शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

‘दास प्रथा कानुनमा मात्र अन्त्य गरेर हुँदैन, व्यावहारिक रूपमै हुनुपर्छ’

शनिबार, १७ मंसिर २०७९, १० : ४२
शनिबार, १७ मंसिर २०७९

नेपालमा दास प्रथा कहिलेदेखि सुरु भयो, यकिन मिति छैन । तथापि यसको सुरुवात कृषि युगदेखि नै भएको अनुमानहरू पाइन्छन् । तर दास उन्मूलनका लागि भएका केही प्रयासहरू भने इतिहासमा दर्ज छ । नेपालमा दास मोचनमा सक्रियता र लगनशीलताका साथ प्रयास गर्नेहरूमा रणबहादुर शाह र भीमसेन थापा  हुन् भनिन्छ । 

सन् १७९३ मा रणबहादुर शाहले ‘भागेर गएका दास दासीहरूलाई बलजफत मालिकको घरमा फिर्ता नपठाउनू’ भन्ने आदेशको अभिलेख पाइने हुँदा यही समयदेखि दास उन्मुलनको प्रयास भएको रहेछ भन्ने देखिन्छ । 

यसपछि सन् १८०१ मा ब्राह्मण र राजपूतलाई दास बनाउन नपाइने र अन्य जातिलाई पनि सम्बन्धित व्यक्तिको खुसीराजीबाहेक दासदासी बनाउन नपाउने आदेश पनि शाहले दिएका थिए । 

भीमसेन थापाकै समयमा जारी भएको सन् १८३८ को अर्को आदेशअनुसार प्युठान क्षेत्रका मगर जातिले आफ्ना छोराछोरी दासको रूपमा बेचबिखन गर्न नपाउने व्यवस्था गरेको पाइन्छ । 

पछि आएर नेपालका पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरले प्रथम पटक मुलुकी ऐन बनाए । त्यसमा उनले दासदासीका रूपमा बेचबिखन गर्नेलाई जरिवाना गर्ने व्यवस्था गरे । यस ऐनले दास बेचबिखनमा निकै नियन्त्रण ल्याएको ठान्छन् इतिहासकारहरू । तर दरबारमा सेवा गर्न उनले दासदासीको सङ्ख्या बढाएकाले उनको निकै आलोचना पनि हुने गरेको छ । 

जङ्गबहादुरले ल्याएको मुलुकी ऐनपछि दासप्रथालाई नै केन्द्रित गरेर देव शमशेरले दासमोचनको आदेश जारी गरेका थिए । उनी ३ महिना मात्र प्रधानमन्त्री भएका थिए । देव शमशेरपछि चन्द्र शमशेर बेलायत भ्रमणमा गएका थिए । त्यहाँ दास प्रथाविरोधी व्यवस्थाको नजिकबाट नियालेर नेपाल आएपछि विशेष कानुन बनाए । 

विसं १९८३ सालमा चन्द्र शमशेरले दास प्रथा नेपालबाट उन्मुलन गरे र जति पनि दासदासीहरु छन्, तिनको सम्भावित र मागेको मूल्य मालिकहरूलाई बुझाएर उनीहरूलाई अमलेख गरे ।

तर त्यसपछि पनि कमैया, हलिया, कमलरी जस्ता प्रथाहरू दासप्रथाको अवशेषका रूपमा कायमै रहेका पाइन्छन् । सरकारद्वारा यी प्रथा उन्मूलनको घोषणा गरिए पनि विशेष गरी नयाँ मुलुक अर्थात् बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुरमा यो प्रथा पूर्ण रूपमा निमिट्यान्न हुन सकेको छैन ।

पहाड र तराईतिर भएका दासहरू अधिकांश दलित छन् । कतिपय दलितहरूको घरबास पनि छैन । दास हुनको कारण पनि यही हो, गरिबी । मुक्त कमलरी आन्दोलन, हरूवाचरुवा, चमार आन्दोलनका प्रमुख नाइके रामदेव राम थिए, उनी बितिसके । अहिले यो आन्दोलन करिब करिब ओझेलमा परेको देखिन्छ । 

एमालेको सचेतक, दुई पटक सांसद्समेत रहेकी शान्ता चौधरी आफू १८ वर्ष कमलरी रहेको बताउँछिन् । यसै सन्दर्भमा मुक्त कमलरी आन्दोलनमा सक्रिय रहेकी शान्ता चौधरीसँग दास प्रथा सम्बन्धमा केन्द्रित रही रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानी: 

–अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । अहिले कमैया, कमलरी, हलियाको अवस्था कस्तो छ ?

सर्वप्रथम अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसको सम्बन्धमा सबैलाई शुभकामना दिन चाहन्छु । हाम्रो देशको हकमा दास प्रथाहरू अन्त्य त भए तर ती कानुनी रूपमा मात्र अन्त्य भए । व्यावहारिक रूपमा अन्त्य हुन सकेनन् । 

जस्तो कि कानुनी रूपमा कमैया, कमलरी प्रथा अन्त्य गरियो तर उनीहरूको पुनर्स्थापना हुन सकेन । कानुनी रूपमा मात्र अन्त्य गरेर समस्याको समाधान हुँदैन । जबसम्म व्यावहारिक रूपमा हामीले समस्या समाधान गर्दैनौँ तबसम्म कुनै पनि समस्याको समाधान हुन्छ जस्तो मलाई लाग्दैन । 

–तर अहिले कमैया, कमलरी, हलिया, पुनर्स्थापनाको धेरै काम भएको छ, भन्छन् नि ?

हो, केही परिवर्तन त भएकै छ । किनभने कानुनी रूपमा यी प्रथाहरूको अन्त्य भइसकेपछि फेरि कमैया प्रथा नै अथवा हलिया प्रथा नै कायम रहन्छ भन्ने कुरा त भएन । अब गएर फेरि त्यही जसको घरबाट मुक्त भइयो, उसैको घरमा गएर कमैया बस्ने कुरा त भएन । 

तर तिनीहरूलाई मुक्त भएपछि व्यवस्थापन नहुँदा कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने बरु कमैया हुँदै ठीक थियो, हलिया, हरूवाचरुवा हुँदा नै ठीक थियो कि जस्तो भएको छ । मुक्त पारेर हामीलाई अलपत्र पारियो, अलपत्र पार्दा झन् गाह्रो भयो भन्नेहरूको पनि धेरै ठुलो जमात छ ।

त्यसकारण, कसैलाई हामीले मुक्त गर्छौं भने उसलाई विकल्पसहित मुक्त गर्नुपर्‍यो । उनीहरूलाई व्यवस्थापनसहितको मुक्त गर्नुपर्‍यो । व्यवस्थापन चाहिँ नगर्ने मुक्त भनेर भनिदिने गर्दा त्यसले झन् ठुलो समस्या ल्याउँछ जस्तो लाग्छ । 

कस्तो समस्या ल्याउँछ, खुलस्त भन्दिनोस् न ।

यो दासताविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा दासप्रथाबाट मुक्त भएका मानिसको अवस्था के छ त भनेर हेरिरहँदाखेरि दर्दनाक स्थिति छ । उदाहरणका लागि म पनि लामो समय दासताको जीवन बिताएर आएकी हुँ । यो अवधिमा पार्टीको एउटा जिम्मेवार पदमा बस्ने अवसर पाएँ तर आज म यो जिम्मेवार पदमा बस्न पाएको थिइनँ भने म पनि त्यही अवस्थामा हुने थिएँ, जुन अवस्थामा तमाम कमलरी दिदी बैनीहरू हुनुहुन्छ । 

तपाईंले सुन्नु भएको होला, अहिले पनि कमलरीहरू पढ्न पाइरहेको छैनन् । अहिले पनि विभिन्न बहानामा कमलरी बसिरहेका छन् । दास प्रथा त उन्मूलन भयो तर पनि विभिन्न नाममा अहिले सहरमा हेर्नुभयो भने त्यो समुदायबाट घरमा काम गर्न नबसेका कमै किशोरीहरू होलान् । 

त्यसकारण दास प्रथा व्यवहारिक रूपमा अन्त्य हुनुपर्छ । कानुनी रूपमा मात्र अन्त्य भएर समस्या समाधान हुँदैन ।  

–कानुनी रूपमा यी प्रथा अन्त्य गर्दै गर्दा राज्यले उनीहरूका लागि गाँस, बासका लागि केही व्यवस्था गरेन त ? 

गरिबहरूलाई हेर्ने राज्यको दृष्टिकोण अझै पनि धेरै फरक छ । समाजको पनि फरक छ । मैले गरिबको कुरा बोलेँ भने सबै मैतिर खनिन्छन् । गरिबको त कुरै गर्न नहुने अवस्था छ । 

अन्तर्राष्ट्रिय दासता विरुद्धको दिवस मनाइरहँदा अहिले हेर्नुस् त काठमाडौँका विभिन्न गरिब, सुकुमबासी बस्तीहरूमा डोजर चलिरहेको छ । 

जबसम्म वर्गीय समस्या समाधान हुँदैन, तबसम्म कुनै पनि समस्याको समाधान हुँदैन । काठमाडौँमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएर मात्र विकास हुन्छ ? बरु यी बस्तीका समस्या समाधान गर्नु नै विभिन्न खालका दासताको समस्या समाधान हुन्छ । 

–धनाढ्यहरूले गरिबलाई हेर्ने दृष्टिकोण चाहिँ तपाईं कमलरी हुँदाको समयमा र अहिले समयमा कतिको परिवर्तन भएको देख्नुभएको छ ? 

उस्तै उस्तै छ । अझै पनि गरिबहरूलाई घृणा गरिन्छ । उनीहरूलाई हेर्ने दृष्टिकोण अहिले पनि दोस्रो दर्जाको छ । गरिबहरू त यो देशका नागरिक नै होइनन् भन्ने ढङ्गले कुरा गरिन्छ । 

अहिले हेर्नुस् त सुकुमबासीहरूले गाडी चढे भन्छन्, गरिबहरूले गाडी चढ्न नपाउने भन्ने हुन्छ ? गरिबले राम्रो फोन बोक्न नहुने ? सुकुमबासी भन्छ, छोरो अमेरिका छ अरे भन्छन् । अरे बाबा दुःख गरेर छोरो पठायो त, के भयो ? 

एउटा गरिबले गलामा सिक्री लगायो अरे । गरिबको आन्दोलनमा साथ दिन आउनेले गलामा सिक्री लगाउनु हुँदैन ? सुकुमबासीको छोरो डाक्टर रे ! कति गरिबले चिया बेचेर छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाएका  छन् नि । गिटी कुटेर आफ्ना छोराछोरी अमेरिका पठाएका छन् । 

अनि गरिबहरूले राम्रो खान नहुने, राम्रो लगाउन नहुने भन्ने हुन्छ कतै । गरिबहरूले केही गर्ने नहुने अरे । कस्तो मानसिकता, कस्तो सामन्ती सोच । यस्तो सामन्ती प्रवृत्ति छ अहिले पनि हाम्रो समाजमा ।

–तपाईं त्यही पृष्ठभूमिबाट आएर नीतिनिर्माण तह बनाउने संसद्मा पनि पुग्नुभयो । त्यहाँ रहँदा तपाईंले के, के गर्नुभयो ?

संसदमा रहँदा मैले धेरै काम गरेँ । त्यहाँ जति कुरा बोले भूमिहीन सुकुमबासीका लागि बोलेँ । गरिबका लागि, कमैया, कमलरीका लागि बोलेँ । जति बोलेँ, वर्गीय समस्या समाधानका लागि बोलेँ । त्यस कारण मैले त्यो ठाउँमा गर्ने त्यही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप