शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कङ्गोमा  ‘नरसंहार’ : १०० भन्दा बढीको मृत्यु

शनिबार, १७ मङ्सिर २०७९, २० : ००
शनिबार, १७ मङ्सिर २०७९

कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो । 

एम २३ ले जवाफी हमला गर्दै आरोपहरू ‘आधारहीन’ भएको र आफ्नो आक्रमण नागरिकहरूप्रति लक्षित गरेको कुरालाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता प्याट्रिक मुयायाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा डीआरसीका अध्यक्ष फेलिक्स शिसेकेदीले किशिशेमा १०० भन्दा बढी नागरिकको नरसंहार भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।

शिसेकेदीले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई निर्देशन दिएको र देशभर झण्डा आधा झुकाइने उनले जानकारी दिए । मुयायाले भने, ‘शोकको अवधि सोमबार टेलिभिजनमा पीडितहरूको सहयोगका लागि आयोजित चन्दा सङ्कलन कार्यक्रमबाट अन्त्य हुनेछ । उक्त नरसंहारको खबर सार्वजनिक भएदेखि नै स्वतन्त्र छानबिनको माग उठ्न थालेको छ ।

राष्ट्रपतिले न्यायमन्त्रीलाई अविलम्ब आन्तरिक अनुसन्धान सुरु गर्न र यस युद्ध अपराधबारे प्रकाश पार्न अन्तर्राष्ट्रिय अनुसन्धानका लागि काम गर्न आग्रह गरेको मुयायाले बताए । वर्षौंदेखि सुषुप्त अवस्थामा रहँदै आएको एम २३ कङ्गोली तुत्सी विद्रोही समूह हो । 

उसले गत वर्ष नोभेम्बरमा फेरि हतियार उठाएको थियो र जुनमा युगान्डासँगको सीमामा रहेको बुनागाना शहर कब्जा गरेको थियो ।  उक्त समूह केही समयको शान्तिपछि अक्टोबरमा फेरि आक्रमणमा उत्रियो र आफ्नो नियन्त्रणमा रहेको क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्दै गोमातर्फ अघि बढेको छ ।
 
किन्सासाले आफ्नो सानो छिमेकी रुवान्डाले एम २३ लाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । यो संयुक्त राष्ट्रसङ्घका विज्ञ र अमेरिकी अधिकारीहरूले पनि हालैका महिनाहरूमा औंल्याएका छन् । किगालीले उक्त आरोप अस्वीकार गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप