बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : के हो आखिर जिन्दगी ?

शनिबार, १७ मङ्सिर २०७९, ०८ : ०६
शनिबार, १७ मङ्सिर २०७९

निष्कपट, निरन्जन, निराकार
या संदिग्ध, अनाहक, बेकार ?
दुष्कर रहस्य या गहन उद्देश्य
ब्यर्थको घनचक्कर या दुर्लभ अवसर ?
के हो आखिर जिन्दगी ?
कर्कलाको पानी कि अमृत रसको खानी  
संघर्षको अन्तर्कथा कि सुखको जायजेथा ?
आर्तनादको यो खोलामा कोही माथि उत्रन्छ  
अनि कोही गहिराईमा डुब्दछ
कसैको पोल्टामा अलि धेरै वसन्त
चाँडै जानेहरुको मात्रै सम्झना जीवन्त
जति नै उमेर बाँचे पनि
जति नै सम्झना साँचे पनि  
कात्रोमै आखिर टुङ्गिन्छ नियति    
जीवेष्णा कहाँ सकिन्छ र कुनै पनि मिति  
के हो आखिर जिन्दगी ?

यथार्थको धरातल हो या
मरुभूमिको भ्रम हो जिन्दगी ?
प्रकृतिको अनमोल उपहार या
बिल्कुलै निस्सार क्रम हो जिन्दगी ?
प्रश्नहरुको अंगालो हो या
उत्तरहरु संगालो हो जिन्दगी ?
क्षणभंगुरको मोज हो या
सत्यको खोज हो जिन्दगी ?
पानी हो कि तिर्खा हो जिन्दगी
धागो हो कि चर्खा हो जिन्दगी ?
हातमा आफ्नो केही पनि छैन
तर पनि अपनत्वको आशक्ति
के हो आखिर जिन्दगी ?

मनको माथि जो आफैँ उठ्यो
शरीरबाट जसको मोह छुट्यो
साक्षीभावको अनुभूतिमा
जसले आफू भित्रै अर्कै भेट्यो
शायद त्यही अनुभूति हो जिन्दगी
अन्तस्करणसंगको भेट हो जिन्दगी
त्यति नहुँदो हो त  
अकल्पित, अनपेक्षित अनि तरंगी छ जिन्दगी
चिनेजस्तो लाग्छ तर पुरै फिरङ्गी छ जिन्दगी
कुनै पनि बेला फुटिजाने सिसा हो जिन्दगी
कहिल्यै नमेटिने जिजीविषा हो जिन्दगी
समयको कठपुतली हो जिन्दगी
अनुभवका टालाटुली हो जिन्दगी  
हृदय धड्किएर नथाकुन्जेल
मस्तिष्क तड्पिएर नरोकुन्जेल
मांशपिण्डमा चलिरहने सास हो जिन्दगी
निस्पट अन्धकारमा पनि 
पूर्णिमाको आस हो जिन्दगी ।
आस हो जिन्दगी ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप