बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुनै पार्टीसँग हामी एकता प्रक्रियामा जाँदैनौँ’

हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ, हाम्रो पार्टीबाट कसैको दाबी छैन : मेटमणि चौधरी
शनिबार, १७ मङ्सिर २०७९, ११ : ५४
शनिबार, १७ मङ्सिर २०७९

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले हालै सम्पन्न निर्वाचनको नतिजालाई आफूहरुले स्वीकार गरेको बताएका छन् । आफ्नो पार्टीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको अवस्थामा पनि प्रत्यक्षतर्फ १० सिट जितेकोमा उनी सन्तुष्ट देखिन्छन् ।

उनले तत्काल कुनै पनि पार्टीसँग आफ्नो पार्टीको एकता प्रक्रिया अघि नबढ्ने प्रस्ट पारे । उनले सरकार गठनको प्रक्रियामा अब प्रवेश गर्ने र त्यसमा पनि मोटामोटी सहमति भइसकेको जानकारी पनि दिए । सरकारको नेतृत्व कांग्रेसले नै गर्ने र यही गठबन्धनको सरकार बन्ने उनको भनाइ छ ।

यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

पार्टी र चुनाव चिह्न नयाँ लिएर चुनावी मैदानमा होमिनुभयो । ५ वर्षअघि एउटा पार्टी र चुनाव चिह्न लिएर जानुभयो । अहिले अर्को पार्टी र चुनाव चिह्न लिएर जानुभयो । यो निर्वाचनको दौरानमा कति गाह्रो भयो ?

अहिले पाँच दलीय गठबन्धन थियो । स्वाभाविक रुपमा धेरै मतदाता हामीसँगै हुनुहुन्छ भन्ने भयो । सामान्य रुपमा त्यति गाह्रो भएन । तर, व्यावहारिक रुपमा नयाँ चुनाव चिह्न, जहाँ जनतामा स्थापित भएको थिएन । भोट हाल्ने जनता त्यसमा बानी परेका थिएनन् । चुनाव चिह्न नयाँ भएकाले चिनाउन अप्ठ्यारो भयो । चुनावका दौरानमा अरु खासै अप्ठ्यारो भएन ।

‘सूर्य चिह्नमा भोट हालौँ, मेटमणि चौधरीलाई जिताउँ’ भनेर नारासमेत लागेछ, हैन ?

कतिपय ठाउँमा यस्तो भएको रहेछ । हामीले थाहा पाएको ठाउँमा आफै पुगेर करेक्सन गर्न लगायौं । त्यसमा हामीले सकेको चिर्ने काम गरियो । तर, धेरै ठाउँमा मेटमणिको चुनाव चिह्न कलम हो । हामीले सूर्य चिह्नमा हाल्नु हुँदैन भन्ने थियो । मेटमणि असल मान्छे हो । हिजो पनि जितायौं, अब पनि जिताउनुपर्छ भनेर भनेको पाएँ ।

गंगा चौधरी तपाईंले उठाएको डमी उम्मेदवार हो, त्यस कारण तपाईंलाई चुनाव जित्न सहज भयो भन्छन् नि, खास के हो ?

गंगाजीको भोट भनेको १ हजार ९३ मात्रै हो । मेरो बुझाईमा उहाँ हामीसँग हुँदा अप्ठ्यारो हुने थियो । यदि हामीसँगै भएको भए धेरै सेवा र संरक्षण गर्नुपर्ने हुन्थ्यो । म एक्लै हुँदा मलाई चुनाव जित्न सहज भयो । अर्को कुरा, उहाँसँग कुरा नभएको महिनौं भइसक्यो । त्यस कारण उहाँ मेरो डमी उम्मेदवार होइन ।

एमालेका महासचिव शंकर पोखरेल पराजित भएपछि तपाईंले सामाजिक सञ्जालमा प्रतिगमनकारी मतियारको हार भयो भन्ने आशयले लेख्नुभयो । मेटमणि कति असहिष्णु भएका हुन्, शंकर पोखरेल पराजित हुँदा यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो भन्ने खालको कुरा पनि आयो, तपाईं के भन्नुहुन्छ ?

यस्तो खालको टिप्पणी आउनु स्वाभाविक हो । प्रतिक्रिया पोजेटिभ र नेगेटिभ दुवै आउँछन् । सबै कोणबाट टिप्पणी हुन्छन् । फेरि सत्य कुरा जनतालाई भन्नै पर्छ । हामीलाई पनि कति पीडा होला ? म त्यतिबेला एमाले दाङको इन्चार्ज थिएँ । हामी जस्तो एमालेमा दुःख गरेको नेता पार्टी छोडेर जानुपर्ने अवस्था आयो । यो अवस्थामा लैजान शंकर र केपी ओलीहरुको मुख्य भूमिका थियो । त्यो पीडाको रुपमा बाहिर अभिव्यक्तमात्रै भएको हो । शंकरजीहरु प्रतिगामी हो नि । तत्कालीन नेकपाका झण्डै बहुमत प्राप्त सांसद थियौं । त्यति ठुलो कम्युनिस्ट पार्टीलाई छियाछिया बनाइयो । जननिर्वाचित सांसदहरुको थलोलाई विघटन गर्ने काम गरियो । त्यसमा मलजल गर्ने भूमिका शंकरजीहरुकै थियो ।

मेटमणि आफू जितेकोमा खुसी हुनु स्वाभाविकै हो । तर शंकर पोखरेल हार्दा यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो भन्ने कुरा नि ?

एउटा बेठिक मान्छेलाई अझ बेठिक बनाउने कुरा स्वाभाविक हो । यो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउने नेताको हार हुँदा सिङ्गो देशै हाँसेको थियो । त्यसमा म पनि हाँसे, के बिग्रियो ?

एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जित्यो । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पार्टीमा ह्वीप पनि नलाग्ने, जो जता गए पनि हुने भयो भन्ने छ । अब तपाईंहरुले कुनै पार्टीसँग एकता गर्नुहुन्छ कि यसरी नै पार्टी चलाउनुहुन्छ ? 

हाम्रो पार्टी कुनै पार्टीसँग एकता प्रक्रिया अगाडि जाँदैन । यदि सम्भव भयो भने सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भन्ने छ । एमाले बाहेकका कम्युनिस्ट पार्टीहरुसँग एकीकृत र ध्रुवीकृत हुने अवस्थामा जान सकिन्छ । यद्यपि एमालेभित्रका असल नेता कार्यकर्तालाई एकतामा जोड्ने हुन सक्छ । एउटा पार्टीसंग एकता गर्ने, समन्वय गर्ने सम्भावना छैन । हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्यो, ठिकै छ । यदि राष्ट्रिय पार्टी बनेन भने पनि ह्वीप नलाग्ने भन्ने हुँदैन । सबै रहन्छ । यो अनावश्यक हल्लामात्रै हो । तत्काल एकताको विषयमा सोचेका छैनौं । एकता हुने प्रक्रियामा छिर्ने अवस्था पनि छैन ।

चुनावमा राष्ट्रिय पार्टी भएन । यो पार्टीमा नेता कार्यकर्ता नै रहँदैनन् भन्ने छ । के जसरी पनि एकतामा जान एकीकृत समाजवादी बाध्य हुँदैन ?

कांग्रेसले कति धेरै ठाउँमा लडेको थियो । पछि धेरै ठाउँमा पराजय भयो । माओवादी कति धेरै ठाउँमा लडेको थियो । पछि कति जित्यो ? एमाले कति धेरै ठाउँमा लडेको थियो । अहिले यति आयो । हामीले जम्मा १९ क्षेत्रमा मात्रै चुनाव लडेका थियौं । हामीले १० क्षेत्रमा चुनाव जित्यौं । हामीले ५० प्रतिशतभन्दा बढी क्षेत्रबाट चुनाव जितेका छौं । यसरी उम्मेदवारी दिएका  ५५ प्रतिशतभन्दा बढी चुनाव जितेको अरु पार्टी छैन । जति ठाउँमा उम्मेदवारी दिएको थियो, त्यसका आधारमा हेर्दा हामीले उपलब्धि हासिल गरेका छौं । यद्यपि हामीले १५ देखि १७ सिट जित्छौं भन्ने थियो । चुनावी नतिजामा त्यस्तो देखिएन । समानुपातिकमा १० लाखभन्दा बढी मत ल्याउँछौ भन्ने थियो । तर तीन लाख पुग्न पनि अप्ठ्यारो भइराखेको छ । पुग्न त हाम्रो पार्टीको ३ लाखभन्दा बढी मत ल्याउने देखिन्छ । हामीले जुन अपेक्षा र अनुमान गरेका थियौं, त्यो पूरा भएको छैन ।

तपाईंहरुले भने बमोजिम किन नतिजा ल्याउन सक्नु भएन ?

अहिले राष्ट्रिय रुपमै समस्या देखिएको छ । कांग्रेस, माओवादी, एमालेसहित सबै दलको सिट संख्या र मत घटेको छ । केपी ओलीले एक सय सिट कटाउँछौ भन्थे । समानुपातिकमा ४० लाखभन्दा बढी ल्याउँछौ भन्थे । अन्तिममा हावा खाए । नेपालको राजनीतिमा यति धेरै स्वतन्त्र उम्मेदवार आउलान् भन्ने थिएन । उनीहरुप्रति यति धेरै सकारात्मक मनोविज्ञान होला भनेर सोच्दै सोचिएन ।  मेरो निर्वाचन क्षेत्रमा घण्टीले १३ हजारभन्दा बढी मत ल्यायो । जहाँ सहरी क्षेत्र थिए, त्यहाँ घण्टीले चुनाव जित्यो । यो कुनै दलले अनुमान गरेको थिएन । हामीले अनुमान गरेको भन्दा फरक नतिजा आयो । जुन हामीले कल्पनासमेत गरेका थिएनौं । जसले गर्दा हामीले सोचेको सिट र समानुपातिकमा मत आएन ।

वाम लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाँदा सफल भयो कि भएन ?

यो गठबन्धनलाई असफल भन्न मिल्दैन । मैले गठबन्धनबाटै चुनाव जितेको छु । पार्टीबाट १० जनाले गठबन्धनबाटै चुनाव जितेका छन् । माओवादी साथीहरु गठबन्धनबाटै चुनाव जितेर यो ठाउँमा हुनुहुन्छ । कांग्रेस पनि गठबन्धनकै कारण यति ठुलो पार्टी भयो । गठबन्धन धेरै ठाउँमा सफल नभए पनि मुल रुपमा सफल भएको छ । अहिले समानुपातिकमा एमाले ठुलो पार्टी देखिएको छ । प्रत्यक्षतर्फ पनि पहिलो पार्टी बन्ने थियो । त्यसैले अहिले थोरै सिटमा खुम्चेको छ । समग्र रुपमा हेर्दा गठबन्धन सफल भएको छ । जति हुनुपर्ने हो, अपेक्षा गरिएको थियो, त्यति हुन सकेन । जति भोट एक आपसमा ट्रान्सफर हुनुपर्ने थियो, त्यति हुन सकेन ।

त्यसो भए गठबन्धनबाट सबैभन्दा बढी फाइदा एकीकृत समाजवादीलाई भयो ?

सबैलाई फाइदा भएको छ । गठबन्धन भनेको एक अर्कालाई सहयोग गर्ने  हो । हामै्र कारण अधिकांश ठाउँमा कांग्रेसले चुनाव जितेको छ । दाङ–२ मा रेखा शर्मा १९३ मतले जित्नुभयो । घोराही उपमहानगर हामीले स्थानीय तहमा उम्मेदवार मात्रै उठाउँदा ११ सयभन्दा बढी मत ल्याएका थियौं । अहिले त्यो संख्या थपिएको होला । यो माओवादीमात्रै होइन, कांग्रेसको हकमा पनि लागु भएको छ । हामो हकमा पनि लागु भएको छ । यो गठबन्धनले सबैलाई फाइदा पुगेको छ । यस्तै गठबन्धनले एमालेलाई समेत फाइदा पुगेको छ । गठबन्धन भएकाले कांग्रेस, माओवादी, समाजवादीमा रिसाएको मान्छेहरुले भोट हालेर एमालेको धेरै मत आयो ।

गठबन्धन बनाएर चुनाव लड्दा एमालेले यति धेरै सिट जितेको छ । सबै एक्लाएक्लै चुनावमा गएको भए त एमालेले एकलौटी पार्ने रहेछ, हैन ?

हामीले एमालेले धेरै सिट ल्याउने आकलन मात्रै गर्छौं । त्यसको ठिक उल्टो रिजल्ट आउन सक्थ्यो । अहिले घण्टी र स्वतन्त्रहरुले ल्याएको मत कांग्रेसबाट भोट ट्रान्सफर भएको छ । यदि गठबन्धन नभएको भए कांग्रेसमै रहने थियो । जुन भोट जहाँ थियो त्यहीँ रहँदा एमाले कमजोर हुन सक्ने पनि हुन सक्थ्यो । गठबन्धनबाट असन्तुष्टको मत एमालेमा थपिएकाले बलियो भयो । सबै पार्टीले गठबन्धन नगरेर आ–आफ्नो पार्टीबाट चुनाव लडेको भए भोट ट्रान्सफर हुने थिएन । यस्तो हुँदा कांग्रेस झन् अगाडि आउने र एमाले साइजमा हुने अवस्था हुन सक्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारबाट एमालेलाई फाइदा भएको भन्न खोज्नु भएको हो ?

एमालेलाई फाइदा भएको छ । कांग्रेसको भोट ट्रान्सफर भयो तर एमालेको भोट जहाँको त्यहीँ रह्यो । त्यसो हुँदा कांग्रेसको भोट डाउन भयो । एमालेको भोट माथि आयो । त्यसैले घण्टी र स्वतन्त्र उम्मेदवारबाट धेरै फाइदा भएको छ ।

अब एकीकृत समाजवादी कति दिन रहन्छ भन्ने छ । यस्तो अवस्थामा एमालेसँग एकता हुने कति सम्भावना छ ?

एमालेसँग तत्काल एकता हुँदैन । अरु पार्टीका नेताभन्दा हामीलाई मुख्य दुष्मन ओलीले लिएका छन् । राजनीतिमा सबै कुरा असम्भव भन्ने हुँदैन । तर यति चाँडै एमालेसँग एकता हुने सम्भावना छैन । कार्यकर्ता पनि त्यसरी एमालेमा फर्किने अवस्था छैन । ओलीहरु सरकारमा नगएपछि बरु ओलीका कार्यकर्ताहरु हामीतिर आउँछन् ।

एकीकृत समाजवादीले तत्काल एकता गर्दैन तर गर्नै परेमा माओवादीसँग एकता गर्छ, हो ?

अहिले कुनै पार्टीसँग एकता हुँदैन । सहकार्य हुन सक्छ । मोर्चाबन्दी हुन सक्छ । एकता कुनै राजनीतिक दलसंग हुँदैन ।

यसरी मोर्चा वा सहकार्य गर्दा एमालेसँग हुन्छ कि हुँदैन ?

एमालेसँग कुनै हालतमा एकता हुँदैन । हामीलाई मुख्य दुस्मनकै रुपमा हेर्न थालेपछि कसरी सहकार्य हुन्छ ? कसरी एकता हुन्छ ?

आगामी सरकार कसको नेतृत्वमा बन्दैछ ?

अब सरकार पाँच दलीय गठबन्धनकै बन्छ । सरकारमा सीके राउत नेतृत्वको जनमत पार्टी थपिन सक्छ । यो गठबन्धनमा १ सय ४८ सांसद रहन्छन् । यो भनेको सुविधाजनक बहुमत हो । प्याकेजमै सहमति गरेर गठबन्धकै सरकार बन्छ । अबको पाँचै वर्ष अगाडि जानेगरी सहमति भइसक्यो ।

प्रधानमन्त्री कसलाई बनाउनुहुन्छ ?

यो गठबन्धन पार्टीको मुख्य साझेदार दल कांग्रेस हो । कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री बन्छ । हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ । हाम्रो पार्टीबाट प्रधानमन्त्रीमा कसैको दाबी छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई यतिधेरै भोट कसरी आयो भन्ने विश्लेषण गर्नुभएको छ ?

यो हामीप्रतिको विद्रोह हो । दलहरुप्रतिको विद्रोह हो । तिमीहरु काम लाग्दैनौं । तिमी जस्तो उम्मेदवारको काम छैन । हामीले २०४८ सालदेखि चुनाव जिताएर पठायौं । जनताले के पाए भन्ने भयो । यी सबै दलप्रतिको विद्रोह वा रोष प्रकट हो । दलप्रतिको आक्रोस बाहेक केही होइन । घण्टी पार्टीले केही गर्छ भनेर जनताले भोट दिएको होइन ।

नो भोटको सिस्टम भएको भए घण्टी वा लौरो जस्तामा जाने थिएन । नो भोटको अप्सन नभएपछि ती पार्टीहरुले मत पाएका हुन । जसले गर्दा हामी सबैलाई करेक्सन गर्ने अवसर दिएका छन् जनताले । हामीलाई स्थानीय चुनावदेखि प्रेसर दिइसकेका थिए । स्थानीय र संघीय चुनावको जुन समय थियो, त्यो छोटो भएकाले करेक्सन गर्ने मौका पाएनौं । यो हामीलाई निरन्तर प्रेसर हो । यसलाई म नकारात्मक रुपमा लिन चाहन्न । हामीलाई सच्याउन, करेक्सन गर्न मौका दिएका छन् यदि त्यसो नगरेमा समाप्त हुन्छौ भन्ने सन्देश हो । अब हामी कि सिद्धिने कि सच्चिने दुई वटा अप्सनमात्रै छन् । हामी सच्चिएर जानुको विकल्प छैन ।

यदि दलहरु सच्चिएन भने सकिन्छन् । २०४८ साल र २०५१ सालदेखि लगातार चुनाव जितेको नेता एकदमै कम चुनाव जितेका छन् । अहिले अधिकांश फ्रेस अनुहार भएकाले जितेका छन् । लगातार चुनाव जित्नेले नराम्रो काम नगरे पनि चुनाव हारेका छन् । जसले गल्ती गरेको छैन, आरोप लगाउने ठाउँ छैन । तर पनि चुनाव हारेका छन् । उहाँहरुले जनताको सेवा गर्न सक्नु भएको छैन भन्ने बुझ्नुपर्छ ।

एउटा कुरा तिमीहरु मात्रै छैनौ, अरु पनि छन् भन्ने सन्देश दिएका छन् । अर्को, तिमीहरु सच्चिएर जनताको सेवा गर भनेका छन् । यसले हामीलाई दबाब महसुस भएको छ । अहिले यसअघि सांसद भएका ६० भन्दा बढीले चुनाव हारेका छन् । अरु नयाँ अनुहार आएका छन् । यो राम्रो पक्ष हो । एउटै व्यक्तिको दादागिरी हुने राम्रो पक्ष पनि होइन । मैले २ पटक चुनाव जितिसकेँ । उमेरले ४९ वर्षको भएँ । अब एक पटक उठेपछि बारम्बार उठ्ने राम्रो हुँदैन । योभन्दा माथि पुग्छु भन्ने कार्यकर्ता र मतदाताले मनोविज्ञान बनाएमा जिताउन सक्छन् । नभए जनताले नै जिताउँदैनन् । मैले त्यस्तो अवस्थामा छोड्दिनु पर्छ र  अरुलाई अवसर दिनुपर्छ ।

एमालेले सरकार बनाउने कसरत जारी राखेको छ । कतै वामपन्थीहरुको सरकार बन्ने त होइन ?

यो कुनै सम्भावना छैन । यो लेखेरै राख्नुस्, कुनै हालतमा बन्दैन ।  राजनीतिमा सबै बाटा खुला हुन्छन् । अहिलेको अवस्थामा वामन्थीहरुको सरकार बन्ने बाटो बन्द छ । माओवादी, एकीकृत समाजवादी र जनमोर्चा हुन् । यी तीन पार्टी ओलीको पार्टीमा मिल्न चाहँदैनन् । ओलीको पार्टीको नेतृत्वलाई नेता मान्दैनन् । ओलीले पनि तीन पार्टीलाई प्रहार गरेर कमजोर बनाउन खोजेका छन् ।

केपी ओलीले प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे मान्ने अवस्था हुनसक्छ कि ?

त्यो पनि सम्भावना छैन । हामीलाई नैतिक रुपमा त्यसो गर्न मिल्दैन । चुनाव पाँच दलीय गठबन्धनबाट जित्ने, सरकार एमालेसँग बनाउन मिल्दैन । जसका विरुद्ध चुनाव लडेर यो ठाउँमा आएको छ, उसैसँग मिलेर सरकार बनाउने भन्ने अवस्था छैन । प्रधानमन्त्रीको कुर्सी नै ठुलो कुरा हो भन्ने होइन । मन्त्री नै सबैथोक हो भन्ने होइन ।

पदहरुको बाँडफाँट कसरी हुँदैछ ?

प्रधानमन्त्री लिडिङ पार्टीको हैसियतले कांग्रेसको हुन सक्छ । यो कांग्रेसभित्रको आफ्नो कुरा भयो । त्यसपछि माओवादी ठुलो पार्टी हो, त्यसले राष्ट्रपति वा सभामुख छनोट गर्नसक्छ  । तेस्रो लार्जेस्ट पार्टी हामी हौं । माओवादीले सभामुख लिएमा हामीले राष्ट्रपति लिन्छौं । राष्ट्रपति माओवादीले लिए सभामुख हामीले लिन्छौं । त्यसपछि उपराष्ट्रपति, उपसभामुख लगायत दलहरुले लिन सक्छन् । अब राजनीतिमा लिन के छ ? सबैलाई मिलाएर अगाडि बढ्ने हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप