शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक सिंहबाट प्रहरी तालिम केन्द्र तथा प्रहरी अस्पताल निरीक्षण

शनिबार, १७ मङ्सिर २०७९, १२ : २१
शनिबार, १७ मङ्सिर २०७९

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि गर्नेतर्फ विशेष ध्यान दिएर तालिम प्रदान गर्नुपर्ने उल्लेख गरे ।

यसैगरी प्रहरी महानिरीक्षक सिंहले लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उनले अस्पतालको ल्याब परीक्षणलाई स्तरोन्नति गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिए । बिरामी वार्डलाई व्यवस्थित गर्नुपर्ने र नयाँ निर्माण हुन लागेको अस्पताल भवन छिटो भन्दा छिटो शिलान्यास गरी निर्माण कार्य अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

साथै प्रहरी महानिरीक्षक सिंहले मङ्सिर १ गते जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकास्थित मतदान केन्द्रमा मतपेटिकाको खाली बाकस बोकी जाँदै गर्दा सवारी दुर्घटनामा परी घाइते भई हाल उक्त अस्पतालमा उपचाररत जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक हवल्दार सुरज चन्दको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप