बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाटो बिराएको खण्डमा निर्धक्क भएर मलाई रोक्नुहोस् : सिके राउत

शनिबार, १७ मङ्सिर २०७९, १५ : ४१
शनिबार, १७ मङ्सिर २०७९

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारेका हुन् । 

शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि रहेको जानकारी दिए । उनले भने,  ‘आगामी दिनमा तपाईंहरुले मलाई यहाँसम्म पुर्‍याई दिनु भयो । तपाईंहरुको पनि काम सिद्धियो भनेर होइन । यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो । यहाँबाट तपाईंहरुको सहयोग झन् बढी चाहिन्छ । अव काम गर्ने बेला आयो । काम गर्ने ठाउँमा पुग्यौँ । यतिबेला तपाईंहरुको सहयोग झन् बढी हामीलाई चाहिन्छ । जनताले जुन अपेक्षा हामीसँग राखेका छन्, त्यो अपेक्षा कति ठुलो छ भन्ने तपाईंहरुलाई पनि अनुमान छ । तपाईंहरुले पनि बुझ्नु हुन्छ ।’

आफूलाई कतिपयले अन्तिम आशा समेत भनेकोमा आफूलाई डर लागिरहेको पनि बताए । ‘मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशा जान्छ । जनता निराशामा जान्छन्,’ उनले थपे, ‘त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रूपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ । हाम्रो पनि मनस्थिति डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ । जनताले जुन अपेक्षा राखेका छन् । त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुँदैमा वा प्रधानमन्त्री हुँदैमा पनि त्यो पूरा हुने होइन । हामी सबै मिलेर जुन सपना हामीले बन्यौँ । त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौँ । म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिइराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु । र, हामीले कतै पनि बाटो बिराएको खण्डमा तपाईंहरु एकदम निर्धक्क भएर मलाई रोक्नुहोस् । किनभने मलाई बनाएको नै तपाईंहरुले हो ।’

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि पटकपटक दोहोर्‍याए । त्यस अवसरमा उनले निर्वाचनमा ठुलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरूलाई धन्यवाद समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप