बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

त्यसकारण ‘एसियन कप’ खेल्ने धोको अधुरो रह्यो

ती प्रेमिका अहिले चिनाउँदिनँ, बरु छिट्टै खुसीको खबर दिन्छु : विराज महर्जन
शनिबार, १७ मंसिर २०७९, १० : ०८
शनिबार, १७ मंसिर २०७९

विराज महर्जन नेपालका चर्चित तथा सफल फुटबल खेलाडी हुन् । स्वदेशका विभिन्न क्लबबाट समेत फुटबल खेलेका उनी पूर्वराष्ट्रिय खेलाडी पनि हुन् । सन् २००८ देखि राष्ट्रिय फुटबल टोलीमा प्रवेश गरेका उनले केहीअगाडि मात्र राष्ट्रिय टोलीबाट अवकाश लिएका हुन् ।

नेपालका तर्फबाट ७६ अन्तर्राष्ट्रिय खेलखेलका उनले नेपालको राष्ट्रिय टोलीमा क्याप्टेनसिप सम्हालेका थिए । उनी नेपाली फुटबल टोलीका सफल क्याप्टेनसमेत मानिन्छन् । उनको क्याप्टेनसिपमा नेपालले खेलमा महात्त्वपूर्ण उपलब्धिसमेत हासिल गरेको छ । 

१४ वर्ष राष्ट्रिय टोलीमा बिताएका उनलाई अहिले एन्फाले सम्मानका लागि अवकाश दिएको छ । तर कुन किसिमको सम्मान भने दिएको छैन । खेलाडीको खेल जीवनको एन्फाले सम्मान गरेर उचित मूल्याङ्कन गर्नुपर्ने धारण राख्ने विराजको जीवनका विभिन्न पाटो रातोपाटीको मेरो जीवन स्तम्भवमा उनकै शब्दमा ।

​पोर्क खाँदिनँ

मेरो मनपर्ने खाना यो वा त्यो भन्ने छैन । सानैदेखि घरमा जे पाक्यो, त्यही खान्थेँ । माछामासु पनि खान्छु । मन नपर्ने खानेकुरो केही छैन । सानैदेखि पोर्क खाँदिनँ ।

रेस्टुरेन्ट साथीभाइ, आफन्तसँग जान्छु । रेस्टुरेन्टमा सधैँ एउटै कुरोभन्दा फेरेर खान रुचाउँछु । अहिलेसम्म पकाउनुपरेको छैन, परे हल्का पकाउन सक्छु ।

सेल्फ एक्सरसाइज

फिट्नेसका लागि सेल्फ एक्सरसाइज गर्छु । खेलकुदमा लागेदेखि बिहान, बेलुका खेलका कारणले एक्सरसाइज हुन्थ्यो । अहिले रिटायरमेन्टपछि त्यो प्रक्रिया नहुने भएकाले कहिलेकाहीँ आफैँ मोटाएको जस्तो फिल हुन्छ । त्यसैले फुट्सल र साइक्लिङ धेरै गर्छु । साइक्लिङले होल बडीकै एक्सरसाइज हुन्छ । एक्सरसाइजकै लागि भनेर अहिलेसम्म क्बल गएको छैन । घरमा पनि एक्सरसाइजका सामान छैन ।

राम्रो पोसाक

खेलाडी भएकाले अधिकांश समय क्याजुअल पहिरन, जस्तै ट्रयाक, ट्रयाकसुटलगायत प्रयोग गर्छु । यस्तो पहिरनमा कम्फर्टेबल फिल हुन्छ । कहिलेकाहीँ फर्मल कार्यक्रममा जानुपर्दा सुटपाइट र राष्ट्रिय कार्यक्रम छ भने दौरासुरुवाल लगाउँछु ।

पहिरनमा मनपर्ने रङ यही भन्ने छैन । सानैदेखि लाइटब्लु, सेतो मनपर्छ । म स्पोर्ट पर्सन भएकाले नाइक र एड्स ब्रान्डकै पहिरन बढी प्रयोग गर्छु । पहिरनमा फिनिसिङ राम्रो छ भने कहिलेकाहीँ ब्रान्ड पनि हेर्दिनँ ।

छुट्यो बानी

सानैदेखि खेलकुदमै केन्द्रित भएकाले पुस्तकहरू पढ्ने बानी भएन । तर कहिलेकाहीँ राम्रा कथा, आफूलाई प्रेरणा दिने खालका पुस्तक, जीवनी पाए पढ्छु । कहिले बिहान र कहिले बिदाको दिनमा पढ्छु ।

घुम्न मनपर्छ

एकै ठाउँमा बस्नुभन्दा घुमिरहन मनपर्छ । खेलकुदको सिलसिलामा धेरै ठाउँ घुमियो । प्राकृतिक सौदर्यले भरिएको, शान्त वातावरण भएको, हरिया डाँडाकाँडा, पहाड, सहरी एरियाभन्दा ग्रामीण भूभाग नै मनपर्छ ।

देशका पूर्वदेखि पश्चिमसम्म पुगेको छु । त्यसमा तराई अधिकांश भाग पुगेँ भने हिमाल र पहाड धेरै घुग्न पाएको छैन । रारा लेक, हिमाली पर्यटन क्षेत्रहरू जान मन लागेको छ ।

विदेशका त्यस्तै २८, २९ घुमेँ । एसियन देश धेरै घुमे पनि युरोप घुम्न पाएको छैन । अहिले धेरै जान मन लागेको स्विजरल्यान्ड हो ।

गिफ्ट पाए

अहिले मसँग आइफोन एक्सएक्स म्याक्स मोबाइल सेट छ । यसअगाडि सामसुङ बोक्थेँ । मोबाइलमा समस्या नदेखिएसम्म, नबिग्रिएसम्म फेर्दिनँ ।

मोबाइल फोन गर्ने र उठाउनेबाहेक सामाजिक सञ्जाल युट्युब, फेसबुक आदि चलाउँछु । फुर्सदको समय युट्युबमा फुटबलका क्लिप, गेमहरू हेर्छु । केही मोबाइल गिफ्टसमेत पाएको छु ।

टीभी/फिल्म

टीभी प्रायः हेर्छु । टीभीमा मनपर्ने स्पोर्ट हो । त्यसपछि गीतसङ्गीत र टीभीमा समाचार हेर्छु । फिल्म कहिलेकाहीँ मात्र हेर्छु । फिल्म धेरैजसो हलमै गएर हेर्छु । चर्चा भएका, समीक्षकले राम्रा भनिएका नेपाली, हिन्दी, अङ्ग्रेजी सबै प्रकारका फिल्म हेर्छु । अचेल त नेपाली फिल्म पनि धेरै राम्रो बन्न थालेका छन् । राम्रो कथा भएका, सत्य घटनामा आधारित, प्रेरणादायी स्टोरीले भरिएको फिल्म फलो गर्छु ।

लभसङ सुन्छु

गीतसङ्गीत एकदमै मनपर्छ । पछिल्लो समय चलेकादेखि पुराना खालका सबै गीतसङ्गीत सुन्छु । केही शब्द, केहीका सङ्गीत मनपर्छ । लभ सङ, पीडा व्यक्त गीतहरू हिन्दी, नेपाली, अङ्ग्रेजी सबै भाषाका सुन्छु ।

राम्रा गीत गाउने गायक गायिका सबैको म फ्यान, उनीहरूलाई फलो गर्छु । धेरै गायक गायिकासँग दोहोरो चिनजान पनि छ ।

खेल मेरो प्राण

खेल मेरो पेसा, धर्म, कर्म, प्राण जे भनेपछि हुन्छ ।  सानैदेखि खेलकुद प्रेमी थिए । सानोमा शोखले लागे, उमेर बढ्दै जाँदा पेसाको रूपमा अगाडि बढ्यो । म देशको एउटा राम्रो फुटबल खेलाडी पनि हो । 

विसं २०५६/५७, जतिबेला म ८ वर्षको थिए । त्यो समय एन्फाबाट अन्डर टेन फुटबलबाट मेरो व्यावसायिक फुटबल करियर सुरु भएको हो । भन्न त तेस्रो भनिन्छ तर एन्फाको दोस्रो ब्याजको खेलाडीमा पर्छु ।

ज्ञनोदय स्कुल ललितपुरबाट फुटबल यात्रा सुरु गरेको मैले । त्यही स्कुलबाट एन्फामा छानिएको थिए । सुरुमा एन्फामा ४ वर्ष प्रशिक्षण लिएको मेरो पहिलो अन्तर्राष्ट्रिय खेल दिल्लीमा आयोजित ‘सुब्रोतो मुखर्जी कम’ अन्डर टेन थियो । त्यो समय हाम्रो ब्याजले अन्डरटेन र अन्डरफोटिन दुवै ट्रफी जितेको थियो ।

बढ्दो उमेरसँगै मैले अन्डर सिक्टिन, सिङ्गापुरमा अन्डर सेभेन्टिन, सिक्किममा अन्डर नाइन्टिन र मिनीसार्क गेम पनि खेले । त्यो समय अन्डर सिक्टिन भए पनि अन्डर नाइन्टिन खेल्न उर्बेस्थान गए ।

२०६३ मा सङ्कटा क्लबबाट मेरो ‘ए’ डिभिजन मेरो करियरको सुरुवात भयो । त्यसपछि २०६६ एनआरटी, ०६७ मा थ्रिस्टर क्लबबाट खेलेँ । ६ वर्ष थ्रिस्टरमा खेलेपछि मनाङ मस्र्याङदी क्लबमा भित्रिए, गए । यो क्बलमा राम्रो अवसर पाएको थिएँ । मनाङ मस्र्याङदी क्लबबाट ५, ६ वर्ष खेलेपछि मछिन्द्र क्लब प्रवेश गरे । मछिन्द्रमा २ वर्ष खेलेपछि अहिले च्यासल क्लबमा आबद्ध छु ।

अन्डर नाइन्टिन खेल्दै गर्दा २००८ म राष्ट्रिय फुटबल टिममा प्रवेश गरेको थिए । राष्ट्रिय टिमबाट मैले १४ वर्ष फुटबल खेले । त्यो क्रममा ७३ अन्तर्राष्ट्रिय खेल खेलेको छु ।

मेरो खेलकुद करियर धेरै उतारचढाव छ । आन्तरिक प्रतिस्पर्धामा म तारगेट पर्थे होला । सबै कुरो च्यालेन्ज गरेर अगाडि बढे । मैले खेलखेल्ने क्रममा क्लब, राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय म सधँै फेयर गेम खेल्थेँ । नेपालको सफा गेम खेल्ने खेलाडी पनि हुँ म । त्यसैले मेरो अहिलेसम्मको खेल जीवनमा नराम्रो दुर्घटना केही भएन । फुटबलमा अलराउन्डरका रूपमा समेत खेलेको छु ।

खेल जीवनको अहिलेसम्मको करियरमा धेरै खेल खेलको मेरो ‘एसियन कप’ खेल्ने धेरै धोको थियो । त्यो मैले खेल्न पाइनँ । मलाई सबैभन्दा दुःख त्यो कुरोमा लाग्छ । मनाङ क्लबमा हुँदा यो मौका एक पटक हात परेको थियो । त्यो समय एएफी प्रिसिडेन्ट कप खेल्न श्रीलङ्का जानुपर्यो । त्यसैले साउथ कोरियार गएर ‘एसियन कप’ खेल्न पाइनँ ।

म नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हो । २ वर्षअगाडिबाट मैले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको हो । गत वर्षको थ्री नेसन कपपछि राष्ट्रिय खेलबाट पनि संन्यास लिएका छु । 

खेलमै जीवन समर्पित गरेको मैले १४ वर्ष राष्ट्रिय टोलीमा रहेर बिताए । अहिले एन्फाले सम्मानका लागि अवकाश मात्र दिएको छ । कुनै सेवा सुविधा दिएको छैन । यसको मूल्याङ्कन एन्फाले गर्छ भन्ने आस छ । अब भविष्यमा मैले के गर्ने चिन्ता यसकै हो । यो कुरो सम्झँदा दुःख लाग्छ ।

सुखदुःख

हामी खेलाडी घामपानी, चिसोतातो केही नभनी हरेक ठाउँमा पुगेर मिहिनेत गरेर एउटा लक्ष्यका साथ देशका लागि खेल खेल्छौँ । त्यो खेल जितेर फर्किंदा देश र देशवासीका मुहारमा जुन खुसी  देख्न मिल्छ । एउटा खेलाडीको खुसी हो ।

हामीले बङ्गलादेशमा आयोजित ‘बङ्ग बन्धु गोल्डकप’मा बरायनलाई हराउँदै ट्रफी नेपाल भित्र्याएका थियौ । हामी स्वदेश फर्किंदा एयरपोटमा हाम्रो स्वागतमा जुन जनसागर देख्यौ । त्यो मेरो खेल जीवनको सबैभन्दा सम्झनलायक दिन थियो । त्यो समय पूरै देश खुसीमा झुमेको थियो । त्यो खुसी अहिले म शब्दमा भन्न सक्दिनँ । त्यो समय ५० लाख डलरसमेत जितेका थियौ । त्यो समय बल्ल देशका लागि केही गर्न सकेको फिल भएको थियो ।

जागिर सुरु

सानैदेखि फुटबलमा लागे । विभिन्न क्लब र राष्ट्रिय टिममा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रियलगायत धेरै खेल खेलेँ । त्यसले फुर्सदै भएन । अहिले राष्ट्रिय टोलीबाट अवकाश लिए पनि त्यतिकै बस्न नसकिने रहेछ । खेलखेल्ने क्रममा डुलिरहेको, खेलिरहेको बानीले घरमा एक महिना बिताउन पनि एकदमै गाह्रो हुँदोरहेछ ।

त्यसैले अहिले आफैँ पढेको स्कुलका सर र म्यामको आग्रहमा बलम्बुमा रहेको रिब्स् स्कुलमा स्पोट कोडिनेटर र डीआईको रूपमा जाँगिर खाँदैछु । जागिर सुरु गरेको करिब ३ महिना भयो । त्यस अगाडि कहिल्यै जागिर गरेको थिइनँ ।

त्यो सपना

मेरा धेरै सपना पूरा भइसके । एकपछि अर्काे सपना भने थपिँदै जाने रहेछ । अझै खेलबाट देश, समुदाय र फ्यानका लागि केही गर्न सक्छु र गर्नुपर्छ भन्नेछ । अर्काे सपना देशले वल्र्डकप खेलको हेर्ने छ ।

ती प्रेमिका

अहिलेसम्म म सिङ्गल छु । विवाह गर्ने प्रोसेसमा छु । व्यावहारिक, आमाबुबाको सम्मान गर्ने, उनीहरूको व्यवहारमा धन्ने, घरपरिवार मिलाएर राख्ने, हरेक कुरोको ट्यालेन्ट भएको छोरी, बुहारी भए भने घर स्वर्ग जस्तै हुन्छ भन्नेमा म विश्वास गर्छु । मेरा आमाबुबाको सोच पनि त्यही छ । त्यस्तो जीवनसाथी घर भित्र्याउँछु ।

मेरो नजरमा उनी परिसकेकी छन् । म अहिले केही वर्षदेखि उनीसँगको रिलेसनसिपमा छु । मेरो र उनको दुवै परिवारको सहमतिमा विवाह गर्न चाहन्छु । ती प्रेमीका को हो भन्ने अहिले म खुलाउँदिनँ । छिट्टै विवाहमार्फत सबैलाई खुसीको समाचार दिन चाहन्छु । 

खराब बानी

साथीभाइ, आफन्तलगायत कसैले भनेको कुरो पनि नाइँ भन्न नसक्ने मेरो खराब बानी हो । अरूले भनेका कतिपय कुरा राम्रो र कतिपय नराम्रो हुन्छ । नाइँ भन्न नसक्दा अफ्ठ्यारोमा पनि पर्ने गरेको छु ।

भूल भयो कि

जीवनमा जानी नजानी भूल धेरै भयो होला । मानिसले भूलबाट सिक्ने पनि हो । तर अहिलेसम्म मबाट सधैँ पछुताउनुपर्ने भूल भएजस्तो लाग्दैन ।

फुटबलमा लाग्नु म भूल मान्दिनँ । सानो उमेरमा मैले फुटबल सुरु गर्दा नेपालमा यसको भविष्य थिएन । सबैले त्यसै भन्थे । मेरो बुबाको सबैभन्दा ठूलो इच्छा उहाँका दुईवटा छोरा वा भाइमध्ये एक राष्ट्रिय खेलाडी होस् भन्ने थियो । उहाँको इच्छा पूरा गर्न म र दाइ फुटबलमा लागेको हौँ । त्यो पूरा भयो । बुबाले चाहेको पेसामा लागेकाले अहिले मलाई केही पछुतो छैन ।

रोग छैन

भगवान्को कृपाले अहिलेसम्म त्यस्तो केही रोग छैन, फिट एन्ड फाइन नै छु । सानोतिनो मौसमे रोग लाग्छ, ठीक हुन्छ । कोरोना र डेङ्गु दुवै झेलेँ ।

मापसे गर्दिनँ

मापसे कहिल्यै गर्दिनँ । सानैदेखि खेलकुदमा लागेकाले मन पर्दैन । मापसे गर्नेसँग हाई हेलो हुन्छ, धेरै सङ्गत गर्दिनँ । मापसेको गन्ध नै मन पर्दैन । साथीभाइले खाँदा नखनु भनेर सम्झाउँछु । घरमा मापसे सजाएर राख्न पनि मनपर्दैन ।

राशि ‘वृश’

मेरो राशि ‘वृश’ हो । ग्रहदशामा विस्वास लाग्छ तर हेराउने जुराउने अहिलेसम्म गरेको छैन । हाम्रो घरमा सानैदेखि धेरै पूजापाठ हुने गरेको छ । त्यसैले पूजापाठमा विस्वास लाग्छ । मन्दिर जान्छु । 

नयाँ काम गर्दा बार हेरेर गणेश, शिव, बङ्गलामुखी लगायतको मन्दिर जान्छु । फुर्सदको समय पनि मन्दिर जान्छु । 

मृत्यु अनिवार्य

जन्मिएपछि मृत्यु अनिवार्य छ । यो सत्य कुरो हो । कहिले र कसरी मृत्युहुन्छ भन्न सकिन्न । मृत्यु जीवनको एउटा पार्ट हो । मृत्युपछि पनि सम्झने कर्म हामीले गर्नुपर्छ । त्यो मबाट केही भएको छ, अझै गर्ने प्रयासमा छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप