेर उनीहरु सँगै आएका थिए । उनीहरु जंगलै जंगल उत्तर दिशातिर चुरेको खोचसम्म आए । घुम्दै जाँदा उनीहरुले एक ठाउँमा कपिल मुनिको आश्रम भेटे ।  उनीहरुले त्यही सालका रुखहरु फाँडेर बस्ती  बसाए । कपिलमुनिकै सल्लाहमा बसाइएकोले बस्तिको नाम कपिलवस्तु राखियो ।  

उनीहरुले रक्तशुद्विका लागि  कपिलमुनिकै  सुझावअनुसार आफ्नै बहिनीहरुसँग बिहे गरे ।  जेठी दिदी पियालाई मातृस्थानमा राखेर आफ्नो  शासन चलाए । जंगलको बिचमा नयाँबस्ती भएर पनि  सबैकुरा ठिकठाक चल्दै थियो । अचानक ओक्कामुख राजाकी जेठी दिदी पियालाई कुष्ठरोगले समात्यो ।  त्यतिबेला कुष्ठरोगलाई दुसाध्य रोग मानिन्थ्यो । घरपरिवारमा एकजनालाई  कुष्ठरोग  भए त्यो  अरु जो कोहीलाई  रोग सर्न सक्थ्यो ।  कुष्ठरोगको औषधि उपचार थिएन । 

त्यतिबेला  कुष्ठरोगीलाई ओढार जंगल या  कतै  अनकण्टार एकान्तमा लगेर मर्नको लागि छाडिदिने चलन थियो ।  दिदी पियाको बारेमा के गर्ने ? कुमारहरु दिनरात छलफलमा जुटे ।  आफ्नै दिदीलाई कुष्ठरोग लागेको छ । दिदीलाई घरमा राख्दा बच्चाबच्ची श्रीमती या आफैलाई सर्न सक्छ । नराखौँ आफ्नी अभिभावक सरहकी दिदीलाई कसरी परित्यक्त गर्ने । ओक्कामुख कुमारहरुले निकै छलफल गरे । 

अन्ततः परिवारका सबैजना वनविहार गर्न जाने योजना बन्यो । खानेकुराको बन्दोबस्ती भयो । चढ्नको लागि रथ, ओढ्ने ओछ्याउने सबै बन्दोबस्ती भयो । एकदिन दरबारका ठुला साना सबै सदस्य वनविहारको लागि दरबारबाट निक्लिए । उनीहरु रमाउदै जंगल भित्रभित्रै गए । फलफूल खाए, कोही खोलामा नुहाए । कसैले सिकार खेले ।

ओक्कामुखले एउटा ओढार खोज्न लगाए । ओढारको सरसफाई भयो । काठका फलेक ठोकेर बस्न लायक कोठा बनाइयो । त्यहाँ खानपिनका कुराहरु ओढ्ने ओछ्याउने कपडा राखियो । र, कुष्ठरोग लागेकी दिदीलाई  ओढारभित्र राखेर ओढारको मुखको ढोका काठको फलेकले मजबुत तरिकाले बन्द गरियो । ता कि उनी फर्किएर आउन नसकुन् ।

वनविहारको खास उद्देश्य कुष्ठरोगले ग्रसित दिदीलाई घर बाहिर निकाल्नु थियो । उद्देश्य पुरा भएपछि उनीहरु दलबलसहित दरबार फर्किए ।  कुमारी पिया जंगलमै छोडिइन् । उनी रोइन्, कराइन् । तर कसैको मन पग्लिएन । 

कैयन दिन बिते । एकदिन  उनी बसेको  गुफामा  बाघ आयो । बाघले  मानव  गन्ध थाहा पाएर ढोका फोर्ने अनेक प्रयास गर्यो । बाघ देखेर कुमारी पिया डाँको छाडेर रोइन् । बाघले त्यो मानव खोर फोर्न सकेन, उ फर्किएर गयो । 

नजिकै कोल बृक्षमा अर्का ब्यक्ति बस्दा रहेछन् ।  उनी रातको समयमा बाघको गर्जनासँगै स्त्री चीत्कार सुनेर अचम्मित भए । बिहान आवाज आएको ठाउँमा आएर हेरे । एउटा गुफामा काठको फलेकको ढोका देखियो, गुफा बन्द थियो । उनले बाहिरबाट बोलाए । 

गुफाभित्रबाट एकस्त्री बोलिन् । कुराकानीपछि  स्त्री बाहिर आइन् । चिनापर्ची भयो । पुरुष बारणसी जनपदका राजा राम थिए । उनी  कुष्ठरोग लागेपछि आफूलाई सबैबाट अपहेलित भएको महसुस भएपछि आफैले दरबार छोडेर यो चुरेको घेँचको घना जंगलमा आएका थिए । 

वनविहार गर्दै, जडिबुटी खाँदै कैयौँ बर्ष बिते । उनले कुष्ठरोगलाई जिते पनि फर्किएर जान मन लागेनछ । स्त्रीले आफ्नो परिचय दिदै आफूलाई वनविहार क्रममा परिवारले जंगली ओडारमा थुनेर गएको बताइन् ।

दुबै परित्यक्त थिए । कुरा मिल्यो । दुबै सँगसँगै बस्न थाले । सँगै बस्दाबस्दै उनीहरुले बिहे गरे ।  पिया सोह्र पटक दोजिया भइन् । सोह्रै पटक जुम्ल्याहा छोरा जन्मिए । तिनका छोराहरु जंगलमै हुर्किए । जंगलमै शिक्षादीक्षा ग्रहण गरे । उनीहरुले कपिलवस्तुका शाक्य कन्याहरुसँग बिहेबारी गरे । कोलबृक्षमा बसेकाले उनीहरु कोलिय वंशी भए । उनीहरुकी आमा शाक्य कुलकी भएकीले कोलिय शाक्य भनिए ।

कोल वृक्षमा निवास गर्ने राजाका सन्तान भएकाले बत्तिस कुमारको वंशलाई कोलिय वंश नाम दिईयो (पृ ३२) । बस्ती बिस्तार हुँदै जाँदा उनीहरु बसेको ठाउँ कोलनगर बन्यो । कोलनगरमा कोलिय शाक्य वंशले र कपिलवस्तुमा शाक्य वंशले शासन गर्न थाले । दुई देशको सिमाना उत्तरदक्षिण बगेकी रोहिणी नदी बनिन् । नदीको पूर्व कोल राज्य र पश्चिम कपिलवस्तु थियो (पृ. ३३) ।

प्राचीन शाक्य गणराज्य हो, कपिलवस्तु । जहाँ गौतम बुद्धको जन्म भएको थियो । त्यतिबेला अहिलेको भारत वर्षमा कपिलवस्तुभन्दा पनि निकै शक्तिशाली महाजनपदहरु अस्तित्वमा थिए । मगध, कम्बोज, काशी, कोशल, कुरु जस्ता अनेकन  राज्यहरु क्षेत्रफल र शक्तिका हिसाबले निकै बलशाली  थिए । 

कपिलवस्तु कोशल महाजनपद अधिनस्थ थियो । कपिलवस्तुमा राजा शुद्धोदन शासन गर्दथे ।  कपिलवस्तुको राजधानी तिलौराकोट थियो । राजा शुद्धोदन ५७ बर्षको हुँदा उनकी रानी मायावतीबाट सिद्धार्थ गौतमको जन्म भएको थियो ।  सिद्धार्थको जीवनको स्वर्णिम २९ वर्ष कपिलवस्तुमा ब्यतित भएको थियो । उनले नवजात शिशु राहुल र पत्नी यशोधरालाई छोडेर गृहत्याग गरे । उनले कठिन तपस्या गरेर बुद्धत्व प्राप्त गरे । तिनै सिद्धार्थ कालन्तरमा गौतम बुद्धको नामबाट विश्वविख्यात भए । बुद्धको कुल शाक्यवंशलाई त्यतिबेलाको समाजले उच्च कुलको रुपमा हेर्दथ्यो ।

कोशल नरेश प्रसेनजित बुद्धका अनुयायी थिए ।  उनी शाक्य कुलसँग वैवाहिक सम्बन्ध गाँस्न चाहन्थे । उनका थुप्रै रानी थिए । उनी शाक्यकुलकी कन्यासँग विहे गरेर जन्मिएको सन्तानलाई कोशल महाजनपदको सम्राट बनाउने सपना देख्न थाले । उनले आफूलाई कन्या दिन कपिलवस्तुमा खबर पठाए । कन्या दिउँ आफूभन्दा सानो कुलका राजालाई कसरी दिने । नदिऊँ राजा रिसाएर आफ्नो मुलुकमा आक्रमण गरिदिने पो हुन् कि ?

शाक्यहरुलाई आफ्नो रक्तशुद्विको अभिमान थियो । उनीहरु शक्तिशाली कोशल सम्राटलाई नजरअन्दाज गर्न सक्दैनथे, आफ्नो कुलको मर्यादा  गिराउन पनि चाहँदैनथे ।  प्रसेनजितको मान पनि राख्नु थियो । उनीहरुले षड्यन्त्रपूर्वक दासीपुत्री बासभ खत्तियालाई शाक्य राजकुमारी भनेर प्रसेनजितसँग  विवाह गरिदिए । उनीहरुबाट नै विडुडवको जन्म भयो । 

कपिलवस्तु विडुडवको मावली राज्य थियो । विडुडव कोशल नरेश प्रसेनजितका छोरा थिए । उनी हुर्किएर सोह्र बर्षको हुँदासम्म आफ्नो मावल कपिलवस्तु गएका थिएनन् । जब मावल गए,  कपिलवस्तुका शाक्यहरुले आफ्ना पितालाई झुक्याएर दासी कन्यासँग विवाह गरिदिएको रहस्य पनि  थाहा पाए ।  छोरामार्फत् यो कुरा प्रसेनजितले पनि थाहा पाए । 

यसरी आफ्ना पितासँग मावली खलकले गरेको अपमानले विडुडवको मनमा विद्रोहको विजारोपण गरिदियो ।  विडुडवमा कसरी हुन्छ आफूमाथि भएको अपमानको बदला लिने प्रतिशोधको भावना दिनानुदिन प्रवल हुँदै जान थाल्यो ।

यसै क्रममा आफ्ना पिताको सत्ता बहिर्गमनपछि विडुडव राजपाठ सम्हाल्छन् । शाक्यहरुले आफ्नो कुललाई धोका दिएको बदला लिन उनी सेनाको नेतृत्व  गर्दै  कपिलवस्तुतिर अघि सर्छन् । सिमानामा बुद्धसँग भेट हुन्छ । यो क्रम तीन पटकसम्म दोहोरिन्छ र तिनै पटक बिडुडव त्यत्तिकै फर्किन्छन् । 

अपमानको बदला लिने सोच बदलिएको हुँदैन । चौथो पटक जाँदा सिमामा बुद्ध भेटिँदैनन्  । त्यहाँ बिडुडवलाई रोक्ने पनि अरु कोही हुँदैनन् । उनका  सेनाले कपिलवस्तुमाथि निर्मम आक्रमण गर्दछन् ।  युद्वमा कपिलवस्तु खरानीमा परिणत हुन्छ । लडाईमा चारैतिर रगतको खोलो बग्छ । कोशल नरेश प्रसेनजितका छोरा विडुडवले सत्तरी हजार जति शाक्यहरुको वध गर्छन् ।

विडुडवले बुद्धको जीवनकालमै कपिलवस्तुमाथि आक्रमण गरेका थिए  । शाक्यहरु कपिलवस्तु छोडेर लाखापाखा लाग्छन् । एउटा हाँगो पूर्व लाग्छ । त्यो हाँगो काठमाडौं उपत्यकामा प्रवेश गर्छ । अर्को हाँगो पश्चिम पहाड हुँदै दाङ उपत्यकामा प्रवेश गर्दछ । कालान्तरमा उनीहरु थारू कहलिन्छन् । एउटा समूह अझ पश्चिमतिर बढ्दै जाँदा अफ्गानिस्तानको बामियान उपत्यकामा पुग्छ र  त्यहाँ उनीहरुले पहाड  कन्दरामा विशाल बुद्धमूर्तिहरु बनाए भनिन्छ  ।

कपिलवस्तु जुनबेला आफैमा सम्पन्न सभ्यता थियो । उतिबेलै त्यहाँ नगर सभ्यता विकसित भएको थियो । जहाँ आफूलाई उच्च कुलको मान्ने शाक्यहरुको शासन थियो । शाक्यहरुलाई रक्तशुद्विको जुन अहम् र बहम् थियो, त्यही अहम्ले कपिलवस्तुलाई खरानी बनाईदिएको थियो । 

त्यो गुल्जार कपिलवस्तु मानिस नै नभएपछि निर्जन हुन पुग्यो । रुख बुट्यानहरु उम्रिन थाले । हुन सक्छ, लामो अवधिमा चुरेबाट आउने बाढीले ल्याएको पाँगो माटोले कपिलवस्तु पुरिँदै गयो । कपिलवस्तु पहिले जंगल थियो । फेरि त्यहाँ जंगल विकसित हुँदै गयो ।

इतिहासले छोडेको एउटा प्रश्न

बुद्ध जन्मेको कपिलवस्तु लामो समयसम्म ओझेलमा पर्यो । विडुडवले ध्वस्त पारेको कपिलवस्तु जिर्णोद्वार  पछि मगध नरेश अशोकले गरे । उनी ईपूर्व २४५  मा कपिलवस्तु आएका थिए । उनले  बुद्ध जन्मस्थलमा प्रस्तर स्तम्भ राखे र त्यसमा स्पष्टसँग बुद्ध जन्मस्थल भएको तथ्य  रहने गरी ढुङ्गाको स्तम्भ राखेर  र त्यसैमा  सन्देश खोपाए । आज त्यही प्रमाण विश्वलाई यो स्थल बुद्ध जन्मस्थल हो भनेर मान्न सहज भएको छ । 

चिनियाँ यात्री फाहियान सन् ४०३ मा लुम्बिनी आए । सन् ६३६ मा  अर्का चिनियाँ यात्री हुयान साङले कपिलवस्तुको यात्रा गरे । सन् १२३४ मा जुम्लाका शासक रिपु मल्लले कपिलवस्तु लुम्बिनीको भ्रमण गरे । त्यतिन्जेलसम्म लुम्बिनीको अस्तित्व विश्वलाई थाहा थिएन ।  

सन् १८९५ मा जर्मन विद्वान डा फ्यूहरर लगायतको टोलीले  कपिलवस्तुको बारेमा गहन खोज अनुसन्धान गरे । इतिहासमा कपिलवस्तु लामो समयसम्म गुमनाम थियो । बुद्ध जन्मस्थल लुम्बिनी भएको प्रामाणिक तथ्य भेटिएपछि लुम्बिनीको ख्याती विश्वव्यापी भएको छ र नेपालको महत्वपूर्ण पर्यटकीय स्थल बनेको छ ।

तथागत बुद्धको जन्मस्थल लुम्बिनी र उनको बाल्यकाल र युवाकाल व्यतित भएको तिलौराकोटमा बर्सेनी लाखौँ पर्यटक आउँछन् ।

शान्तिका अग्रदूत जन्मिएको कपिलवस्तु किन र कसरी बिलुप्त भएको थियो भन्ने कुरा आज पनि विश्वको लागि कौतुहलकै विषय बनेर रहेको छ ।  बौद्ध साहित्यमा गौतम बुद्धको जन्मदेखि बाल्यकाल र युवाकालका अनेकन कथाहरु पढ्न पाइन्छन् । बुद्धले कपिलवस्तु छोडेपछि कपिलवस्तु किन हरायो ? त्यसको साँगोपाँगो कथा भने निकै कम भेटिन्छ ।

कुनै बेलाको गुल्जार कपिलवस्तु कसरी धुलिसात भयो ? त्यति ठूलो छु मन्तर गरेर बिलाए झैं  कसरी बिलायो ? विश्वशान्तिका अग्रदूत बुद्ध जन्माउने शाक्य वंश नै कसरी नासियो ?  कपिलवस्तुको अस्तित्व कसरी मेटियो  ?  प्रश्न धेरै छन्, उत्तर कमै भेटिन्छ । कपिलवस्तुको मेटिँदै गएको  लुकेको इतिहासलाई उधिन्ने काम यो पुस्तकले गरेको छ । एउटा पाठकको नजरबाट नियाल्दा पुस्तक अत्यन्त सरल र सुपाच्य छ ।

‘विडुडव र कपिलवस्तुको पतन’ पुस्तकमा लेखक भिक्टर प्रधानले कपिलवस्तुको लुकेको इतिहास  उधिन्न खोजेका छन् । यस पुस्तकमा उल्लेखित धेरै कथा उपकथाहरु हामी सबैले कहिँ न कहिँ पढिसकेका छौँ, सुनिसकेका छौँ । कथामा राजा  शुद्धोधन झुल्किन्छन् । कोशल नरेश प्रसेनजित झुल्किन्छन् । श्रावस्तीको कुरा आउँछ । सेठी अनाथपिण्डिका, जेतवन, वैशाली, भिक्षुहरु धेरै कुराहरु सहज तरिकाले आउँछ । बुद्धलाई पछ्याउदै हिँड्ने ठूलो मानवसागर दृष्यवान हुन्छ । 

२०७८ सालमा प्रकाशित यो लघुउपन्यासलाई  वि रिडले प्रकाशन गरेको हो  । पुस्तकको  मूल्य २७५ रहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप